वृक्षरोपणमा कलाकारहरू

काठमाडौं । अभिनेत्रीहरू केकी अधिकारी, मलिका महत, निर्देशक दीपाश्री निरौला, निर्देशक दयाराम दाहाल, निर्देशक एवं पत्रकार लक्ष्मण सुवेदी, गायक युवराज चौलागाईं, गायिका सुनिता दुलाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल लगायतले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा वृक्षरोपण गरेका छन् ।

उनीहरूले ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ भन्ने तराई विकास तथा सञ्चार केन्द्र नेपालले केही समयअघि रौतहटबाट सुरु गरेको अभियानमा साथ दिँदै वृक्षरोपण गरेका हुन् । सो वृक्षरोपण कार्यक्रम गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले हरेक व्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठुलो टेवा पुग्ने सोचका साथ केही समयअघि रौतहटको चन्दपुर–९ सिन्दुरे घारी मर्दर चाँदी खोला छेउबाट यो अभियान सुरु गरिएको जानकारी दिए ।

निर्देशक निरौलाले बिरुवा रोपौँ अभियानलाई अघि बढाउन आफू कटिबद्ध भएको बताइन् । उनले अबका आफ्नो जन्मदिनमा कम्तीमा एउटा भए पनि बिरुवा रोप्ने प्रतिबद्धता जनाइन् । केकी, मलिका, लक्ष्मण, युवराज र सुनिताले अबका दिन जन्मदिनमा नबिराई बिरुवा रोप्ने प्रण गरे ।

प्रतिक्रिया