ललितकलाको संस्थागत विकासमा जोड

काठमाडौं । नेपाली ललितकला क्षेत्रमा राज्यले नीतिगत तथा कार्यक्रमिक योजनासहित काम गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । बुधबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अखिल नेपाल ललितकला संघको १३औं वार्षिकोत्सवको अवसरमा गरिएको ‘नेपालको ललितकला वर्तमान र भविष्य’ विषयक अन्तक्र्रियामा उनीहरुले संघ, प्रदेश तथा पालिका स्तरबाट नै कलालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा भाषाविज्ञ एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य डा. गोपाल ठाकुरले कला, साहित्य तथा संस्कृतिको सही ढंगले विकास हुन नसक्दा समाजले अग्रगति लिन नसकेको बताए । उनले ललितकला क्षेत्रका समस्या पनि अन्य सांस्कृतिक क्षेत्रभन्दा फरक नभएको जनाउँदै राज्यले कलाक्षेत्रका आवाजलाई प्रभावकारी ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए । डा. ठाकुरले भने, ‘राजनीतिको सर्वोच्च नेतृत्वमा कलाकारलाई सम्झने आदत छैन, तर हामीले कामले सम्झाउन सक्ने हैसियत निर्माण गर्नुपर्ने अवस्था आएको छ । कलाकार समयापेक्ष जनता र देशका निम्ति सिर्जनात्मक कार्यमार्फत अगाडि आउनु पर्दछ ।’

जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिव केशरी घर्तीमगरले नेपालको ललितकला क्षेत्रको विकासमा सही नीति निर्माण गरी कलाकारको हितमा काम गर्ने वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिइन् । उनले काठमाडौं केन्द्रित कलाका गतिविधिलाई तल्लो तहसम्म लैजान सबैले पहल लिनुपर्ने बताइन् । उनले भनिन्, ‘स्थानीय तहमा थुप्रै कला छन् । तिनलाई मुलप्रवाहमा समेट्नुपर्छ । साथै केन्द्रलाई स्थानीय तहसम्म पु¥याएर कला र संस्कृतिको विकासका लागि योजनाबद्ध ढंगले काम गर्नुपर्दछ ।’

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका महासचिव एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले सामूहिक प्रयासविना कलाक्षेत्रले गति लिन नसक्ने विचार व्यक्त गरे । उनले कलाक्षेत्रको समग्र विकासका लागि व्यक्तिवादबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘सामूहिकतासँगै संस्थागत अभ्यासविना ललितकला क्षेत्रको विकास हुन सक्दैन ।’ उनले प्रतिष्ठानले गरेका कामका बारेमा चर्चा गर्दै कलाक्षेत्रको विकासका निम्ति राजनीतिक दलले सही ढंगले योजना बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।
जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपाली ललितकला क्षेत्रको वर्तमान अवस्था, प्रचलित कलाका धार, सांगठनिक अवस्था एवं गर्नुपर्ने कार्ययोजनाका बारेमा चर्चा गरे । उनले नेपालमा परम्परागत, लोककला तथा आधुनिक÷समसामयिक कला प्रचलनमा रहेको सुनाउँदै यिनको संस्थागत ढंगले विकास गर्नुपर्ने बताए । उनले भने, ‘विद्यालयदेखि विश्वविद्यालयमा ललितकलाका विविध पक्षलाई पाठ्यक्रममा समेट्नु पर्दछ । संघ, प्रदेश तथा पालिका तहमा संस्थागत संरचना निर्माण गरी, कला ग्यालरी, संग्रहालय, मूर्ति उद्यान, पार्क, कला विद्यालय आदि बनाउनु पर्दछ ।’

अग्रज कलाकार एससी सुमनले नेपाली लोककलाको विकासमा राज्यले नीतिगत ढंगले सम्बोधन गर्दै कार्ययोजना बनाउनु पर्ने धारणा राखे । उनले कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने भएकाले नेपालको मौलिक कला संरक्षणसँगै विकासमा स्पष्ट कार्ययोजना ल्याउनु पर्ने बताए ।

अग्रज कलाकार लोक चित्रकारले परम्परागत कलाको विकासलाई मौलिकता संरक्षणसँगै समृद्धिसँग जोड्नु पर्ने बताए । उनले विधागत रुपमा कलाकार संगठित हुन नसकेको जनाउँदै पाठ्यक्रममा कलाका विविध विषयलाई समेट्नु पर्ने जिकिर गरे । अग्रज कलाकार एवं प्राज्ञ मानबहादुर दोङले संघमार्फत राज्यले ललितकला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा पहलकदमी लिइ नेतृत्वदायी भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । उनले परम्परागत, लोककला तथा अन्य कलाको विकासमा प्रतिष्ठान, विश्वविद्यालय, संघ, प्रदेश तथा पालिका स्तरीय सरकारले नीतिगत रुपमा समेट्दै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल ललितकला संघका उपाध्यक्ष प्रदीप अधिकारी ‘सुशान्त’ ले नेपाली ललितकला क्षेत्रको वर्तमान अवस्था र प्रचलित मान्यताका बारेमा चर्चा गरे । संघका अध्यक्ष पाल्साङ्मो लामाले नेपालका मौलिक कलालाई राज्यको मुलधारमा समेट्दै सभ्यता निर्माणमा भूमिका खेल्ने वातावरण बनाउनु पर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणमा कलाको भूमिका विशिष्ट रहने भएकाले कलाकारको योगदानको राज्यले सही ढंगले कदर गर्नुपर्ने बताए । संघका महासचिव केशव राज खनालले संविधानमा कलाको संरचनागत स्वरुप बनाउन संघ, प्रदेश तथा पालिकासम्म उल्लेख रहेको बताए । उनले यसलाई सही ढंगले सदुपयोग गर्दै स्थानीय स्तरमा रहेका मौलिक कला तथा संस्कृतिको विकासमा काम गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा अग्रज कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ नारदमणि हार्तम्छाली, अग्रज कलाकार लालमान लामा, उपप्राध्यापक नरेन्द्रप्रसाद भण्डारी, राजकुमार राना मगर, सौरगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, माइला दोङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया