सात पुस्तक छानिए

काठमाडौं । किरात एकेडेमी पुरस्कारका लागि सात वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरिएको छ । किरात एकेडेमी नेपालले संस्थालाई प्राप्त समकालीन कृतिमध्ये सात वटाको प्रारम्भिक छनोट सूची प्रकाशन गरेको हो । एकेडेमीका अध्यक्ष भूपाल राईका अनुसार प्रारम्भिक छनोटमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’, केवल विनावीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक माक्र्सवादी अध्ययन’ रहेका छन् ।

एकेडेमीका महासचिव चेतनाथ धमलाले कोरोना महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको र यस वर्षदेखि पुनः निरन्तरता पाउने जानकारी दिए । एकेडेमीले जारी गरेको विज्ञप्तिमा सबै खाले विभेदबाट उन्मुक्ति, सामाजिक न्याय र अग्रगमनकारी वैचारिकी एकेडेमीको आफ्नो निम्नतम सर्त, उद्देश्य र निर्धारित मापदण्डमा रही प्रारम्भिक सूची सार्वजनिक गरिएको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सोही मापदण्ड र उद्देश्यअनुरुपका इतिहास, संस्कृति, राजनीति, अध्ययन, अनुसन्धान तथा साहित्य/कला आदि सम्बन्धित कृतिलाई पुरस्कृत गर्ने अभियानअनुसार यसपटक (तेस्रो पटक) एकेडेमीले आफूलाई प्राप्त समकालीन कृतिहरुमध्ये ७ वटा कृतिहरुको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको छ ।’

सार सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसभन्दा अघि युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको कृति ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ लाई प्रदान गरिएको थियो । तेस्रोपटकको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ । पुरस्कारको राशि ५० हजार राशि छ ।

प्रतिक्रिया