विकल्पको व्यवस्था अनि मात्रै सडक बिस्तार

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्गको मुग्लिन–सत्रसय खण्डमा सोमबारसम्म पनि दुईतर्फी यातायात चल्न सकेको छैन, जसका कारण यात्रुहरू मर्कामा परेका छन् । तनहुँको आबुखैरेनी गाउँपालिका–४, साखरमा शुक्रबार सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । तत्कालै डोजर लगाएर भित्ता खारेर एकतर्फी बाटो खुलाइएको थियो । दोहोरो सवारी साधन खुलाउनका लागि धेरै नै भित्तो ताछ्नुपर्ने भएका कारण समय लागेको जनाइएको छ । राजधानी पोखरालगायत गण्डकी प्रदेशका १० वटा जिल्लाबाट मुलुकको बाँकी भूभागमा आउजाउ गर्नुपर्ने मुख्य सडक खण्ड हो यो ।

देशकै सर्वाधिक व्यस्त मानिने यो सडकमा बर्खायामका बेला प्रायःजसो संकट आउने गर्छ । त्यसमाथि पनि केही महिनादेखि पुथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डको सडक फराकिलो बनाउने काम भइरहेको छ । यसका लागि राती करिब पाँच घण्टा सवारी आवागमनमा निषेध गरिएको छ । जसका कारण अरू समयमा सवारी चाप बढेको छ । सडक विस्तारको काम दिउँसोसमेत भएका कारण कुनै कुनै बेला सवारी साधन रोकिने अवस्था छ । दुई वर्षभित्र विस्तारको काम सक्ने भनिएको छ, तर काम अत्यन्त धिमा गतिले अघि बढिरहेको छ । यही रफ्तारमा काम हुने हो भने पाँच वर्षभित्र पनि सम्पन्न नहुने स्थानीय बासिन्दा बताउँछन् ।

केही वर्षअघि मुग्लिन–नारायणगढ सडक विस्तारका क्रममा पनि यात्रुहरूले यसरी नै सास्ती पाएका थिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएकोमा ६ वर्ष लागेको थियो । पुलहरूको निर्माणको काम सम्पन्न हुन भने अझै बाँकी छ । ५० वर्षअघि निर्माण गरिएको पृथ्वीराजमार्गले यतिबेलाको सवारी साधनको चाप धान्न नसक्नु स्वभाविकै हो । किनकी त्यतिबेला एक महिनामा जति सवारी साधन चल्थे अहिले एकदिनमै त्यो भन्दा बढी सवारी साधन चल्न थालेका छन् । त्यसैले बिस्तार अनिवार्य थियो । तर वैकल्पिक व्यवस्था नगरी विस्तारको काम थाल्दा यात्रुहरूलाई ठूलो मर्का पर्छ भन्ने पाठ मुग्लिन–नारायणगढ खण्डबाट सिक्नुपर्ने थियो ।

मुग्लिन–नारायणगढ सडक विस्तारको काम थाल्दा वैकल्पिक व्यवस्था सहज थिएन, सवारी रोकेर सडक विस्तारको काम गर्नु त्यतिबेला वाध्यता थियो, तर मुग्लिन–पोखरा खण्ड विस्तार गर्नुभन्दाअघि वैकल्पिक व्यवस्था गर्न सकिने प्रचुर संभावना थिए । एउटा मात्रै होइन दुई÷दुई वटा विकल्प थिए, साविकको मुख्य राजमार्गभन्दा पनि अझ छोटा र भरपर्दा विकल्प थिए, तर वास्ता गरिएन ।

सडक विस्तारको काम अझै चार वर्ष जारी रहने संकेत देखिएका कारण विकल्पको व्यवस्था गर्न कत्ति पनि ढिलाइ गर्नु हुन्न । तनहुँको जिल्ला सदरमुकाम दमौलीबाट सेती नदीको किनारै किनार त्रिशुली नदीको घुमाउनेघाटसम्म बुद्धसिंह मार्ग चालु हालतमा छ । घुमाउनेघाटमा बेलीबृज निर्माण गर्ने हो भने साविकको मुख्य राजमार्गभन्दा निकै छोटो विकल्प तयार हुन्छ । यसैगरी पोखराको शिशुवाबाट लमजुङको दुईपिप्ले हुँदै दमौलीसम्म अर्को विकल्प छ । यो सडकमा सामान्य घुम्तीहरू सुधार गरिदिए मात्रै पुग्छ । यो विकल्प पनि मुख्य राजमार्गभन्दा खासै छोटो छैन । आँबुखेरेनीबाट गोरखा लमजुङ हुँदै पोखरा पुग्ने तेस्रो विकल्प पनि छ ।

सामान्य मर्मत गरेरै यो सडकलाई राष्ट्रिय राजमार्गका रूपमा सञ्चालन गर्न सकिने अवस्था छ । तर संबन्धित निकायको ध्यान गएको छैन । यसैगरी पृथ्वीराजमार्गको थानकोट–मुग्लिन खण्ड विस्तारको तयारी पनि अन्तिम चरणमा पुगेको समाचार आएको छ । यो खण्ड पनि विकल्पको व्यवस्था नगरी विस्तार गर्न लागिएको हो । पहिलो कुरा त काठमाडौं– निजगढ फास्ट ट्रयाक निर्माणको काम अबको तीन वर्षपछि सम्पन्न हुँदै छ । फास्ट्र ट्रयाक सुचारु भएपछि मात्रै थानकोट– मुग्लिन खण्ड बिस्तारको काम गर्नु उपयुक्त हुन्छ भन्ने चेतना हाम्रो मुलुकका नीति निर्माण तहमा रहनेहरूको दिमागमा आएको देखिँदैन । दोस्रो कुरा त्रिशूली नदीको दायाँ किनारैकिनार स्थानीय स्तरमा सडकको ट्रयाक खुलिसकेको छ ।

यो ट्रयाकलाई दुई लेनको भरपर्दो सडकमा रूपान्तर गर्ने हो भने पृथ्वी राजमार्गको गल्छी–मुग्लिन खण्ड विस्तार गर्न जरुरी नै छैन । तर भ्रष्टाचार गर्नैका लागि विदेशीसँग ऋण लिन पल्केका हाम्रो देशका नीतिनिर्माताहरूले मुलुकको आवश्यकतालाई भन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

प्रतिक्रिया