नीति बनाएर सौन्दर्य प्रतियोगिता गर्न निर्देशन

काठमाडौं । यौनहिंसा र दुव्र्यवहारका घटना न्युनीकरण गर्न नीतिगत स्पष्टता कायम गरेर मात्रै सौन्दर्य प्रतियोगिता गर्न दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । सौन्दर्य प्रतियोगिताका नाममा हुने यौनजन्य हिंसा र दुव्र्यवहारका घटना न्यूनीकरण गर्न समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवसँग छलफल गरेको थियो ।

केही दिनपहिले सामाजिक सञ्जालमार्फत आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको घटना सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएलगत्तै जनआक्रोश बढेपछि संसदीय समितिले सरकारलाई सौन्दर्य प्रतियोगिता आयोजनाका लागि नीतिगत स्पष्ट कायम गर्न निर्देशन दिएको हो ।

समितिले विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताका बारेमा स्पष्ट कानुन बनाउनुपर्ने जनाएको छ । समितिले भनेको छ, ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिता र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यता) मा आधारित कुनै पनि प्रकारका सौन्दर्यसम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’

यस विषयमा संसदमा समेत आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका थिए ।

प्रतिक्रिया