कांग्रेस अधिवेशनले मुलुकमा पार्ने प्रभाव

सत्ताको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै भयंकर कठिन मोडमा आइपुगेको छ । वृद्ध उमेर तथा उमेरका कारण उत्पन्न हुने शारीरिक तथा मानसिक अवस्थाबाट गुज्रिरहेका शेरबहादुर देउवाले फेरी सभापति पदमा उम्मेदवार हुने भन्दै भोट माग्न थालेका छन् । विधानतः नेपाली कांग्रेसको सभापतिको कार्यकाल चार वर्षको हुन्छ, तर पाँच वर्ष गुजार्ने परम्परा छ । बुढ्यौलीका कारण अहिले नै समस्यामा परेका देउवा फेरी पाँच वर्षका लागि सभापति निर्वाचित भए भने नेपाली कांग्रेस मात्रै संकटमा पर्छ वा मुलुक पनि संकटमा पर्छ ? भन्ने प्रश्न निकै पेचिलो छ । किनकी अबको एक वर्षभित्र आमनिर्वाचन हुँदैछ । नेपाली कांग्रेसको सभापति बन्ने व्यक्ति नै अबको एक वर्षपछि हुने आमनिर्वाचनबाट प्रधानमन्त्री बन्ने हो, प्रधानमन्त्री नबने प्रमुख प्रतिपक्षीदलको नेता बन्ने हो । हाम्रो संविधान तथा शासन व्यवस्थाले शारीरिक र मानसिक रूपमा अत्यन्त सक्रिय र सबल प्रधानमन्त्रीको परिकल्पना गरेको छ ।

नागरिकता प्रमाणपत्ररूपी कागजमा उल्लेख भएको जन्ममितिलाई अघि सार्दै ७८ वर्ष उमेरका जो बाइडेन चार वर्षे कार्यकालका लागि अमेरिकी राष्ट्रपति निर्वाचित हुँदा त्यही उमेरका देउवा पाँच वर्षका लागि सभापति बन्न किन नहुने ? भन्ने तर्कसमेत कतिपय जिम्मेवार नेताहरूले अघि सारेका छन् । यही तर्क अघि सार्दै गृहमन्त्री बालकृष्ण खाँणजस्ता कांग्रेसको भविष्य बोकेका नेताले समेत देउवाको लबिङमा जुटेको देखिएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति बन्नका लागि उमेरको प्रश्न कानुनी तथा संवैधानिक मामिला हुँदै होइन, यो त नैतिकतासँग जोडिएको प्रश्न हो । नागरिकताको प्रमाणपत्र भनेको कतिपय सन्दर्भमा कागजको खोष्टोजस्तै हो । उदाहरणका लागि गत आमनिर्वाचन लगत्तै उमेरका आधारमा महन्थ ठाकुरलाई कायमुकायम सभामुख बनाइयो । जबकी नागरिकता प्रमाणपत्रअनुसार महेन्द्र यादव ठाकुरभन्दा १० वर्ष जेठा थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जग हँसाउने काम नगरौं भन्दै महेन्द्र यादवलाई बिदामा बस्न लगाएर ठाकुरलाई कायममुकायम सभामुख बनाउने वातावरण निर्माण गरे । आप्mनो बास्तविक उमेर कति हो ? कति उमेर घटाएर नागरिकता प्रमाणपत्र बनाइएको हो ? भन्ने कुरा देउवा स्वयंलाई थाहा छ । देउवाले बुझ पचाए पनि कांग्रेका उपल्लो पुस्ताका प्रायः सबैलाई यो कुरा थाहा छ । ०१५ सालको आमनिर्वाचनका बेला देउवा शिक्षण पेसामा संलग्न रहेको र तत्कालीन डोटी जिल्लामा नेपाली कांग्रेसद्वारा आयोजित आमसभामा देउवाले भाषण गरेको सुन्नेहरू अहिले पनि जीवित छन् ।

०१७ सालको कु लगत्तै शिक्षण पेसामा टिक्न नसक्ने अवस्था उत्पन्न भएपछि काठमाडौंमा आएर त्रि–चन्द्र कलेज भर्ना भएका देउवाले विद्यार्थी राजनीतिमा ठूलो योगदान पु¥याएको पनि उपल्लो पुस्ताका धेरै नेताहरूलाई थाहा छ । ०१९ सालमा देउवाको संयोजकत्वमा नेपाली कांग्रेसद्वारा तन्नेरी सभा गठन हु“दा सदस्य रहेका त्रि–चन्द्र क्याम्पसका तत्कालीन विद्यार्थी नेता हिरादत्त भट्टले देउवाको विषयमा लेखेको आर्टिकलमै उल्लेख गरेका छन्, ‘हामी एउटै गाउँका भए पनि उमेरमा म भन्दा पा“च÷६ वर्ष जेठो भएकोले उहाँसँगै मेरो बाल्यकाल बितेको होइन ।’ ०१९ सालमा विद्यार्थी नेता बन्दै गर्दा भट्ट १७ वर्षका मात्रै रहेछन् भने पनि उनीभन्दा पा“च वर्ष जेठा देउवा कम्तीमा पनि २२ वर्षको हुनुप¥यो । ०१९ सालमा २२ वर्ष उमेर पुगेको व्यक्ति यतिबेला ८२ वर्षको हुन्छ । देउवाको शारीरिक र मानसिक अवस्थालाई नजिकबाट नियाल्नेहरू ८२ होइन अझै बढी उमेर भएको अनुमान गर्छन् । अब आमनिर्वाचन एकवर्ष पछि हुने हो । त्यो आमनिर्वाचनले पाँच वर्षका लागि प्रधानमन्त्री छान्ने हो । के देउवाको शारीरिक र मानसिक अवस्थाले प्रधानमन्त्री र पार्टी सभापति दुवै पद धान्ला ?

केही दिनअघि देउवाले फेरी उम्मेदवार बन्ने विषयमा छलफल गर्न आफ्नो पक्षको बैठक बोलाएका थिए । फेरी सभापतिमा चुनाव लड्नुको कारणबारे देउवाको भनाइ थियो, ‘मलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्छस् भनेको छ, बल्ल पाँचपटक भयो ।’ हाल प्रधानमन्त्री पदमा बहाल रहेका देउवा फेरी पनि एक वर्षपछि हुने आमनिर्वाचनमार्फत प्रधानमन्त्री बन्नका लागि कांग्रेस पार्टीको सभापति पदमा दोहो¥याउन खोजेका हुन् । प्रधानमन्त्री र पार्टी सभापति अलगअलग हुने परिपाटी नेपाली कांग्रेसलाई नफापेको कुरा सत्य हो । त्यसैले आशन्न १४औँ महाधिवेशनमा देउवाले प्रस्तुत गर्न लागेको उम्मेदवारी नेपाली कांग्रेसको मात्रै मामिला होइन, मुलुककै मामिला हो । एक वर्षपछि हुने आमनिर्वाचनमार्फत मुलुकले कस्तो प्रधानमन्त्री पाउँछ ? भन्ने प्रश्नको उत्तरसमेत यो मामिलासँग जोडिएको छ । देउवा अहिले पार्टी सभापति निर्वाचित नहुने हो भने वर्तमान सत्ता गठबन्धन धरापमा पर्ने भन्दै गृहमन्त्री खाँणसमेत देउवाका पक्षमा प्रचारप्रसारमा उत्रेका छन् । गृहमन्त्री खाणको यो भनाइ यथार्थ हो वा होइन ? भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मौन बस्न मिल्दैन ।

प्रतिक्रिया