राप्रपामा नेतृत्व परिवर्तन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न महाधिवेशनबाट युवानेता राजेन्द्र लिङ्देन अध्यक्ष बनेका छन् । निवर्तमान अध्यक्ष कमल थापालाई करिब १३ प्रतिशत मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका लिङ्देन यसअघि राप्रपाको महामन्त्री थिए । गत आमनिर्वाचनमा चुनाव जितेर लिङ्देनले राप्रपालाई प्रतिनिधिसभामा निल हुनबाट जोगाएका थिए । जुझारु युवा नेताका छवी बनाएका लिङ्देन राप्रपाको अध्यक्ष बन्नु भनेको निकै ठूलो राजनीतिक फड्को हो । गत निर्वाचनमा विभिन्न कारणबस आकार खुम्चिए पनि राप्रपा भनेको अहिले पनि नेपालको तेस्रोधारको प्रतिनिधित्व गर्ने पार्टी हो । लिङ्देनको विजय जति चर्चामा छ, कमल थापाको पराजय पनि अहिले त्यति नै चर्चामा छ ।

राजतन्त्र र हिन्दू अधिराज्य पुनवर्हालीको एजेन्डा बोकेको राप्रपाले लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको चयन गर्ने परिपार्टीलाई निरन्तरता दिइरहनु मुलुकका लागि सकरात्मक पक्ष हो । मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको १०औँ महाधिवेशनमा आन्तरिक लोकतन्त्रको हत्या भएको परिप्रेक्ष्यमा राप्रपाको महाधिवेशनले केही न केही सकरात्मक सन्देश दिएको छ । आन्तरिक लोकतन्त्र अपनाएर नेतृत्व चयन गर्ने तर पराजित पक्षले पार्टी विभाजन गरिहाल्ने प्रवृत्ति राप्रपाभित्र सुरुदेखि नै हावी छ । हार्ने पक्षले अर्कै पार्टी खोल्ने प्रवृत्तिलाई राप्रपाको यो महाधिवेशनले निरुत्साहित गर्दा वा नगर्ला ? भन्ने प्रश्न भने अझै पनि निकै पेचिलो छ । पराजयको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपर्दै निवर्तमान अध्यक्ष थापाले जुन शैलीको प्रतिक्रिया दिएका छन्, त्यसले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई काम गर्न सहज छैन भन्ने कुरा देखाउँछ । पहिलो कुरा त अध्यक्ष पदमा चुनाव जिते पनि कार्यसमितिमा लिङ्देनको बहुमत छैन । दोस्रो कुरा आपूmलाई चुनाव जिताउन निर्णायक भूमिका खेल्ने निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको महत्वकांक्षा पनि नवनिर्वाचित अध्यक्ष लिङ्देनले संबोधन गर्नुपर्ने हुन्छ । तेस्रो कुरा राप्रपा भनेको निर्दलीय पञ्चायती व्यवस्थामा व्यक्तिवादी राजनीति गरेर खारिएका नेताहरूको झुण्ड हो । पञ्चायतमै प्राप्त पदका आधारमा राप्रपाभित्र मर्यादाक्रम निर्धारण हुने गरेको छ । तर नवनिर्वाचित अध्यक्ष लिङ्देन पञ्चायतको राजनीतिमा काम गरेका नेता होइनन् । निर्दलीय चरित्र बोक्दै व्यक्तिगत संगठन निर्माण गरेका नेताहरूलाई लगाम लगाउन सजिलो छैन । चौथो कुरा पूर्व राजदरबारभित्र सानो सम्पर्क सूत्र भएको व्यक्तिले समेत आफूलाई सिंह ठान्ने र अरूलाई स्याल देख्ने प्रवृत्ति राप्रपाभित्र छ । पार्टीमा कुनै पद नभए पनि तत्कालीन राजदरबारसँग सम्पर्क भएकै आधारमा आफूलाई प्रभावशाली ठान्नेहरूको महत्वकांक्षा संवोधन गर्न सजिलो छैन । पाँचाँै कुरा राप्रपाको जनमत भनेको सचेत र पढालेखा जनमत होइन । भर्खरै सम्पन्न महाधिवेशनमा चार हजार मत खसेकोमा ३६ सय मत मात्रै सदर भएको देखिएको छ । महाधिवेशन प्रतिनिधि बनेर आउनेहरूले समेत मतदान गर्न नजान्ने अवस्थाको पार्टीका मतदाताहरू कस्ता होलान् ? कार्यकर्ताहरूको शैक्षिक स्तर कस्तो होला ? त्यसैले राप्रपाभित्र व्यापक प्रशिक्षणको खाँचो छ ।

०४८ साल यताका हरेक निर्वाचनको परिणाम हेर्ने हो भने राप्रपाको जनमत क्रमशः खस्किँदै गएको देखिन्छ । नयाँ पुस्ता राप्रपामा आकर्षित भइरहेको छैन, पुरानो पुस्ताका नेताहरूको निधनसँगै राप्रपाको भोट बैंक पनि समाप्त हुँदै गएको देखिन्छ । रामकृष्ण आचार्यको निधनसँगै रसुवामा राप्रपाको संगठन सकियो । पद्मसुन्दर लावतीको निधन सँगै पाँचथरमा राप्रपाको संगठन सकियो । राजेश्वर देवकोटाको निधनसँगै गोरखामा राप्रपाको संगठन सकियो । यी जिल्ला त उदाहरण मात्रै हुन् । नेताको निधनसँगै संगठन सकिएका उदाहरणहरू धेरै छन् । त्यसैले नयाँ पुस्ताको आगमनविना राप्रपाले आफ्नो अस्तित्व बचाउन सक्ने अवस्था छैन । तर लिङ्देन भने बहुदलीय व्यवस्था पुनस्र्थापनापछि नयाँ ढंगले राजनीतिमा स्थापित भएका नेता हुन् । पञ्चायतकालीन पृष्ठभूमिका नेताहरूको निधनसँगै राप्रपा समाप्त हुन्छ कि भन्ने कार्यकर्ताहरूको चिन्तालाई लिङ्देनको विजयले धेरै हदसम्म राहत दिएको छ । तर, राजतन्त्र र हिन्दू अधिराज्य पुनवर्हालीका लागि सडक संघर्ष गर्ने एजेन्डाका साथ लिङ्देनले चुनाव जितेको यथार्थतालाई भने नजरअन्दाज गर्न मिल्दैन । मुलुकको अवस्थालाई २००७ सालको क्रान्ति लगत्तैको अवस्थामा पु¥याउने चेष्टा त भएको छैन ? भन्ने आशंका उत्पन्न भएको छ । त्यसैका लागि आफूलाई पराजित गराइएको टिप्पणी निवर्तमान अध्यक्ष थापाले गरिसकेका छन् । त्यतिबेला राणा शासकहरूले आफू हट्नु पर्दाको बदला लिन पूर्वी पहाडमा सोझा जनजाति उफारेर क्षेत्री बाहुन लखेट्ने अभियान सुरु गरेका थिए । त्यही इतिहास दोहो¥याउने चेष्टा भएको हो भने मुलुकका लागि अर्को दुर्भाग्य हुनेछ ।

प्रतिक्रिया