गरिबले दसैँ मनाउने दिन कहिले आउँला ?

नेपालीहरूको ठूलो चाड बडादसैँ बिहीबारदेखि प्रारम्भ भएको छ । विश्वका सबै कुनाकाप्चामा रहेका नेपालीले बडादसैँ आफ्नो गच्छेअनुसार धुमधामका साथ मनाउने गर्छन् । नेपाल चाडपर्वहरूको धनी मुलुक हो । विभिन्न जातजाति तथा समुदायका मौलिक चाडपर्वहरू निकै धेरै छन्, तर बडादसैँ प्रायः सबैजसो नेपालीले सबै चाडपर्वभन्दा लामो समय मनाउने गर्दछन् । करिब १५ दिनसम्म बडादसैँ मनाइन्छ । तिथिअनुसार वर्षमा चार वटा दसैँ पर्छन्, तर शरद ऋतुको दसैँलाई ठूलो महत्वका साथ बडादसैँका रूपमा मनाइन्छ । पछिल्लो समयमा बडादसैँलाई हिन्दूहरूको मात्रै चाड भनेर साँघुरो बनाउने र नेपालको मौलिकताभन्दा बाहिर राख्ने प्रयाससमेत गरिएको छ ।

अन्य देशका हिन्दूहरूमा बडादसैँको खासै महत्व हुँदैन, तर सबै धर्म तथा समुदायका नेपालीले बडादसैँ मनाउँछन् भन्ने यथार्थतालाई ओझेलमा पार्ने प्रयास गरिएको छ । नेपालमा बडादसैँको केन्द्रविन्दु भनेको काठमाडौंको हनुमानढोकास्थित कुमारी घर तथा तलेजु भवानीको मन्दिर हो । कुमारी घरमा बौद्धमार्गीहरूको पनि उत्तिकै आस्था र संलग्नता रहेको देखिन्छ । पहाडी क्षेत्रमा बस्ने मुस्लिम समुदायमा पनि पूजाआजाबाहेक बडादसैँका अन्य क्रियाकलापहरू भव्यताका साथ गरिन्छ । बडादसैँका १५ दिन मध्ये विजयादशमीको दिनलाई मात्रै विशेष मानेर मनाउने चलन छिमेकी मुलुक भारतका केही हिन्दूहरूमा छ । त्यसैले उनीहरू बडादसैँलाई दशहरा या विजयादशमी भन्ने गर्दछन् । त्यसैको सिको गर्दै नेपालमा पनि बडादसैँलाई विजयादशमी भन्न थालिएको छ । यसरी अर्काको अन्धो नक्कल गर्दा आफ्नो मौलिकता हराउँछ भन्ने कुरा बिर्सनु हुन्न ।

हरेक चाडपर्वका आआफ्ना मौलिकता हुन्छन् । कुनै चाडपर्व पूजाआजा तथा भक्तिमा केन्द्रित हुन्छन् भने कुनै चाडपर्वहरू हर्षोल्लासमा केन्द्रित हुन्छन्, तर बडादसैँ पूजाआजा तथा हर्षोल्लासको संगम हो । दसैँ मनाउनका लागि सकेसम्म आफ्नै थातथलोमा पुग्नु, आपूmभन्दा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिनुलाई बडादसैँको अनिवार्य सर्तजस्तै मानिन्छ । यस हिसाबले पारिवारिक मिलन र सामाजिक सद्भाव वृद्धिको कडीसमेत बडादसैँ हो । दसैँमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने प्रचलन छ । राज्यले पनि सबैभन्दा लामो बिदा बडादसैँकै अवसरमा दिने गरेको छ । सरकारी तथा संस्थागत क्षेत्रका मजदुरहरूले एक महिनाको तलब बराबर दसैँ खर्च पाउने प्रबन्ध छ । जसका कारण बडादसैँमा धेरै ठूलो आर्थिक क्रियाकलाप हुुन्छ । वर्षभरी हुने आर्थिक क्रियाकलापको करिब आधा हिस्सा बडादसैँदेखि छठपर्वसम्मको करिब दुई महिनाको अवधिमा हुने गर्दछ । त्यसैले बडादसैँको महत्व धार्मिक तथा सामाजिक रूपमा मात्रै होइन आर्थिक रूपमा पनि उत्तिकै छ ।

बडादसैँ खर्चिलो चाड पनि हो । राज्यले नै राष्ट्रिय पर्व भनेर किटानी गरेको चाड हो बडादसैँ । सबै नेपालीको चाड भनेर बडादसैँलाई भनिँदै गर्दा गरिबीको रेखामुनि रहेका जनताले के कसरी मनाउँछन् ? भन्ने प्रश्नलाई भने बिर्सनु हुँदैन । दिनभरी काम गरेर बिहान बेलुका हातमुख जोड्नसमेत धौधौ हुने नेपालीको संख्या करिब २० प्रतिशत रहेको सरकारी तथ्यांकमै उल्लेख छ । यो वर्ग हर्षोल्लासका साथ दसैँ मनाउन सक्ने अवस्थामा छैन । यो वर्गका लागि दसैँ भनेको ऋण थपिने चाड मात्रै हो । त्यसैगरी देशका लाखौँ युवा जनशक्ति इस्लामिक देशमा रोजगारीका लागि गएका छन् । उनीहरूले पनि दसैँ मनाउन पाउने अवस्था छैन । सबै नेपालीले दसैँ मनाउन पाउने अवस्था कहिले सिर्जना होला ? भन्ने प्रश्न अनुत्तरित छ । कम्तिमा पनि गरिबीको रेखामुनि रहेको वर्गलाई दसैँ मान्न चर्को व्याजमा साहुसँग ऋण काढ्न नपर्ने व्यवस्था गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने हो, तर हाम्रो राज्य प्रणाली उल्टो छ । दसैँका बेला उपभोग्य बस्तुको मूल्य बढाएर गरिब जनताको ढाड सेक्नेहरू प्रोत्साहित हुने गरेका छन् । झन् यसपटक त दसैँको मुखमा राज्यकै संलग्नतामा गाडीभाडा भारी वृद्धि गरेर महँगी बढाइएको छ । गरिब जनताको ढाड सेकिएको छ ।

प्रतिक्रिया