उच्च शिक्षाका नाममा पुँजी पलायन

उच्च शिक्षा अध्ययनको शीर्षकमा हरेक वर्ष बिदेसिने गरेको रकमको आ“कडा निकै कहालीलाग्दो छ । नेपालका ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट जति छ, त्यो भन्दा पनि बढी रकम उच्च शिक्षा अध्ययनको शीर्षकमा बिदेसिने गरेको देखिएको छ । त्रिभुवन विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययन गर्छन् । जसका लागि सरकारले वार्षिक करिब २२ अर्ब रुपैयाँ बजेट विनियोजन गर्छ । विगत १० वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनका नाममा वार्षिक सरदर ३० हजार विद्यार्थी विदेश गएको देखिन्छ, तर उनीहरूले वार्षिक सरदर ३० अर्ब रुपैयाँ विदेश लैजान्छन् । विगत १० वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी अर्थात ६३ हजार ३ सय विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश गएको देखिन्छ । उनीहरूका कारण राज्यको ४६ अर्ब २४ करोड ३ लाख रुपैया“ बाहिरिएको थियो । यो रकम भनेको हाम्रो त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेटभन्दा दोब्बर बढी हो ।

कोरोनाको यस्तो कहरका बाबजुद आर्थिक वर्ष ०७६÷७७ मा ३४ हजार ९४ जनाले उच्च शिक्षा अध्ययनका नाममा २५ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ विदेश लगेका थिए । गत आर्थिक वर्ष ०७७/७८ मा २९ हजार ९ सय ७८ विद्यार्थीले २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ विदेश लगेको तथ्यांक छ । कोरोना कहर केही हल्का भएको अनुमान गरिएपछि चालु आर्थिक साउन र भदौमा मात्रै आठ हजारभन्दा बढीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने भन्दै शिक्षा मन्त्रालयबाट कागजात बनाएका छन् । यस हिसाबले चालु आर्थिक वर्षमा करिब ४० अर्ब रुपैयाँ बिदेसिने अनुमान गरिएको छ ।

विगत १० वर्षको पूरै हिसाब गर्दा उच्च शिक्षाका लागि भन्दै करिब चार लाख युवा बिदेसिएको र उनीहरूले करिब तीन खर्ब रुपैयाँ लगेको देखिन्छ । यो धेरै नै कहालीलाग्दो तथ्यांक हो । उच्च शिक्षा अध्ययनका लागि आफ्नो सम्पत्ति खर्च गरेर विदेश जाने भनेका धनी वर्गका छोराछोरीहरू हुन् । हाम्रो देशमा आर्जन हुने विदेशी मुद्राको मुख्य स्रोत भनेको खाडी तथा मलेसियामा रगत पसिना बगाउने गरिब वर्गका युवाहरूले पठाउने रेमिट्यान्स हो । गरिब वर्गले जम्मा गरिदिएको वैदेशिक मुद्रा धनी वर्गका छोराछोरी पढाउने नाममा बिदेसिनु आफैंमा विडम्वना हो । तर, यो विडम्वना यतिमा मात्रै सीमित छैन । विदेशमा उच्च शिक्षा लिएपछि स्वदेश फर्केर सेवा पुर्याउँछन् कि पुर्याउँदैनन् ? भन्ने प्रश्न पनि गम्भीर छ । उच्च शिक्षा आर्जन गरी विदेशमै रोजगारी गर्नेहरूले आफ्नो कमाइ स्वदेशमा पठाउँछन् कि उतै घर किनेर बस्छन् ? भन्ने प्रश्न पनि गम्भीर छ ।

अध्ययनका लागि विदेशी मुद्रा खर्चेर अन्य देश जानेहरूको अनुगमन हुन नसक्नु हाम्रो मुलुकको ठूलो विडम्वना हो । राज्यले यो सुविधा उपलव्ध गराउँदा कति सदुपयोग भएको छ वा दुरुपयोग भएको छ ? भन्ने अनुगमनकारी निकाय देखिँदैन । अध्ययन भिषामा विदेश गएर रोजगारी गर्दै अध्ययन अघि बढाउँदै गर्नेहरू पनि छन् । विदेशमा उच्च शिक्षा लिएर फर्केपछि स्वदेशमा सेवा पुर्याउनेहरू पनि छन्, तर धेरैजसो भने उतै बस्ने गरेका छन् । सुरुमा अध्ययनका लागि रकम लैजाने र अध्ययन सकेपछि नेपालको घरजग्गासमेत बेचेर चोरबाटोबाट रकम लैजानेहरूको संख्या उल्लेख्य छ । भ्रष्टाचारीहरूले सम्पत्ति लुकाउनका लागि अध्ययन भिषामा छोराछोरी विदेश पठाउने गरेको पनि देखिएको छ । यस्ता विकृतिहरूको अन्त्य नगर्ने हो भने नेपालले फिलिपिन्सको जस्तो नियति बेहोर्नुपर्नेछ । कुनै बेला एशियाकै सबैभन्दा धनी देश फिलिपिन्स आज पुँजी पलायनका कारण रेमिट्यान्सले मात्रै धानिनुपर्ने वाध्यतामा फँसेको छ । यही अवस्था रह्यो भने नेपालले पनि फिलिपिन्सको भन्दा अझ खराब हात बेहोर्नुपर्नेछ ।

प्रतिक्रिया