यो मेरो दोस्रो जन्म होः यशिका

मुम्बई । तमिल अभिनेत्री यशिका आनन्द केही दिनअघि सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कनेक्रममा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा उनका एक साथीको मृत्यु भएको थियो । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर घाइते भएका छन् । आफ्नो स्वास्थ्यका लागि चिन्तित प्रशंसकका लागि यशिकाले दुर्घटना पछिको आफ्नो स्वास्थ्यस्थिति सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले आफू अबको ६ महिना हिँडडुल गर्न नसक्ने जनाएकी छन् । उनले लेखेकी छन्, ‘मेरो पेल्विक हड्डी धेरै भाँचिएको छ । म धेरै महिना ओछयानबाट उठ्न सक्षम छैन । यो मेरो दोस्रो जन्म हो ।’ उनले भगवानले मलाई दण्ड दिनुभएको उल्लेख गरेकी छन् । उनको पोस्टमा प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रहरीले मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण उनी दुर्घटनामा परेको जनाएको छ । अभिनेत्री यशिकाले उक्त पोस्टमा दुर्घटनाबाट आफूलाई बचाएकोमा भगवानलाई धन्यवाद दिएकी छन् भने धेरै मिल्ने साथी गुमाउनु पर्दाको दोषसमेत दिएकी छन् । उनको अहिले उपचार चेन्नइको एक निजी अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया