सम्पादकीय

बिपीले देखाएको बाटो

सौर्य अनलाइन २०७८ साउन ६ गते ८:०४ मा प्रकाशित

दूरदर्शी राजनेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको निधन भएको आज साउन ६ बाट ३९ वर्ष पूरा भई ४० वर्ष लागेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ६८ वर्षको उमेरमा ०३९ साउन ६ गते निधन भएको थियो । आधुनिक नेपालमा करिब तीन दर्जन नेता प्रधानमन्त्री भइसकेका छन् । जसमध्ये बिपी कोइरालाले ०१६ साल जेठदेखि ०१७ साल पुससम्म जम्मा १८ महिना प्रधानमन्त्री पद संहाले । तर, यो अवधिमा जति काम तथा निर्णय भए त्यसपछिका प्रधानमन्त्री तथा शासकहरूले देशको सामाजिक, आर्थिक, कूटनीतिक, शैक्षिक क्षेत्रमा एक इन्च इँटा थप्न सकेका छैनन । त्यसैले बिपीलाई दूरदर्शी राजनेता भनिएको हो । त्यतिबेला बिपीले चीन, अमेरिका, सोभियत संघजस्ता देशसँगको संबन्ध सुदृढ बनाए । नेपाल राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालयको स्थापना गरे । राजा रजौटा उन्मूलन गराए, बिर्ता तथा जमिन्दारी प्रथा उन्मूलन गराए । ठूला उद्योगहरूको स्थापना गराए । बिपी कोइराला नेपाली कांग्रेसका संस्थापक सभापति हुन् । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको जनक्रान्तिले नेपालीहरूलाई भावनात्मक रूपमा एक सूत्रमा बाँधेको हो । त्यसअघि एउटै उद्देश्यका लागि मेचीदेखि काली र हिमालदेखि तराइसम्मका जनता संगठित भएका थिएनन् । तर, बिपीले झापाको राजवंशी र दार्चुलाको ब्यासी, ताप्लेजुङको शेर्पा र कन्चनपुरको रानाथारु, डोटीको ठकुरी र इलामको लिम्बु, मुस्ताङको थकाली र रौतहटको मुसलमानलाई एउटै संगठनको छातामुनि ल्याएर उनीहरूको आपसी छलफल तथा सुझावअनुसार नेपाली कांग्रेसलाई अघि बढाए । जसले गर्दा नेपाली–नेपाली बीचको भावनात्मक एकता सुदृढ भयो ।

राणाशासन फालिएर प्रजातन्त्र स्थापना भएका कारण मात्रै २००७ सालको जनक्रान्तिलाई सर्वाधिक उचाइमा राखिएको होइन । वास्तवमा पृथ्वीनारायण शाहले आरम्भ गरेको भौगोलिक एकीकरणलाई २००७ सालको जनक्रान्तिले प्राण भरेको हो । २००७ सालको क्रान्ति सम्पन्न नहुँदासम्म काठमाडौं उपत्यकालाई मात्रै नेपाल भनिन्थ्यो । उपत्यकावासीलाई मात्रै नेपाली भनिन्थ्यो । काठमाडौं उपत्यकामा प्रवेश गर्नका लागि अन्य भूभागका जनतालाई भिषा चाहिन्थ्यो । २००७ सालको जनक्रान्ति सम्पन्न भए पछि मात्रै मेचीदेखि काली र हिमालदेखि तराई सम्मका जनताहरूले आफ्नो देश नेपाल हो र आपूmहरू नेपाली हौँ भन्ने थाहा पाएका हुन् । पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको भूगोलको खाकालाई सार्वभौम देशका रूपमा प्राण भर्ने कार्यको अगुवाई बिपीले नै गरेका हुन् । त्यसैले बिपी कोइरालालाई दूरदर्शी राजनेता भनिएको हो ।

बिपीले २००३ सालमा नेपाली कांग्रेसको स्थापना गरी देशको प्राण भर्ने कामको थालनी गरे यता जहानियाँ राणाशासन मात्रै होइन, निरंकुश राजतन्त्र पनि समाप्त भइसकेको छ । ०६२÷६३ सालमा निरंकुश राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो । तर, आज नेपालको भूगोल र प्राण कमजोर हुँदै गएको छ । लिम्पियाधुरा, सुस्ता, पशुपतिनगरलगायत करिब ७२ ठाउँमा नेपालको सीमा मिचिएको छ । नेपाली–नेपाली बीचको एकतामा खलबलिन थालेको छ । चार वर्ण छत्तिस जातको साझा पूmलबारीका रूपमा रहेको नेपालका राजनीतिक दलहरू भित्र निश्चित फूलहरू मात्रै पूmलेको फक्रेको देखिएको छ । बिपी कोइरालाले राष्ट्रिय एकताको मेरुदण्डका रूपमा राजनीतिकदलहरूको परिकल्पना गरेका थिए । आफ्नो पार्टी नेपाली कांग्रेसलाई सोहीअनुसार सबै जातजाति, क्षेत्र तथा समुदायको साझा पार्टी बनाएका थिए ।

आजभन्दा ७० वर्षअघि नै नेपाली कांग्रेसका निर्णायक तहमा दलित, आदिवासी जनजाति तथा मधेसीसमेत पुगेका थिए । बिपीले पार्टीमा होस् या सरकारमा होस् पदीय अवसर प्रदान गर्ने मामिलामा जातजाति, भूगोल समुदाय तथा लैंगिक सहभागितालाई सर्वोपरी बनाएका थिए, तर आज नेपाली कांग्रेसभित्र गुट र उपगुटका आधारमा पदीय भागबण्डालाई औपचारिकता दिन थालिएको छ । अरू पार्टीलाई समेत आदर्शको पाठ सिकाएर देश बलियो बनाउने जिम्मेवारी बोकेको अभिभावक पार्टी हो नेपाली कांग्रेस, तर नेपाली कांग्रेस आफँै चुकेका कारण अरू पार्टीहरू समेत गम्भीर बन्न सकेका छैनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय