‘टुल्की’ मा बहुपति प्रथा

डोल्पा । बहुपति प्रथाको कथामा आधारित रहेर चलचित्र ‘टुल्की’ को निर्माण गरिएको छ । डोल्पा लगायतका हिमाली जिल्लामा कुप्रथाको रुपमा रहेको यसप्रकारको यो चलचित्र नेपालकै पहिलो भएको निर्माण पक्षले दावी गरेको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको निर्माता शेखर लामाले जानकारी दिए ।

उनका अनुसार डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाका रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाउन खोजिएको छ । निर्माता लामाले भने, ‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे ।’

बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य दाजुभाइले बिहे गर्नु पर्दैन । जुन भाइले पहिला बिहे गरे तिनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रचलन छ । लामाका अनुसार चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाका रूपमा व्याप्त छाउपडी प्रथालाई पनि प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले जनाएको छ । निर्माता आरपी कर्माचार्यले छायांकन गर्नका लागि मात्रै तीन महिना समय लाग्नुका साथै चलचित्र तयारी हुँदासम्म करिब एक करोड खर्च अनुमान गरिएको बताए ।

निर्माता कर्माचार्यले अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको जनाउँदै अबका दुई महिनापछि नै चलचित्र निर्माण कार्य सम्पन्न हुने गरी काम गरिएको बताए । सुशील अधिकारीको छायांकन गरेको यस चलचित्रको निर्देशन देवजंग थापाले गरेका छन् ।
चलचित्रमा प्रोडक्सन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन् । चलचित्रमा कलाकार शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सौजन सुब्बा, दीर्घ लामा, महेश लिम्बू, सोम लामा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया