महामारीमा साहित्यको भूमिका

काठमाडौं । कोरोना कहरका कारण बन्दाबन्दीका कारणले साहित्य सन्ध्याको नियमित कार्यक्रम भर्चुअल माध्यमबाट गरिएको छ । मासिक ४१६औँ शृंखलामा महामारीमा स्रष्टाको भूमिका विषयमा केन्द्रित रही अन्तक्र्रिया तथा कविगोष्ठी गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्य सन्ध्याले मैले देखेको विगत र भोगेको वर्तमानका बारेमा मेरा केही अनुभूति राख्ने अवसर प्रदान गरेको बताए । उनले विगतमा भूकम्प, सरुवा रोग आदिका धेरै महामारी देखियो, भोगियो तर अहिलेको कोरोना महामारी झनै डरलाग्दो रूपमा देखिएको विचार व्यक्त गरे । उनले भने, ‘मेरो विचारमा प्रकृतिलाई मान्छेले जित्न खोजेको, प्रकृतिको सम्मान नगरेका कारण अहिलेको महामारी देखिएको छ ।

अर्थात् यस्ता खाले महामारी देखिने गरेका छन् । प्रकृतिलाई अनावश्यक हस्तक्षेप होइन, दोहन होइन आत्मसात गर्नुपर्छ, सबैले गरौँ भन्ने मेरो धारणा रहेको छ ।’ अहिले यो दुनियाँ सारा संसार विपत्तिमा छ, झन्झटमा छ । रिसालले विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न राष्ट्र र व्यक्ति पनि बिपत्तिमा रहेको जिकिर गरे । उनले भने, ‘यस्तो अवस्थामा साहित्यका माध्यमबाट कसरी समाधान, न्यूनीकरण गर्न सकिन्छ ? कसरी सन्त्रस्त मानवलाई ढाडस प्रदान गर्न सकिन्छ भन्ने विषयमा साहित्यले चिन्तन गर्ने, सोच्ने र स्रष्टाले लेख्ने समय आएको छ, यस्तो प्रयत्न आवश्यक देखिएको छ ।’ उनले हाम्रा निरक्षर पुर्खाले कला, संस्कृति, संस्कार, सभ्यता, इतिहास निर्माण गरेको सुनाउँदै अहिले हामी बौद्धिक वर्गले तिनको जगेर्ना गर्नु, अस्तित्व रक्षा गर्नु आवश्यक रहेको भनाइ राखे । रिसालले नयाँ प्रविधिका माध्यमबाट जोडिएर मानव जीवनले भोगिरहेको अहिलेको कठिन समय वा महामारीजन्य चुनौतीको सामना गर्नु आवश्यक रहेको बताए । उनले थपे, ‘मानवले जहिल्यै पनि प्रकृतिसँग लडाइँ लडिरहे पनि हामीले प्रकृतिको अतिदोहन होइन सम्मान चाहिँ गर्नै पर्दछ । चाहे मानवलाई होस्, चाहे प्रकृतिलाई होस् माया आवश्यक हुन्छ किनभने मायामा बल वा शक्ति हुन्छ । हाम्रा सबै खाले प्रयत्न मानवजीवनको रक्षामा केन्द्रित हुनुपर्छ । यसमा साहित्यले विशिष्ट भूमिका खेल्न सक्छ ।’

गोष्ठीमा चरित्रा शाह, गायत्री लम्साल, प्रमोद स्नेही, प्रकाश सिलवाल, महेशराज खरेल, रश्मि रिमाल, राममणि ढुंगेल, डा.राजेन्द्रप्रसाद अधिकारी, भरतबहादुर रानाभाट, देवु लुइँटेल, रमेश गौतम ‘पाल्पाली’, नर्मदेश्वरी सत्याल, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वासुदेव अधिकारी, श्याम सापकोटा, उर्मिला पन्त पाण्डेय, ललिता दोषी, गोपाल नेपाल, ईश्वरी रिजाल, रामकुमार पण्डित, हरि तिमिल्सिना नेपालगन्ज, पुण्यप्रसाद खरेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), लक्ष्मी माली, स्नेह सायमि, परशुराम परासर, प्रभात सुवेदी, जीवनहरि शर्मा, दर्शिला निरौला, बेनीबहादुर थापा, राजेन्द्र सर्वहारा, गोपाल बराल, मीना बराल, गायत्रीकुमार चापागाईं, श्रीभद्र सुवेदी, बूँद राना, गंगा कर्माचार्य पौडेल, गोविन्द घिमिरे वेदमणि, डा.खेमनाथ दाहाल, बालकृष्ण लामिछाने, विधान आचार्य, पुष्कर रिजाल, डा.भीम खतिवडा, प्रशान्त खरेल र जयन्ती स्पन्दनले कविता, गजल, गीत, हाइकु, लघुकथा वाचन गरेका थिए ।

सो कार्यक्रममा वाचन गरिएका रचनामाथि टिप्पणी गर्दै प्राज्ञ नन्दु उप्रेतीले वाचित रचना शक्तिशाली र सुन्दर रहेको बताइन् । उनले समयबोधका, कोरोना त्रासदीका, मातृभक्तिका, राष्ट्रप्रेमका, सामाजिक विसंगतिका, राज्यका विसंगत हर्कतका, हार्दिक प्रेमका रचना वाचन भएको सुनाइन् । उनले भनिन्, ‘नागरिकका प्रतिको दायित्वबोध नगर्ने सत्ताको खेलका प्रति भने सिर्जनामा आक्रोश व्यक्त गरिएको छ । मानवले झेलिरहेको वर्तमानका सबै पीडाको मुक्तिको कामना, अपेक्षा सिर्जनाले गरेका छन् ।’

कार्यक्रममा साहित्य सन्ध्याका अध्यक्ष राम विनयले ‘विगतदेखि कोरोना महामारीसम्मका महामारी र साहित्यको भूमिका’ विषयमा अत्यन्त अनुभूतिपरक भएको जनाए । उनले प्रविधिमैत्री गोष्ठी गरेको एक वर्ष पूरा भएको सुनाउँदै यसमा योगदान गर्ने सबैलाई आभार व्यक्त गरे । राम विनयले भने, ‘कोरोना महामारीका कारण समसामयिक विषयमा बहस गराउने सन्ध्याको प्रयत्न अवरुद्ध भएकोमा अघिल्लो गोष्ठीदेखि फेरि हामीले प्रारम्भ गरेका छौँ । अर्काे महिना पनि यस्तै कुनै समसामयिक विषयमा बहससहित सिर्जना वाचनका गर्ने नै छौँ ।’

प्रतिक्रिया