साहित्यकार सुवेदीको निधन :

काठमाडौं । साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि कोरोना संक्रमणबाट ग्रस्त सुवेदीको उपचार क्रममा सोमबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको हो । सुवेदीलाई केही दिनयता केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । दुई साताअघि संक्रमण पुष्टि भएसँगै सुरुमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई गंगालालमा सारिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष नेपाली विषय प्राध्यापन गरेको सुवेदी २००२ साल साउन १९ गते पाँचथरको अमरपुरमा जन्मिएका थिए । प्रा. सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्य क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको बताए । उनले भने, ‘प्रा. सुवेदीको निधनबाट नेपाली साहित्यको सिर्जना र समालोचना दुवै क्षेत्रमा गम्भीर र अपूरणीय क्षति भएको छ ।’ उनी नेपाली वाङ्मयमा कवि, समालोचक, निबन्धकार, उपन्यासकारका रूपमा परिचित छन् । प्रा.सुवेदीका ‘विषय गहन ः सतह चिन्तन’, ‘स्रष्टा सृष्टि ः द्रष्टा दृष्टि’ समालोचना कृति, ‘सुद्युम्न’ र ‘स्वप्न संसार’ पौराणिक उपन्यास, ‘खाली सिसी पुराना कागज’ निबन्ध संग्रह लगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
त्यसै गरी सुवेदीले दर्जनभन्दा बढी कृति सम्पादन तथा अनुवाद, बनारसबाट प्रकाशित ‘मञ्जरी’ र समर्पण’ तथा ‘वाङ्मय’ पत्रिकाको सम्पादन गरेको प्राज्ञ डा. देवी नेपालले जानकारी दिए । सुवेदीका विरुपाक्ष, विरोचक, रासु उपनामबाट समेत लेखरचना प्रकाशित छन् । सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रा.डा. रमेशप्रसाद भट्टराईले समय र मृत्युको यति डरलाग्दो क्रुरता भोगेको यो पहिलो क्षण भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के भन्ने र के बोल्ने ? निशब्द छु । हार्दिक श्रद्धाञ्जली आदरणीय राजेन्द्र सर । म्याडम र कमल भाइलगायत परिवारजनमा गहिरो समवेदना ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेम पौडेलले नेपाली भाषा–साहित्य र संस्कृतिका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एउटा उच्च बौद्धिक व्यक्तित्वको अवसान ।’

उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले नेपाली वाङ्मय क्षेत्रले एक असल स्रष्टा गुमाएको बताए । उनले भने, ‘साहित्य मात्र नभएर एक असल गुरु समेत गुमाउन पुगेका छौं ।’ प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरि र महासचिव समिर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीको निधनले राष्ट्र र समाजका लागि अपूरणीय क्षति भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उहाँ भौतिक रुपमा हामीमाझ नरहे पनि उहाँको योगदानले उहाँलाई सदा जीवितै राखिरहने छ ।’ प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेलले नेपाली साहित्य जगतले विशिष्ट प्रतिभा गुमाएको बताए । उनले प्रा. सुवेदीले निबन्ध, कविता, समालोचना लगायतका नेपाली वाङ्मयका क्षेत्रमा काम गरेका जनाउँदै भने, ‘नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा उहाँको योगदान सदैव रहिरहने छ ।’

कलाकार तथा समीक्षक ज्ञानेन्द्र विवशले अत्यन्त दुखद् खबर भएको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘अत्यन्त दुखद् खबर ! नेपाली साहित्यले कुशल निबन्धकार र समालोचक गुमाएको छ । आखिर सम्झिने र श्रद्धा प्रकट गर्ने भनेको मानिसको अवसानपछि नै रहेछ । भावपूर्ण श्रद्धाञ्जली अग्रज साहित्यकार प्रा. राजेन्द्र सुवेदी ! कमल सुवेदीलगायत परिवारजनमा हार्दिक समवेदना ।’

प्रतिक्रिया