नयाँ वर्ष उत्सवको सार्थकता

                       लोकनारायण सुबेदी

हुन त जहाँ पनि जहिले पनि प्रत्येक पल बदलिई रहन्छन् । अहिलेसम्म मानि आएको सेकेन्ड, मिनेट, घण्टा, दिन, साता, महिना, वर्ष सानो इकाइको जोडको रूपमा ती सानाठूला पलहरू परिवर्तन भइरहन्छन् । तर, वर्ष दिनमा अर्थात् ३ सय ६५ दिनमा सम्वत्सर फेरिँदा त्यसलाई विशेष मानेर मनाउने चलन बिश्व भरी नै छ । वास्तवमा नव वर्षलाई स्वागत गर्दा र विगत वर्षलाई बिदाइ गर्दा विगतको समीक्षा र आगतको योजनाको कुरा आउँछ नै ।

अनि मनाउने हो भने विगतका गल्तीहरूलाई पुनरावृत्ति हुन नदिने र नयाँ–नयाँ सफलताका सोपानहरू चढ्ने कुरा नै प्रमख बनेर खडा हुन्छ । यद्यपि यस्ता सम्वत्सर फेरिने दिनहरू केवल सतही र हचुवा तरिकाले मनाउने चलन नै आमरूपमा चल्ने गरेको छ । त्यस दिनको महत्व र महिमा सांस्कृतिक रूपमा भए पनि वर्तमानमा रचनात्मक उत्कृष्टताका हिसाबले प्रायः मनाउने गरेको पाइँदैन । अनि कतिपयले भन्छन्, ‘प्रत्येक पल उत्सवका रूपमा बाँच्नु नै नव वर्षको स्वागत हो ।’

उनीहरूको विचारमा कुनै पनि उत्सवले मानिस भित्रको प्रसन्नतालाई उजागर गरिदिन्छ । अनि नव वर्षोत्सवले आआफ्नो धर्तीको सुगन्धसँग मानिसहरूलाई जोडिदिन्छ । वास्तवमा सत्य निष्ठ मानिसको हृदय यति उदार हुन्छ कि ‘बसुधैव कुटुम्बकम्’ (अर्थात् विश्वलाई नै आफ्नो घर ठान्ने मान्यता) लाई आत्मसात् गर्दै आफ्नो स्थानीय पात्रोका साथसाथै विश्व–पात्रोसँग हरेकले आफूलाई कुनै द्विविधा रहीत ढंंगले सम्बन्धित तुल्याउन र जोड्न पुग्दछन् ।

बितेको वर्षको बिदाइ र नववर्षको पदचापको अमूर्तनताले एउटा यस्तो सञ्जाल खडा गरिदिन्छ, त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित, पल्लवित तुल्याउन मद्दत गर्दछ । फलतः मानिसका स्वरहरू आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्दछन् र यसरी नयाँ अनुभूति गराउँदछन् । यथार्थतः बाहिरका सारा दृष्यहरू भित्रको अँध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् ।

नववर्ष एक किसिमको सुन्दर फूल हो जसमा आगामी भविष्यको वीज देख्न सकिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरूको सरलताको प्रकाशलाई नववर्षको द्वारमा देखिन्छ जति बेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समयको सिँढीको रेखाचित्र वास्तवमा सरलतामा जटिलताको अर्को रूप हो ।

पटकपटक हामी विगत समय या वर्षलाई सानो या सरल किसिमले बुझ्ने गर्दछौँ । तर, पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो । वितेको वर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझ्नुपर्दछ । नववर्ष एककिसिमको सुन्दर फूल हो जसमा आगामी भविष्यको वीज देख्न सकिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरूको सरलताको प्रकाशलाई नववर्षको द्वारमा देखिन्छ जति बेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ ।

समयको सिँढीको रेखाचित्र वास्तवमा सरलतामा जटिलताको अर्को रूप हो । यसमा अगाडिको जटिलता या सश्लिष्टतालाई बुझ्नका लागि सम कालको गठनको परिप्रेक्षलाई बुझ्नुपर्ने हुन्छ । मानुसिकदीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नववर्षका रूपमा अबिराम गतिले बगेर गइरहेको हुन्छ । वश्, गोधुलीको सघन छायाँबाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गतिपथलाई पहिचान गर्नु आवश्यक हुन्छ ।
त्यसैले अवश्य पनि विश्वका नयाँशताब्दीका चुनौतिहरूको सामना गर्न सकिन्छ ।

किनभने मानिसप्रति प्रवाहमा पनि त्यहीँ खडा भएर रहन सक्तछ, पुनर्परीक्षण गर्न सक्तछ र भविष्यको भावभंगीमालाई रूपाकार दिन सक्तछ । यो खडा रहने र हिँड्ने बीचको द्वन्द्व हो । यो द्वन्द्व अविरल र अविराम चलिरहन्छ । यही नै समयको गतिमानता हो । बस्तु, घटना र परिस्थितिलाई यसै गतिमानतामा बुझ्नु बुझाउनुपर्ने हुन्छ । नयाँ वर्ष मानिको कला–स्मृतिलाई उत्कीर्ण गर्ने साधन पनि हो ।

जडता तोड्नु नै नयाँ समयको अर्को नाम हो । जसमा दमित, निष्प्रेषित, अत्याचारित, हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चुनौतिहरू दिन सक्ने शक्ति हुन्छ त्यो नै सही अर्थमा नववर्ष हो । नववर्षको व्यक्तिनिष्ठ सामाजिकता भविष्य हो – व्यक्ति र देशको भविष्य । अनि समाज र विश्वको भविष्य आजको समयका यिनै तानाबानाबाट हाम्रो (मानिसको) जीवन निर्मित छ ।

एक एक क्षण महत्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थितिको क्षण होस् । यसैले हामी मानिसलाई समूहबाची बनाउँदछ । सबैसँग हामीलई जोडिदिन्छ । आजको विश्वको इतिहास सबै ‘हामी’ बन्नका लागि हो । आज विश्वमा आएको सूचनाहरूको महाबाढीले हामीलाई कतै हराएका जस्तै बनाइ दिएको छ ।

कथित खुल्लापनाको स्वागतमा कतिपय बेला वेबसाइटहरूको स्तरहीन भाषा, एक अर्का प्रति हिलो छ्यापाछ्याप, राजनीतिक समुदायका अन्य वर्गको तुलनामा महाबलिष्ठ बन्दै गइरहेको स्थिति, सञ्चार माध्यहरू प्रायः कला, साहित्य रहीत बन्दै गएको जस्तो स्थिति, विपन्नप्रति पनि असहाय स्थिति आदि हाम्रो समकालीन कुरा हुँदै गइरहेको प्रतीत हुन्छ ।

आडम्बरी–मुखुण्डोको बढदो महत्वले मानिसलाई दोहोर जीवन जिउन प्रेरित गरिरहेको जस्तो देखिन्छ । यसले व्यक्ति स्वयंलाई विभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँदछ र त्यहाँ सपना, जीवन, बेदना, मृत्यु सबै पराइ हुन थाल्दछन् । अर्थात् समय पनि हातको मुठीको चिप्ले कीरा जस्तै चिप्लिन्छ गत–विगतवर्षका रूपमा ।

आज पनि समाजका तल्लो वर्गका बिभिन्न तप्काहरूमा विषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागरजस्तै कति गहिरो, कति अन्धकार, कति पर्वत गुफाअदिलाई आफ्नो पेटमा समेटेको छ । बाहिर त केवल समयको स्वप्नाभाष मात्र देखिने गर्दछ । नववर्षमा आफूलाई ल्याउनुको मर्म, आशा, भरोसाको सही प्रकाश दिनु हो । आखिर कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु त हो ।

एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका वर्षहरूमा अन्धकार, हत्याहरू र घटनाहरूले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । भाविष्यको मागको रूपायन पनि विचार तथा साहित्यको काम हो । नववर्ष त्यसपछि मात्र बन्दछ । नव विश्व पनि तब मात्र बन्दछ ।
हुन त मानिस र एउटा संवेदनशील लेखक कसैलाई पनि थाहा हुन्छ कि मानिसहरूको दुःखको इतिहास तथा तिनको विजयको इतिहास दुबै असीम हुन्छन् । बितेको समयको कथा लामो हुन्छ । त्यो समाप्त हुँदैन तर नववर्ष वा आगामी वर्षको पूmल पनि ओइलाएर मर्ने छैन । किनभने त्यो दिन त्यो हामी भित्रको अजेय संकल्प र उन्मेषको सुगन्ध हो । मानिसका लागि बितेको वर्ष र नयाँवर्षको सन्धि–बिन्दु प्रकाश र अन्धकारका हरेक क्षण बिपर्य हुँदै गइरहन्छन् र क्षण भंगुरतामा अन्तः प्रज्ञाको अन्तःप्रयोजन ।

परम्पराले चलेको मनुष्यताको यात्रा नववर्षमा भाबातिरेकबाट संयुक्त ब्यक्तिको संम्यक, सुसंगत प्रथम चिन्तन पीठ हो – पार देख्नका लागि । जहाँ मानिसले आफ्नो मनको शाश्वत दिशा रचना गर्दै बिचलित हुने समयलाई राम्रोसँग पार गर्ने सामथ्र्य राख्दछ । यो शातत्य पृथ्वीको श्रेष्ठतम उद्दीप्त रंग हो । यसैले यथार्थतः नववर्ष आवेगको मनबीयकरणको मात्र सहज पक्षधर प्रस्तुति हो । सबै कुरालाई प्रासांगिक बनाउन सकिँदैन । अभिप्रायहरूको खोजी प्रकारान्तरले नववर्षकै खोजी हो । यो अन्तहीन मेलपनि हो विगत र आगतको ।

अर्थात समय र बिबेकको । जसरी धानको बोटका पातहरूले धानको महक या बासनलालाई एक तुल्याएर सराबरी गरिदिन्छन् त्यसरी नै नववर्षले पनि नयाँ सपनाको आभासँग जोडेर हामीभित्र र बाहिर दुबैसँग सुचित्रित गरिदिन्छ । त्यो मानिसको लागि स्वप्नमय, कलामय, अन्नमय संसार तथा भविष्यको रचना हो । नववर्षमा गहन आबेग र सिर्जनाशील, कल्पनाशीलता हुन्छ जसमा पुनर्निर्माणका आधारमा बिभिन्न प्रकारका यथार्थहरूको सिर्जना हुन्छ । जहाँ समृद्धि, मिठास र प्रकाशका रंगहरूका अकथनीय बिम्बबलीहरू हुन्छन् ।

यसर्थ पनि नयाँ समय विकल्पहरूको अन्वेषण गर्ने समय मानिएको र असहाय हुनुको बिरुद्ध एउटा उद्घोष पनि हो । आधारहीन हुनु, एक्लो हुनुका सट्टामा एउटा नयाँ प्रत्याशा पनि । एउटा यस्तो निष्ठालाई बद्लिनका लागि विकल्पतर्फ अग्रसर ।

राजनीतिक, आर्थिक ब्यवस्थामा असन्तुष्ट तर सकारात्मक सोच भएका विचारलाई नियन्त्रण नगर्ने दिशामा अग्रसर, बहुलताबादी, सञ्चार माध्यम, जनमत, विचार, सिद्धान्तमा बहुआयामिकता देख्ने कलाप्रिय, सिर्जनशील या सिर्जनाधर्मीहरूले नववर्षलाई परिवर्तन तथा मनुष्यताको मंगलद्वारको रूपमा लिएका हुन्छन्। यहाँ आफुका अतिरिक्त अरुका लागि पनि सम्मानजनक स्थान छ । यही समय बिभिन्न सयम पनि हो । पुरातनमा नूतन लुकेको छ, नूतनतामा अतिनूतनको उन्मेष । अनि संकल्पको आँच पनि । नववर्षको शुभकामना शतत शुभकामना !

प्रतिक्रिया