कुम्भ मेला, धर्म – संस्कृति र राष्ट्रवाद

प्रा.डा.बद्रीविशाल पोखरेल

नेपालका समग्र प्रकृति प्राकृतिक सम्पदा सबै शुद्ध, पवित्र र जीवनदायी छन् । आखिरमा मर्ने बेलामा नेपालको पवित्र जल, जमिन र जंगललाई उपेक्षा गर्ने संस्कार अहिले पनि केही बाँकी होला । अनि वनारसको अत्यन्त प्रदुषित जललाई गंगाजललाई अमृतसरह ठान्ने चरम रुढीवादी संस्कारप्रति पोखरेलले आफ्नो निबन्धमा दृढ असहमति व्यक्त गरेर धार्मिक सांस्कृतिक राष्ट्रवादको पक्षपोषण गर्नु भएको छ । वैदिक सनातन, बौद्ध, किराँत आदि धार्मिक सांस्कृतिक सर्व प्राचीनस्थल नेपाल हो ।

जनताबिना देश, राष्ट्र र राज्यको कल्पनासम्म गर्न सकिन्न । जनता नै देशका बहुआयामिक विषय, क्षेत्र, विधा र पक्षसित प्रत्यक्ष सम्बन्धित हुन्छन् । जनता आर्थिक भौतिक कला साहित्यिक क्षेत्रका मूल आधार हुन् । जनताबिना धर्म, संस्कृति र संस्कारको प्रदुर्भाव नै हुँदैन । कुनै पनि देशका आआफ्ना धार्मिक तथा सांस्कृतिक महत्त्वपूर्ण पक्ष हुन्छन् ।

अझ नेपाल विश्वका सर्वप्राचीन धार्मिक सांस्कतिक मूल्य र महत्ताको देश हो । यही देशमा जन्मिई, हुर्किई पढी बढी मर्ने बेलामा भारतको वनारस बास गरेर त्यहीँ मर्दा मात्र स्वर्ग प्राप्त हुन्छ भन्ने अत्यन्त गलत भाष्यका भ्रममा धेरै वर्ष नेपाली परे । यसलाई आधार बनाएर प्राज्ञ तथा वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेलले धर्म कमाउन जाने बाबुसित गन्थन निबन्ध नै लेख्नुभयो । नेपालका हिमनदीबाट अनेक नदी भारततिर बग्छन् । नेपालका समग्र प्रकृति प्राकृतिक सम्पदा सबै शुद्ध, पवित्र र जीवनदायी छन् । आखिरमा मर्ने बेलामा नेपालको पवित्र जल, जमिन र जंगललाई उपेक्षा गर्ने संस्कार अहिले पनि केही बाँकी होला । अनि वनारसको अत्यन्त प्रदूषित जललाई गंगाजललाई अमृतसरह ठान्ने चरम रुढीवादी संस्कारप्रति पोखरेलले आफ्नो निबन्धमा दृढ असहमति व्यक्त गरेर धार्मिक सांस्कृतिक राष्ट्रवादको पक्षपोषण गर्नुभएको छ । वैदिक सनातन, बौद्ध, किराँत आदि धार्मिक सांस्कृतिक सर्व प्राचीन स्थल नेपाल हो । जलामय भएका अवस्थामा मानव सभ्यता हाम्रै उच्च हिमाल, हिम शृंखला र पहाडहरूमा भएको हो । वेदको रचना, व्यास, पाणिनी, शिवको आश्रयस्थल कैलाश, पर्वत पुत्री पार्वती आदि अनेक धार्मिक सांस्कृतिक तथ्यहरूले यसलाई पुष्टि गर्छन् । धर्म र संस्कतिको सर्व प्राचीन तीर्थस्थल हाम्रै अज्ञानताका कारण पछि परेको हो ।

हाम्रै हीनता ग्रन्थीका कारण कतिपय हामी हाम्रो अयोध्या र रामलाई हाम्रो होइन भन्न रुचाउँछौँ । यहाँ उल्लेख गरिएको धार्मिक सांस्कृतिक राष्ट्रवाद प्रगतिशील हो । यो कुनै अन्धवाद र अतिवाद होइन । यथार्थ, वास्तविकता र ठोस प्रमाणका आधारमा हाम्रा धार्मिक सांस्कृतिक धरोहरलाई हाम्रो भनेका हौँ र कुनै पनि सच्चा राष्ट्रवादीले हाम्रा मूल्य र महत्तालाई किमार्थ उपेक्षा गर्दैन । यही कुरालाई गहन रूपमा मनन गरेर तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम र अयोध्याको यथार्थ सत्य उद्घाटन गरिदिनुभएको हो । तर, चरम मूढाग्रही र पूर्वाग्रहीहरू आफैँलाई धिक्कार्न मजा मान्छन् र यसमा पनि हीनताबोध ग्रस्त कथित बुद्धिजीवी देख्दा लाज नै लजाउँछ । तर वास्तविकताधारमा भन्दा कुम्भ मेला धार्मिक सांस्कृतिक राष्ट्रवादको एउटा मेरुदण्ड हो ।

धर्म संस्कृतिका मूल आधार जनता हुन् । त्यसैले कुम्भ मेला, बोलबम आदिजस्ता धार्मिक सांस्कृतिक पक्षहरू नेपाली राष्ट्रियताका आधार हुन् । हुन त बराह क्षेत्रलाई कुम्भ मेलाका रूपमा अगाडि बढाउने सोच राख्नेमध्ये पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको पनि नाम आउँछ, तर नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यको भूमिका सर्वोपरि रहेको तथ्यबाट प्ुष्टि हुन्छ । उहाँले नै उल्लेख गरेका र लेखकले खोज गरेका आधारमा यो कुरा पुष्टि हुन्छ । जगत् गुरुले नै उल्लेख गरेअनुसार इटहरी–६ निवासी स्वं ताल्चा भण्डेला लगायतले तन, मन, वचन र धनले कुम्भ मेलाको स्थापनार्थ भरपूर सहयोग गरेको बताउनुभएको छ ।

२०८० चैत २७ देखि २०८१ वैशाख २७ गतेसम्म १२ बर्से कुम्भ आयोजनाको आयोजना भइरहेको छ । यो मेला बराहक्षेत्र नगरपालिकास्थित चतरा धाममा सम्पन्न भइरहेको छ । हरेक १२ वर्षमा पूर्ण कुम्भ मेला लाग्ने परम्परा सांस्कृतिक धार्मिक पर्यटनसित पनि सम्बन्धित रहेको छ ।


संस्कृति मानवीय जीवनको सर्वाधिक महत्वपूर्ण विषय हो । मानवीय जीवन संस्कृतिको केन्द्र हो । मानवीय भौतिक वा अभौतिक श्रमद्वारा संस्कारित कृति संस्कृति हो । यो प्रकृतिको पुनर्रचना हो । संस्कृतिका भौतिक र आत्मिक पक्ष हुन्छन् । संस्कृतिको आत्मिक पक्षअन्तर्गत धर्म र संस्कृति पर्दछ ।


महामना मोदनाथ प्रश्रितका अनुसार ऋग्वेदका कैयौँ ऋचाहरू नेपालको हिमाली र पहाडी भूभागमा पादुर्भाव नै भएको हो । यहीँ ऋषिमुनिहरूको औषध शास्त्र, गुरुकुल ज्ञान, ध्यान, आचारविचार आदि विषयमा सभा भएको बताइन्छ । तर, समय क्रममा भौगोलिक अनुकूलताको खोजी गर्दासम्म, फाँटिला र सुगम स्थानमा बसेर संस्कृति र धर्मसम्बन्धी यावत् पक्षहरूको निर्माण, प्रवद्र्धन, परिस्कार तथा पुनरुत्पादन गर्न सजिलो भएको हुनुपर्छ । पानीजस्तै जीवन पनि सुगम स्थानमा सञ्चित, समाहित र संगृहित हुन्छ, त्यसैकारण उच्च हिमाली शृंखलाहरूबाट तराई र मधेसका वा भारतवर्षका स्थानमा धर्म र संस्कृति थुरिएको मान्ने आधार छन् ।

नेपालको धर्मिक सांस्कृतिक सर्वप्राचीन पक्ष ओझेल पर्न दिनु हुन्न । सत्य स्थापित गरे मात्र देशको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्छ । धर्म संस्कार र संस्कृतिका क्षेत्रमा पुनःव्याख्या, पुनःपरिष्कार र परिमार्जन अपरिहार्य देखिन्छ । पुर्खाहरूले उपयुक्त विषयमा जे जस्ता व्याख्या गरे त्यसैमा पूरै विश्वस्त भएर हुँदैन । आत्मा भनेको जीव, देश, शरीर र प्राण हो । शिवराम आप्टेको संस्कृत हिन्दी शव्दकोशमा यससम्बन्धी अर्थ दिइएको छ । त्यसैले आत्मा भन्नाले परमात्मा वा ईश्वरको अंश होइन । बरु परमात्मा भनेको सबै जीवको आत्मा वा शरीरको समष्टि हो । त्यसैगरी देवता वा ईश्वर भनेको जसले बढी दिन्छ र जसले संरक्षण गर्छ त्यो हो । किनभने बायु, जल, थल, सूर्य, चन्द, फलफूल, वनस्पति आदिलाई हाम्रा पुर्खाहरूले देवता भने किनभने तिनले मानव समाजलाई दिने मात्र काम गर्छन् । शिवले मानव समाजको सुरक्षाका लागि गरल पान गरेर न देवता कहलिए ।

अनि धर्म भनेको केवल ढोँग मात्र होइन सेवा हो । त्यसैले धार्मिक सांस्कृतिक विषयमा सतही ज्ञानले मात्र हुँदैन । यसलाई समाज र देशकै हित र उत्थानमा लगाउनुपर्छ । भाग्यवादी होइन कर्मवादी बन्नुपर्छ । अर्वाचीन पुराण समाजकी अध्यक्ष मिथिला दाहाल पोखरेल, इटहरीले बराह क्षेत्रको कुम्भ मेला परिसरमा यससम्बन्धी छलफल चलाइन् । यसमा वरिष्ठ बुद्धिजीवी योगराज गाउँले, वरिष्ठ पत्रकार राजेन्द्रराज तिम्सिना, प्राडा टुनराज भट्टराई, मोरङ जिल्लाका एमाले नेता रुपेश खतिवडालगायत व्यक्तित्वको सहभागिता थियो । पोखरेलका अनुसार अर्वाचीन पुराण १८ पुराणका समाजोपयोगी सबै सारतत्त्व समाहित छन् । यस पुराणका निम्नलिखित सूक्तिहरूले यसको अर्थ आशय र तात्पर्य स्पष्ट पार्छन्, ‘विद्या पौरुष नै फल्छ भाग्य फल्दैन धर्तीमा, भाग्यको भ्रममा पारी गर्न पाइन्न शोषण । चौरासी लाख जुनी होइन यही जुनी राम्रो, श्रम गरेदेखि यही धर्ती बन्छ, स्वर्ग हाम्रो ।’

पुराणहरूका बारेमा नयाँ खोज जरुरी छ र तिनमा निहित समाजोपयोगी र जीवन सापेक्ष सन्दर्भहरू समाजमा प्रवाहित गर्नु पनि उत्तिकै आवश्यक छ । बरबार अध्ययन र अनुसन्धान गरे मात्र सत्यतथ्य उजागर हुन्छ । केही वर्ष अघिदेखि नेपालको धार्मिक तथा सांस्कृतिक ऐतिहासिक पक्षका बारेमा प्रथम जगत् गुरु बालसन्तले गम्भीर अध्ययन गरे । त्यस आधारमा यस पावन क्षेत्रमा २०५९ सालमा पहिलो पूर्णकुम्भ मेलाको आयोजना गरिएको थियो । नेपालका धार्मिक सांस्कृतिक राष्ट्रवादलाई उत्खनन्, उत्प्रेरण, अभिप्रेरण तथा संरक्षण गरे मात्र मौलिक पहिचान सुरक्षित हुन्छ । धन भएर मात्र हुन्न त्यसलाई चिन्न र चिनाउन सक्नुपर्छ । हरेक सकारमा नकार प्रवेश गर्न खोजेजस्तै यस कुम्भमेलाका बारेमा नकारात्मक कोणबाट चर्चा गर्ने एकाध कथित सन्तको कमी पनि छैन । त्यस्ता नकार समय क्रममा बिलाउँछन् ।

धार्मिक सांस्कृतिक राष्ट्रवादी अभियान पञ्चायत कालमा पनि सुरु भएको थियो । धरानस्थित पिण्डेश्वरलाई बाबा धामका रूपमा स्थापित र विकसित गरेको कुराले यसलाई पुष्टि गर्छ । यस्ता विषयलाई कवि मान वज्राचार्य र पथिक कवि लक्ष्मी आचार्यको उत्पे्ररक भूमिका महत्त्वपूर्ण रहेको छ ।

नेपालको धार्मिक प्राचीनता यही चतरा कुम्भ मेलासम्बन्धी सत्यतथ्य खोजबाट प्रमाणित भएको देखिन्छ । सनातन धर्मशास्त्र र पुराण अनुसार अमृत प्राप्तिका लागि समुद्र मन्थन गरिएको प्रसंग आउँछ । पुराणअनुसार देव र दानवले मिलेर मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई नेतीको रूपमा प्रयोग गरी क्षीर सागरमा मन्थन गरिएको थियो । स्कन्ध पुराणमा उल्लेख भएअनुसार उक्त क्षार समुद्र कलौ नेपालीका पुरी अर्थात् कलियुगमा नेपाल पुरी भनेर चिनिने स्थानमा रहेको ग्रन्थबाट अवगत हुन्छ । यसरी समुद्र मन्थन गर्दा १२ वटा कुम्भ प्रकट भएका मध्ये ४ वटा कुम्भचाहिँ भारत भूमिमा स्थापित भएका र बाँकी ८ वटा लोकान्तरमा स्थापित भए भनिन्छ । यिनै लोकान्तरमा स्थापित ८ मध्ये पाँचौँ कुम्भचाहिँ देवताहरूको क्रीडास्थल नेपालको हिमालयहरूको पाश्र्ववर्ती भूमिमा रहेको बताइन्छ । यसलाई कुम्भ मेला आयोजकद्वारा तयार पारिएको खोजपूर्ण प्रचार सामग्रीबाट अवगत हुन्छ ।

समुद्र मन्थन गर्दा प्राप्त अमृतपान गर्ने बारेमा देवता र दानवका बीच विवाद बढ्यो । भगवान् विष्णुुले मोहिनी रूप धारण गरेर दानवहरूलाई मोहित पारे, देवताहरूलाई मात्र अमृत पान गराउन अमृत कलश उठाउँदा उक्त कलशको घाँटीमा अमृतको तर जमेर पिण्ड बनेको देखियो । विष्णु भगवान्ले उक्त पिण्डलाई कलशबाट अलग गरी देवताहरूलाई अमृत पान गराउनुभएको जानकारी पाइन्छ । उक्त पिण्डबाट देवताहरूले शिवलिंग बनाएर रुद्राक्षारण्यको बीच भागमा लगी पिण्डेश्वर महादेव नामकरण गरी धार्मिकस्थलको स्थापना गरे । यही रुद्राक्षारण्य हाल धरान नगरपालिकाअन्तर्गत विजयपुरमा पर्दछ र यहाँ अद्यापि पिण्डेश्वर महादेव मन्दिर स्थापित रहेको छ ।

अर्को एक प्रसंगमा अमृतको घडा देवता र दानवका बीच खोसाखोस हुँदा पिण्डेश्वरमा अमृतको तर खसेको तर भारतका केही स्थलमाचाहिँ अमृत थोपा मात्र खसेको भनिन्छ । तसर्थ अमृतको थोपा मात्र खसेको शास्त्रीय प्रमाणका आधारमा भारतका नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा लाग्ने कुम्भमेला लाग्ने गरेको हो । तर, अमृतको थोपा खसेको र अमृतको बाक्लो तर वा पिण्ड नै खसेको पिण्डेश्वर सर्वाधिक महत्त्वपूर्ण हुने नै भयो । यही तर वा पिण्डबाट शिवलिंग उत्पत्ति भएको पिण्डेश्वरको पावन परिसरमा अवस्थित सप्तकोशी निकट बराह क्षेत्रमा कुम्भमेला लगाउनु धार्मिक, ऐतिहासिक तथा पौराणिक दृष्टिले सही देखिन्छ । यस्तै खालका विशिष्ट परिचानका धार्मिक सांस्कृतिक तथा पुरातात्विक वैभव र विभूतिको संरक्षण र संवर्धन देशको पहिचान र श्रीवृद्धिका लागि अपरिहार्य हुन्छ ।

यसरी राष्ट्रवादी चिन्तनलाई बहुआयामिक रूपमा उजागर गर्न सकियो भने देशको उत्थानमा विशेष अभिप्रेरणा उत्पन्न हुन्छ । कुम्भमेला एक महिनासम्म विविध धार्मिक, सांस्कृतिक, विद्वत् सभा, योगाभ्यास, नेपाल भारतका सिद्धमहात्मा, मनीषी तथा विदूषीद्वारा विशिष्ट प्रवचन, वेद पुराण वाचनलगायत अखण्ड भजनकीर्तन हुने आयोजकले जनाएका छन् । यसमा अब भाग्यवादी होइन कर्मवादी प्रवचन र भजन अपरिहार्य हुन्छ । यसले नै जनमैत्री तथा श्रममैत्री भावना जगृत गराउँछ । पुराणका पनि समाजोपयोगी जीवनसापेक्ष पक्षहरू उजागर गर्नु जरुरी देखिन्छ । ज्ञान कोशका रूपमा परिचित अग्नि पुराण वाचन सर्वाधिक महत्त्वपूर्ण हुन्छ ।

तसर्थ यो राष्ट्रवादी चेतको, आत्मिक तथा भौतिक उत्थानसित सम्बन्धित पूर्णकुम्भ मेलामा समस्त नेपालीले साथ सहयोग सक्रिय रूपमा गर्नु कर्तव्य हुन्छ । भारतलगायत कतिपय देशमा धर्म र संस्कृतिले त्यस सहरलाई आयआर्जन, रोजगारी दिएको देखिन्छ । यसले पर्यटनलाई ठूलो टेवा पु¥याउँछ । देशको पर्यटन प्रवर्धनमा समेत ठूलो सहयोग पु¥याउने विषयलाई उचित महत्त्व दिनुपर्छ । बराह क्षेत्रस्थित कुम्भमेला परिसरमा भव्य किरातेश्वर मन्दिरको तयारी चलिरहेको देखिन्छ । यस्ता धार्मिक सांस्कृतिक समन्वय, सहिष्णुता, सहभाव तथा सहकार्यले नेपालीमा एकताको भावनालाई अरू सुदृढ बनाउनेछ ।

प्रतिक्रिया