ढकालको ‘लजालु पहाडहरू’ बजारमा

बाँके । साहित्यकार अमृत शर्मा ढकालद्वारा लिखित गीतकृति ‘लजालु पहाडहरू’ बजारमा आएको छ । नेपालगञ्जमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं कथाकार सनत रेग्मी, अग्रज सायर अब्दुल लतिफ शौक, प्राज्ञ हरिप्रसाद तिमिल्सेना, लोकगायक कमल बिक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा कथाकार रेग्मीले ढकालका गीत संरचनाका हिसाबले संगीतकार र गायकलाई नै चुनौती दिने प्रकृतिका रहेको जिकिर गरे । गीत आफ्नो प्रिय विधा भएको बताउँदै कृतिकार ढकालले साहित्य सिर्जनाको सुरुवात् गीत लेखनबाटै गरेको सुनाए । दुई दशकदेखि गीत, कविता, गजल र समालोचना विधामा कलम चलाउँदै आएका ढकालको ‘लजालु पहाड’ पहिलो पुस्तक हो ।

६७ वटा गीत संग्रहित पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योञ्जन र गुल्जारको जत्तिकै स्तरीय गीत लेखन क्षमता रहेको जिकिर गरे । उनले भने, ‘जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ ।’ उनले कृतिमा रहेका केही गीत पहिलो पढाईमा दुर्बाेध्यजस्तो लागे पनि तीनको वजन थाहा पाउनेबित्तिकै फरक अनुभूत हुने विचार व्यक्त गरे । युरेका प्रकाशनले बजारमा ल्याएको यो गीत संग्रहको मूल्य २५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया