भेटघाट र सद्भावको मेला सुर्मादेवी

बझाङमा हरेक वर्ष झैँ यस वर्ष पनि सुर्मादेवी विरिजात मेला सञ्चालनमा आएको छ । सुर्मा सरोवर धार्मिक एवं पर्यटकीय क्षेत्रमा हरेक वर्ष साउन महिनाको पहिलो औँसीदेखि पूर्णिमासम्म सुर्मादेवी (विरिजात) मेलालाग्ने गर्दछ । सुर्मादेवी धार्मिक मेलाको समयमा विषेशतः सुर्मादेवी भगवतीमाताको लामो समयसम्म पूजा आरधना गरी मेला मनाउने परम्परा रहेको छ । सुर्मादेवी भगवतीमाताको उत्पत्ति दुर्गाथली गाउँपालिकास्थित थलीजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ ।

पौराणिक कथाअनुसार थलीजिउलामास्थित मन्दिरमा भगवान् महालिंग आफ्नी पत्नी दुई दिदीबहिनी दुर्गादेवी (जेठी) र सुर्मादेवी (कान्छी) सँग बस्दथे । महालिंग भगवान्लाई कुष्ठरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाहअनुसार जेठी दुर्गादेवीले कान्छी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन् । सुर्मादेवीले नाक थुनेर लसुन पिस्न थालेपछि दुर्गादेवीले (तेतिकी छिपिली भया सरोवर बस) भनेको बचन सहन गर्न नसकी सुर्मादेवीले (थार) भनिने जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।

जंगली जनावरको भेषमा रहेकी सुर्मादेवीले खोरी गाउँका बासिन्दाले घाममा सुकाउँदै गरेको अन्नबाली (बिस्कुन) चोरेर खान थालिन् । सुर्मादेवीले अधिकांश दिन बिस्कुन चोरेर खानथालेपछि खोरी गाउँकी महिला (खोरयाल्नी) ले पतिलाई सिकार गर्न आग्रह गरिन् । खोरीगाउँका पुरुषहरूले तिखाहतियार (भाला) ले थारलाई लखेट्दै जाँदा अन्त्यमा सुर्मा सरोवर तालमा पुगेर सुर्मादेवीको अवतार भएको भन्ने जनविश्वास रहेको छ ।

सुर्मादेवी माताको उत्पत्ति खोरी र घट्टे क्षेत्रमा भएकाले यस गाउँका बासिन्दालाई सुर्मादेवी मेलाका विषेश करियाकाको रूपमा मान्ने प्रचलन रहेको छ । सुर्मादेवी मेलाको पहिलो सुरुआतीमा खोरी र घट्टे गाउँमा रहेका सुर्मा मन्दिरहरूमा पूजा आराधना गरिन्छ । सुर्मादेवी मेलाको सुरुआतको समय साउन महिनाको औँसीदेखि १० दिनसम्म खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू त्यहाँ रहेका सुर्मा मन्दिरमा (सुर्मादेवी) माताको पूजा आराधना गरी (बाँधा) मान्ने गर्दछन् । बाँधा मानिएको समयमा तीर्थालु भक्तजनहरू अपवित्र भइन्छ भनेर लसुन र मासु खाँदैनन् ।

बाँधा मानिएको समयमा साँझपख (दहीपाण) भनिने देउघरमा ढाँका नाच नाच्ने, ढुस्का गीतहरू गाउने तथा धामीझाक्री काप्ने गर्दछन् । तीर्थालु भक्तजनहरू दिउँसो चौतारामा ढाँका नाच, चाभाई गितर फागहरूजस्ता रमाइला खेलहरू पनि खेल्ने गर्दछन् । बाँधा समाप्त भएको १०औँ दिनको भोलिपल्ट एकादशीका दिन (उपासु) व्रत बसी तीर्थालु भक्तजनहरू सबेरै उठेर धारामा स्नान गरी निगालोका लौरा (लाकुणी) को पूजा गरी गाउँको चौतारामा जम्मा हुन्छन् ।

खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू एकै ठाउँमा जम्माभर्ई खुट्टामा जुत्ताचप्पल नलगाई ढाँका नाच गर्दै स्नान गर्न पवित्र धार्मिकस्थल सुर्मासरोवर तालको यात्रा आरम्भ गर्दछन् । यसरी जुत्ता चप्पलविना पैदल यात्रा गर्दै सुर्मा सरोवर ताल पुगेर स्नान गरे मनले सोचेको कुरा पूरा हुने तथा वर पाइन्छ भन्ने जनविश्वास रहेको छ । सुर्मा सरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन् ।

ओरालो झर्दै माटेसाँघुबाट उकालो चढ्दै पातललेखबाट सुर्मा गाउँपालिकाको सैन गाउँमा पुग्दछन् र त्यहाँ रहेको भुकोहाल्ना भन्ने मन्दिरमा अन्निफाको चढाएपछि साँझ थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरमा पुग्दछन् । त्यहीँ साँझको समयमा सेलाखेत, धामीलेख र घोगाडाबाट आउने सुर्मादेवीका धामी पुजारी आलीपालीहरूको (लोग) लाई थकुन्नाडा गाउँमा भेट गरी पणछमी गर्दछन् । पणछमीको समयमा खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू ढाँका बजाउँदै धामीझाक्रीलाई काँधमा बोकेर स्वागत् गरी साँझ त्यहाँ रहेको दहीपाण भनिने देउघरमा गई जागरम बस्दछन् ।

भोलिपल्ट सबेरै सबै तीर्थालु भक्तजनहरू स्नान गर्न सरोवरको यात्रा आरम्भ गर्दे हिमालतिर उकालो चढ्दछन् । थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरबाट करिव दुई घण्टा उकालो चढेपछि तीर्थालुहरू लोट्नी भन्ने ठाउँमा पुग्दछन् । विरिजात मेलामा पहिलोपटक गएका तीर्थालु (बालावीर) हरू लोट्नी भन्ने ठाउँमा घाँसमा लडीबुढी गर्ने प्रचलन रहेको छ । सुर्मा माताको जयजयकार गर्दै सुर्मा सरोवर तालमा स्नान गर्न उकालो लागेका भक्तजनहरू पाँच घण्टापछि करिब चार हजार मिटर उचाइमा रहेको नाच्नी भन्ने डाँडामा जम्मा हुन्छन् । त्यहाँ रहेको सुर्मादेवी माताको मन्दिरमा तीर्थालुहरू खानाका परिकार चढाउँछन् ।

पहिलोपटक सुर्मा सरोवर ताल गएका तीर्थालुहरूलाई खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनले काँधमा चढाउने गर्दछन् । काँधमा चढाएबापत बालावीरहरूले भेटी स्वरूप आफ्नो दक्षताअनुसार पैसा दिनुपर्ने परम्परा रहेको छ । तीर्थालु भक्तजनहरू नाच्नीबाट मधुखर्क, बुढी विनायक, जलजला हिमखेत, चाँदेशिखर हिमाल हँुदै साँझ पवित्र मानिने सुर्मा सरोवर तालमा पुग्दछन् । सुर्मा सरोवरमा पूजा आराधनासँगै स्नान गरीसकेपछि श्रद्धालु भक्तजनहरू सुर्मादेवी मातालाई आपूmले चिताएको वर माग्दछन् र साँझ ताल नजिकै रहेका ओढारमा वास बस्दछन् ।

साँझ ओढारमा जाग्राम बसेका तीर्थालु भक्तजनहरू सबेरै उकालो चढेर चाँदेशिखर हिमाल हँुदै ओरालो झर्ने गर्दछन् । एकआपसमा सद्भाव कायम गर्दै सुर्मा माताको जयजयकार (चाहाचाहा) भन्दै भक्तजनहरू साँझ पुनः थकुन्नाडा गाउँमा पुग्दछन् । सुर्मा सरोवरबाट आउने तीर्थालु भक्तजनहरूको स्वागतका लागि थकुन्नाडा मेलाबाट महिला तथा पुरुषहरू दही र मीठो परिकार लिएर बीच बाटो लोटनी भन्ने ठाउँसम्म पुग्ने गर्दछन् ।

सुर्मा सरोवर तालबाट स्नान गरी फर्केका श्रद्धालु भक्तजनहरू ढाँका नाच गरी (चाहाचाहा) भन्दै थकुन्नाडा गाउँमा रहेको (पागरजडी) सुर्मा मन्दिरमा प्रवेश गर्दछन् र सरोवरबाट ल्याएको जल तथा प्रसादहरू मन्दिरमा चढाउँछन् । साँझपख धामीझाक्रीलाई काँधमा राखी (पणछमी) गरेपछि खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू ढाँका बजाउँदै आफनो घरतिर प्रस्तान गर्दछन् । भोलिपल्ट खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार गर्दै पहिलोचोटी सरोवरको यात्रा गरेका बालावीरलाई काँधमा राख्दै खोरीगाउँमा रहेको सुर्मा मन्दिरमा पुग्दछन् र सुर्मा सरोवर तालबाट ल्याइएको जल प्रसाद मन्दिरमा चढाउँछन् ।

घट्टे गाउँका तीर्थालु भक्तजनहरू पनि ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार गर्दै महिलाहरू चाभाई गीत गाउँदै घट्टे गाउँतिर प्रस्तान् गर्दछन् । उनीहरूको स्वागतका लागि बाटोमा महिलाहरू दही लगायतका मीठो परिकार खुवाउँदै तीर्थालुहरूको स्वागत गर्दछन् । एक आपसमा भेटघाट र सदभाव कायम गर्दै पुनः घट्टे गाउँमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी साँझ देउघरमा खानाखाने गर्दछन् । भोलिपल्ट सबेरै खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू बुडखोरीमा रहेको सुर्मा मन्दिरमा पूजा आराधना गर्दछन् । सुर्मा मन्दिरमा ढाँका नाच गरी धामीझाक्रीलाई काँधमा चढाउँदै महिलाहरू चाभाइ गीत गाउँदै ओरालो झर्दछन् । यसरी अन्तिम दिन मजखोरीमा विविध कार्यक्रमका साथ सुर्मादेवी विरिजात मेला समापन हुने गर्दछ ।

प्रतिक्रिया