लामखुट्टेसँगै हिमाल चढ्यो औलो !

काठमाडौं । गर्मी मौसममा नेपालको तराई क्षेत्रमा औलो (मलेरिया) रोगको प्रकोप हुने गरे पनि पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लासम्मै औलोको प्रकोप देखिन थालेको छ । पछिल्लो समय कर्णाली प्रदेशका हिमाली जिल्लामै औलो रोगको प्रकोप देखिएको हो । हिमाली जिल्लासम्म सडक सञ्जाल पुगेपछि गाडीसँगै पुगेका लामखुट्टेका कारण ती जिल्लामा औलोको प्रकोप फैलिएको हो । जलवायु परिवर्तनका कारण बढ्दो गर्मी र यातायात सञ्जालका कारण तराई क्षेत्रमा मात्र देखिने औलो हिमालसम्मै पुगेको हो ।

बिहीबार विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले गरेको अन्तक्र्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरिएको हो । अन्तक्र्रियामा औलो रोगको अवस्थासम्बन्धी ५ वर्षयताको तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलोको उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार हुम्लाको ताजाकोट–१, चंखेली–२, अदानचुली–२ र ३, मुगु सोरु–४, ५, खत्याड–१, वीरेन्द्रनगर नगरपालिका–७ सहित गरी ९ वटा वडा मध्यम जोखिमका छन् । तापक्रम वृद्धिकै कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहोर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ । जसका लागि कर्णाली प्रदेशमा औलो नियन्त्रण कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनका अनुसार स्थानीय औलो रोग शून्यमा झार्ने रणनीति अनुरुप नियन्त्रणका विभिन्न कार्यक्रम भइरहेका छन् । माइक्रोस्कोपी र आरडिटी विधिबाट औलो परीक्षण र उपचार भइरहेको जनाउँदै उनले औलो रोगविरुद्धको अभियानअन्तर्गत पछिल्लो समय बिरामीको संख्या घट्दै गए पनि यसको प्रभाव हिमाली क्षेत्रमा देखिन थालेको बताए ।

उनका अनुसार सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा १ गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताए ।
सोही लक्ष्यअनुसार कर्णालीमा पनि तीव्र रूपमा औलो नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए ।

निर्देशनालयका अनुसार छिमेकी देश भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिबाट समेत औलो संक्रमणको जोखिम रहेकाले उनीहरूको परीक्षणमा कठिनाइ भएको छ । कर्णाली प्रदेशमा औलो रोग नियन्त्रण गर्न आवश्यक जनशक्तिको कमी, छुट्टै किट र विज्ञ नहुनु र बजेटको अभावका कारण परीक्षण कार्यमा कठिनाइ देखिएको छ ।

यसैबीच, जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले औलोको प्रकोप जोखिम घटे पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा औलोका बिरामी कम भए पनि विदेशबाट आएकालाई परीक्षण गर्दा रोग देखिएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ काठमाडौँमा जिल्लामा १७ जना औलाका नयाँ बिरामी देखिएका छन् । ‘यहाँ औलोको जोखिम छैन । तर, विदेशबाट आएका मानिसले औलो रोग ल्याएर आउन सक्छन्,’ उनले भने, ‘दक्षिण अफ्रिकालगायत देशबाट आएका मानिसमा परीक्षण गराउँदा औलो देखिएको छ ।’

सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सोहीअनुसार सन् २०२३, २०२४ र २०२५ भित्रमा स्थानीय तहमा औलो बिरामीको संख्या शून्यमा झार्ने र औलोको स्थानीय सर्ने दर शून्यमा पार्ने लक्ष्य लिएको छ ।

जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यले चन्द्रागिरि नगरपालिका–४ बाहेक काठमाडौँका कुनै पनि वडामा औलोको जोखिम नभएको बताइन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १३ जना, २०७९/८० मा १७ र २०८०/८१ मा पनि १७ जनामा औलोका बिरामी देखिएको उनको भनाइ छ ।
यस्तै कोसी प्रदेशमा १३ जना, मधेस प्रदेशमा ७५ जना, बाग्मती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा २३३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा १७६ जनामा औलो देखिएको छ ।

औलो रोग लागेमा १० देखि १५ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका भित्री अंग सुन्निने, जोर्नी दुख्ने, शरीरमा रगतको मात्रा कम हुने, थकित महसुस हुनेलगायत लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा औलोको शंका गरी रगत परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका अनुसार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४०० थरी लामखुट्टे पाइन्छन् । सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो रोग सर्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकमात्र विकल्प रहेको बताइएको छ ।

प्रतिक्रिया