मन खोलेर बोल्न थाले, तर नाम भने गोप्य राख्ने चाहना

मानसिक स्वास्थ्यप्रति चेतना बढ्नु सकारात्मक कुरा हो । तर मानिसहरूले आफ्नो पहिचान लुकाएर सेवा लिनु समाजमा अझै पनि डर, लाज र कलंकको असर कायम रहेको संकेत हो । यो समस्या केवल व्यक्तिगत होइन, सामाजिक संरचना, मूल्य र बुझाइको विषय हो । हामीले अब बोल्नैपर्छ, मानसिक स्वास्थ्य उपचार लिनु कमजोरी होइन, साहस हो ।

मीना बुढाथोकी

एक समय थियो, जब मानिसहरूले मानसिक स्वास्थ्यको कुरा गर्न पनि डराउँथे । अहिले समाजमा मानसिक स्वास्थ्यप्रति चेतना क्रमशः बढ्दो छ । स्थानीय स्वास्थ्यचौकी, अस्पताल र निजी संस्थाहरूमा मानसिक स्वास्थ्य सेवा तथा मनोपरामर्श लिने व्यक्तिहरूको संख्या बढेको देखिन्छ । तर यथार्थ अझै सतहभन्दा तल छ । सेवा लिनेहरू बढ्दै छन्, तर तीमध्ये धेरैले आफ्नो पहिचान लुकाउन आग्रह गर्छन् ।

धेरै सेवाग्राहीहरूले आफ्नो पहिचान गोप्य राख्न चाहन्छन् किन ? मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कलंक, भेदभाव र व्यक्तिगत जीवनमा पर्ने असरले गर्दा आफूहरू खुलस्त हुन डराउँछन् । यसले मानसिक स्वास्थ्य सेवाको प्रभावकारिता र पहुँचमा चुनौती उत्पन्न गरेको छ । सल्यान जिल्लामा विगत ६ वर्षको अवस्था विश्लेषण गर्ने हो भने करिब ६ हजार, ७९८ जनाले नसर्ने रोगअन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएको स्वास्थ्य सेवा कार्यालय सल्यानको रिपोर्टिग्ङ सिस्टममा उल्लेख छ । जसअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३३ जना, २०७७/०७८ मा १ हजार ३० जना, २०७८/०७९ मा ७३० जना, २०७९/०८० मा १ हजार १९ जना, गत आर्थिक वर्ष र २०८०/०८१ मा १ हजार ८४० जना र २०८१/०८२ मा १ हजार १३७ जनाले सेवा लिएको देखिन्छ । यहाँका १० वटै स्थानीय तहको तथ्यांक हेर्ने हो भने विगत ६ वर्षमा सबैभन्दा बढी शारदा नगरपालिकाबाट ४ हजार १३ जनाले मानसिक स्वास्थ्य सेवा लिएको तथ्यांकमा देखिन्छ । जसमध्ये ३ हजार ८२१ जनाले स्वास्थ्य सेवा कार्यालय सल्यानबाट सेवा लिएका हुन् । सबैभन्दा कम त्रिवेणी गाउँपालिकाबाट १६ जनाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

बागचौर नगरपालिकाबाट १ हजार १३६ जना, बनगाड कुपिण्डे नगरपालिकाबाट ६८८, छत्रेश्वरी गाउँपालिकाबाट ४०९जना, कालिमाटी गाउँपालिकाबाट ७३ जना, कपुरकोट गाउँपालिका बाट ४६ जना, शिद्धकुमाख गाउँपालिकाबाट २५५ जनाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएका छन् । कुमाख गाउँपालिकाबाट ४७ जना र दार्मा गाउँपालिकाबाट ११८ जनाले सेवा लिएको देखिन्छ । यो त सरकारी स्वास्थ्य संस्थाहरूबाट सेवा लिएकाहरूको तथ्यांक मात्रै हो निजी संस्थानबाट सेवा लिएकाहरूको विवरण त रिपोर्टिङ सिस्टममा अपडेट नै गरिएको छैन । कुनै निश्चत समयमा मानसिक रोग विशेषज्ञ आउँछन्, सेवाग्राही सो समयमा स्वास्थ्य संस्था पुग्छन्, सेवा लिन्छन् र फर्किन्छन् । निजी संस्थामा जाँदा बाहिरबाट आउने डाक्टरले आफूलाई नचिन्ने भएकाले खुलेर समस्या बताउँछन्, सेवा लिन्छन् र फर्कन्छन् ।

नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको समस्या अझै ‘लाजको’ विषय ठानिन्छ । ‘पागल, बहुला भनेर मान्छेलाई छुट्टै नजरले हेर्ने समाजमा खुलस्त बोल्न गाह्रो हुन्छ । धेरैले वैवाहिक सम्बन्ध, पारिवारिक सम्बन्ध, जागिर वा सामाजिक प्रतिष्ठा गुम्ने डरका कारणले समस्या लुकाउँछन् । म आफैँ पनि एक मनोसामाजिक परामर्शकर्ता भएका कारण मैले मरो सेवाग्राहीलाइ सुरुमै भन्ने गरेको छु, ‘गोपनीयता कायम गर्नु मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने आधारभूत सिद्धान्त हो । हामी सेवाग्राहीलाई सुरक्षित वातावरण दिन्छौँ ।’ यदि उनीहरूलाई महसुस हुन्छ कि मेरो कुरा गोप्य रहन्छ, तब मात्र उनीहरू खुल्न तयार हुन्छन् ।

सामान्य मानिसभित्र धेरै भावना हुन्छन्, जस्तैः खुसी, दुःखी, रिस, डर, शोक आश्चर्य, लाज आदि । तर कोही मान्छे सधैँ खुसी देखिन्छ भने उसलाई मानसिक रूपमा पूर्ण स्वस्थ भन्न सकिँदैन । सधैँ दुःखी देखिने मान्छेलाई पनि अस्वस्थ भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भनेको व्यक्तिको सुस्वास्थ्यको अवस्था हो, जसमा व्यक्तिले आफूसँग भएको क्षमताको पहिचान गर्न सक्छ, जीवनमा आइपर्ने तनावको व्यवस्थापन गर्न सक्छ, उत्पादनशील क्रियाकलापमा संलग्न हुन सक्दछ र आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न सक्छ ।

मानसिक स्वास्थ्यप्रतिको गलत बुझाइले गर्दा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरूले समुदायका अन्य व्यक्तिहरूको अगाडि सहजै भन्न लाज र डरको अवस्था छ । अहिले पनि समुदाय स्तरमा मानसिक स्वास्थ्य समस्या अनुभवबाट विभिन्न अवहेलना, विभेद, लाञ्छना खेप्नु परिरहेको छ । नेपालको संविधानले कुनै पनि नागरिकलाई कुनै रङ, वर्ण, जात, अवस्था आदिको आधारमा विभेद गर्न नपाइने व्यवस्था गरेको छ । यद्यपि, यसको कार्यान्वयन गरेको देखिँदैन । त्यसैगरी सबै नागरिकले स्वास्थ्य उपचार सेवा पाउने व्यवस्थालाई संविधानले मौलिक हकका रूपमा राखेको छ । तैपनि मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरू सरकारको पर्याप्त लगानी अभावमा उपचारबाट वञ्चित हुनुपरेको अवस्था छ ।

नागरिक समानता, सम्मान र आधारभूत स्वास्थ्य उपचार सेवाजस्ता आधारभूत मानवअधिकार उल्लंघनका घटनाहरू समाजमा प्रत्यक्ष रूपमा देख्न सकिन्छ । यस्तो भइरहेको थाहा हुँदाहुँदै पनि सरकारी निकायबाट मानसिक स्वास्थ्य सवालमा गम्भीर भई पर्याप्त लगानी गरेको देखिँदैन । यद्यपि, कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको शारदा नगरपालिका, बनगाड कुपिण्डे, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले भने पछिल्लो समय आफ्नो प्राथमिकताको एजेन्डामा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको देखिन्छ । सल्यानमा मानसिक स्वास्थ्यको सवाललाई प्राथमिकता राख्नका लागि सिएमसी नेपालको प्रवद्र्धन परियोजनाको मुख्य भूमिका रहेको छ ।

मानसिक स्वास्थ्यप्रति चेतना बढ्नु सकारात्मक कुरा हो । तर मानिसहरूले आफ्नो पहिचान लुकाएर सेवा लिनु समाजमा अझै पनि डर, लाज र कलंकको असर कायम रहेको संकेत हो । यो समस्या केबल व्यक्तिगत होइन, सामाजिक संरचना, मूल्य र बुझाइको विषय हो । हामीले अब बोल्नैपर्छ, मानसिक स्वास्थ्य उपचार लिनु कमजोरी होइन, साहस हो । र यो तब मात्रै सम्भव हुन्छ, जब समाजले लाज होइन, समानुभूति देखाउँछ ।

(बुढाथोकी मनोसामाजिक परामर्शकर्ता हुन् ।)

प्रतिक्रिया