दार्चुला । दार्चुलाको उत्तरी सिमानास्थित टिंकर गाउँका बासिन्दा ६ महिनापछि गाउँ फर्किएका छन् । गत मंसिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनः गाउँ फर्किएका हुन् । ‘६ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, वैशाखको अन्तिम साता गाउँ फर्किएका स्थानीय जसपाल टिंकरी भन्छन्, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।’ ६ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँ पुगेपछि चहलपहल बढेको छ ।
टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । त्यसैले उनीहरू भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका हुन् । वडा–१ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकी भन्छन्, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।
सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ गर्दा समयमै बाटो बन्न सकेन । गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।
यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘कहिलेकाहीँ आफ्नै सरकारप्रति हीनताबोध हुन्छ ।’ २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । ‘भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस ग¥यौँ’, जसमल बुढाथोकी भन्छन्, ‘तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदै छ । सडक सपना त अझै धेरै टाढाको छ ।’
चुच्चे नक्सा जारी भएपछि एकपटक सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । नागरिकमा एक प्रकारको खुसी छायो । तर विस्तारै ती सबै सपनाजस्तै लाग्न थालेको स्थानीय दानसिंह टिंकरीको बुझाइ छ । त्यो बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाँडै पुग्ने स्थानीयवासीको विश्वास थियो ।
यहाँका बासिन्दा वर्षको आधा समय खलंगामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइँसराइ हो । ३ हजार ३०० मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलंगातिर सर्छन् ।
चिसो मौसम भएका कारण ६ महिना गाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले भने, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ ।’
स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी संकलन हो । यहाँ फापर, उवा, कागनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौँरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँ फर्केर स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।
चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।
परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउरजस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृंखला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् ।
छैन आधारभूत सेवा
गाउँमा स्वास्थ्यचौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि उपचारका लागि भारतीय सुरक्षाकर्मी गुहार्नुुपर्छ या आफैँले खलंगाबाट बोकेर ल्याएको औषधि प्रयोग गर्नुपर्छ ।
‘सामान्य टाउको दुख्दा औषधि हुँदैन, बुढाथोकी भन्छन्, ‘बुढाबुढी बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।’ धेरैले सिटामोल लगायतका औषधि खलंगाबाटै आफूसँगै बोकेर लाने गर्छन् ।
व्यास–१ को छांगरूमा स्वास्थ्यचौकी छ । तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न ५ घण्टाभन्दा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । बिरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाइ र रोजगारीको सिलसिलामा युवा जति बाहिर हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । ‘पहिले त कोही बिरामी हुँदा ४–५ दिनपछि खबर पाउने अवस्था थियो’, बुढाथोकी भन्छन्, ‘गतवर्षदेखि ल्यान्डलाइन र नेपाल टेलिकमको टुजी फोन सञ्चालन भएपछि सहज भएको छ ।’
चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । वडासचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा ३–४ वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । ‘समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन’, उनले बताए ।
पञ्चायतकालमा नेपाली बाटो, अहिले विदेशको भर
पञ्चायतकालमा टिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ । व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी भन्छन्, ‘व्यास गाउँपालिका–१ को छांगरू टिंकर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमनकारी निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन ।’ तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र २०७४ सालमा स्थानीय सरकार बनेपछि गाउँपालिकामार्फत थोरबहुत बजेट निकासा भएको थियो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड रुपैयाँ खर्च भयो । तर बाटोको अवस्था जस्ताको तस्तै छ ।
विगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाँध्ने क्रममा नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्द भएको वडाध्यक्ष योगेश बोहराले जानकारी दिए ।
नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छांगरू, बिओपी टिंकर तथा सीमाचौकी टिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।
प्रहरी पनि ६ महिना मात्रै
दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाईं अधिकतम ६ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीयजस्तै बसाईं सर्छन् । स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको ५० नम्बर गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताए । त्यसैगरी सशस्त्र प्रहरी बल ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपी अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको छ । उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बिओपी पुगेका हुन् ।
व्यासकै छांगरूमा गुल्म राखेर २ वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छांगरूमा भने वर्षभरि नै सशस्त्र र नेपाल प्रहरी बस्ने गर्छन् । नेपाल प्रहरी भने १–२ दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया