‘छुटेका सपनाहरु’ विमोचित

सुर्खेत । साहित्यकार देवकी तिमल्सिना ‘समीक्षा’ दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रह सार्वजनिक गरिएको छ । उक्त कृतिको विमोचन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले साहित्यले राजनीतिलाई सही बाटोमा हिँडाउन मद्दत गर्ने बताए ।

उनले भने, ‘साहित्य सिर्जना गर्नका लागि भावना हुनुपर्छ र त्यसलाई साहित्यमा परिणत गरिसकेपछि त्यसले समाज परिवर्तनको काम गर्नुपर्छ ।’ विश्वमा ठूल–ठूला परिवर्तन साहित्यको माध्यमबाट भएको बताउँदै उनले समाजको गोरेटोको रुपमा रहेको साहित्यका माध्यमबाट कर्णालीमा धेरै गर्न बाँकी रहेको जिकिर गरे ।

उनले कुनै समयमा बन्दुकसँग खेल्ने समीक्षा अहिले कलमसँग खेल्दै समाज परिवर्तनका लागि अगाडि बढिरहेकोमा समाजले समीक्षाबाट आशा राखेको प्रतिक्रिया दिए । मन्त्री रावलले भने, ‘प्रकाशित मुक्तक संग्रहले सिंगो राष्ट्रको भावना बोलेको छ ।’

विमोचित उक्त संग्रहमाथि टिप्पणी गर्दै वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले कृतिले समकालीन परिवेशलाई चित्रण गरेको बताए । उनले भने, ‘संग्रहले समाज, परिवेश, देश काल र परिस्थितिको यथार्थ बोलेको छ । साहित्यमा लाग्नेहरु धेरै हुन्छन् तर त्यसलाई निरन्तरता दिनेहरुको कमी छ । तर, समीक्षाले जुन निरन्तरता दिनुभएको छ सराहनीय छ ।’

यस्तै, विमोचन कार्यक्रमका अध्यक्ष एवं सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले अधुरा सपनालाई पूरा गर्ने जिम्मेवारी अहिलेका जनप्रतिनिधिदेखि सचेत वर्गको काँधमा आएको बताए । उनले भने, ‘भावनाबाट विचार आउँछ र विचारलाई व्यहारमा उतारेर साहित्यको सिर्जना हुने भएकोले त्यस्तो विचारले नै समाजलाई परिवर्तनको अग्रदिशामा समेट्छ ।’ उनले त्यसैले विचारहरु जोगाउनु पर्ने विचार व्यक्त गरे ।

मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् भने यसको प्रकाशन सुन्दर सुन्धरा स्मृति प्रतिष्ठान हुम्लाले गरेको हो । लेखक देवकीले विगतको जनयुद्धले मागेका मागहरु अझैँ पूरा हुन नसकेको बताइन् । उनले नेता र नेतृत्वले जनताका चाहना र भावना अनुसार कार्य गर्नुपर्ने बताउँदै भनिन्, ‘समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्नुपर्दछ ।’

कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले शब्द स्वागत गरेको कार्यक्रममा समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेश सचिवालयका सचिव जीवराज बुढाथोकी, उगुना शाही, रमा केसी, बलिराज रोकाया, पदमबहादुर खड्का, दुर्गा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया