रानीको कथा सार्वजनिक

काठमाडौं । हरेक मानिसको जीवन आफैंमा एउटा लामो कथा हो । हरेकसँग सुरुवातको कथा हुन्छ र अन्त्यको पनि कथाबाटै हुन्छ । हरेक मानिसले संघर्ष गर्दछ र त्यसका आफ्नै यायावरी कलेवर हुन्छन् । कतिका जितेका कथा हुन्छन् त कतिका हारे । कतिले लेख्छन् कापीमा र पानाहरु भर्छन् । कसैले लेख्छन् मनमा र यादहरु भर्छन् । हरेकका आफ्नै फरक फरक विशेषताहरु हुन्छन् ।

सबैका बाटाहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् । यसैबीच गायिका रानी शाक्यले जीवनको सत्यलाई बोध गराउने कथालाई गीतमार्फत प्रस्तुत गरेकी छन् । उनले भर्खरै ल्याएको गीतमार्फत मानिसका भिन्न कथा बताउने कोशिस गर्दै कथा–२’ सार्वजनिक गरेकी छन् ।

गायिका रानीको आवाज रहेको यस गीतमा अरुण तिवारीको शब्द रहेको छ । गीतमा जीवित जल्मीले संगीत भरेका छन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफिसिएल युट्युब च्यानल रानी शाक्यमार्फत सार्वजनिक गरिएको छ । गीतको लिरिकल भिडियो गायिका शाक्यका श्रीमान राजेश शाक्यले बनाएका हुन् । यसअघि गायक कमल खत्रीसँग ‘कथा’ बोलको युगल गीत ल्याइसकेकी उनले यस पटक ‘कथा–२’ बाट मानिसका कथालाई सांगीतिक धुनमा उधिनेकी छन् । अमेरिकामा बस्दै आएकी शाक्य निरन्तर संगीत क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया