‘सिकाइ र सहयोग’ बजारमा

काठमाडौं । कोरोना कहरले नेपालको पुस्तकको व्यापारमा नराम्ररी प्रभावित पारेको छ । विभिन्न पब्लिकेसनले कोरोना संक्रमणका लगाइएको बन्दाबन्दीका कारण यसअघि छापिएका पुस्तक बजारमा ल्याएका छन् । यसैबीच सांग्रीला बुक्सले बन्दाबन्दीअघि छापिएका पुस्तक बिस्तारै बजारमा ल्याउन लागेको छ ।

बालबालिकासँग सम्बन्धितसहति खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शिक्षासम्बन्धी पुस्तक, जीवनप्रसाद राईद्वारा लिखित ‘समृद्धिका आधार’ र यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ बजारमा आएका छन् । सांग्रीलाका सञ्चालक मणि शर्माले बन्दाबन्दीअघि १० बालबालिकासम्बन्धी छापिएका पुस्तकसहित १३ पुस्तक तयार भएको तर बजार पठाउन नसकेको सुनाए ।

उनले भने, ‘बजारमा पठाउनुअघि नै लकडाउन सुरु भएकाले बजार पठाउनै सकिन । अब ती पुस्तक विस्तारै बजारमा पठाउने तयारी गरिरहेका छौं ।’ बरालले लेखेको ‘सिकाइ र सहयोग’ पुस्तकमा सिकाइका प्रारूप– सुनाइ, बोलाइ, पढाइ र लेखाइका बारेमा चर्चा गरिएको छ । यस पुस्तकले सिकाइ क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग गर्ने प्रकाशकले जनाएको छ ।

लेखक बरालले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धी सैद्धान्तिक र व्यवहारिक समस्या र चुनौतीका बारेमा पुस्तकमा चर्चा गरेका छन् । त्यस्तै उनले काम गर्नेक्रममा आफूले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणबारे पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकका बारेमा लेखक बरालले सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरु कमै समेटिएकाले ती विषयलाई पुस्तकमा चर्चा गरेको बताए । उनले भने, ‘शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरु समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रिया सम्बद्ध विषय ’सिकाइ र सहयोग’ पुस्तकमा उल्लेख गरेको छु ।’

नेपाल सरकारको सचिव रहेका बरालको यसअघि प्रकाशित पुस्तक ‘सिकाउने शैली’ पनि सांग्रिलाले निकालेको थियो । साथै उनका यसअघि करिब एक दर्जन पुस्तक प्रकाशित छन् । ‘सिकाइ र सहयोग’ पुस्तकको मूल्य तीन सय पन्चानब्बे रुपैयाँ छ । सांग्रीलाले बन्दाबन्दीका कारण बजारमा लैजान नपाएका पुस्तक क्रमैसँग हुने उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया