लुकीछिपीको प्रिक्वेल

काठमाडौं । कोरोना भाइरसका कारण नेपाली मनोरञ्जन उद्योग नराम्ररी प्रभावित भएको छ । कोरोना संत्रासका कारण सिनेमा हल बन्द छन् । प्रदर्शनको तयारीमा रहेका कतिपय चलचित्र त्यसै थन्किएका छन् । त्यस्तै, चलचित्रका छायांकन र प्रदर्शन दुवै ठप्प छन् । यसले नेपाली चलचित्र उद्योग नराम्ररी प्रभावित भएको भन्दै सरकारले राहत दिनुपर्ने आवाज उठेको छ ।

बन्दाबन्दीले म्युजिक भिडियो निर्माण भने रोकिएको छैन । लकडउनकै बेला थुप्रै गायक गायिकाले म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन् । यसबीच केही दिनअघि ‘के माया लाग्छ र’ बोलको गीत सार्वजनिक भएको छ । यसलाई प्रस्तुतकर्ता आर्टमान्डुले अघिल्लो पटक सार्वजनिक गीत ‘लुकी–छिपी’ को प्रिक्वेल भनिएको छ ।

नवीन चौहानले निर्देशन गरेको सो भिडियोमा प्रिक्वेल बनाएका हुन् । उनले यस्तो बनाउने चलन नभए पनि आफूले नयाँ अभ्यास गरेको बताए । ग्रामीण परिवेश र जीवनशैलीको झल्को दिने उक्त भिडियोमा अभिनेता मुकुन भुषाल र सुरविना कार्कीलाई फिचर्ड गरिएको छ । माया–पिरतीको यो गीत रोमान्टिक शैलीको छ । इलाम र पाँचथरको ग्रामीण भेगमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

हर्क साउदले लेखेको उक्त गीतमा अंकितबाबु अधिकारीको संगीत रहेको छ । संगीत संयोजन कुशल सिंहले गरेका हुन् । गीतमा गायक निशान भट्टराई र एलिन चौहानले गीतमा स्वर दिएका छन् । गीतको भिडियो आर्टमान्डु स्टुडियोले निर्माण गरेको हो । यसअघि सार्वजनिक गीत ‘लुकीछिप किन मायामा’ गीतले गत वर्षको इमेज अवार्डस्मा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’ र ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’ को अवार्ड हात पारेको थियो ।

प्रतिक्रिया