सोसाइटीद्वारा बोर्ड अध्यक्षलाई बधाई

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाई नेपाल फिल्म सोसाइटीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन नवनियुक्त अध्यक्ष दाहालले काम गर्ने आशा राखेको भन्दै सोसाइटीले जनाएको छ । गत जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रकर्मी दयाराम दाहाललाई बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

सोसाइटीका अध्यक्ष तथा अभिनेता कृष्ण मल्लले नवनियुक्त अध्यक्ष दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको विकास विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमीसहित उपलव्धि गर्नुपर्ने कुरामा जोड दिए । उनले कोभिड–१९ का कारण लगाइएको बन्दाबन्दीले थला परेको चलचित्र उद्योगलाई चलायमान बनाउन, चलचित्रकर्मीलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाई पुनःसञ्चालन गर्न सुझाव दिए ।

उनले भने, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदूतावासको सहयोगमा चलचित्रदुत नियुक्त गर्नुपर्दछ । यसो हुन सकेमा मात्रै नेपाली चलचित्र क्षेत्रको दायरा फराकिलो र प्रवद्र्धनमा महत्वपूर्ण सघाउँ पुग्दछ ।’  सो अवसरमा नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हितविपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लामो समयदेखि आफू पनि चलचित्र उद्योगमा काम गरेको अनुभवले सम्पूर्ण चलचित्रकर्मीको दुःख पीडा बुझेको बताउँदै आफ्नो कार्यकालमा यस क्षेत्रको उत्थानमा लागि गर्नुपर्ने काममा सक्रिय हुने जिकिर गरे ।

उनले भने, ‘अहिलेको विषम परिस्थितिमा सम्भावना र त्यसको कार्यान्वयनका जटिलताका बारेमा अध्ययन गरी चलचित्रसँग सम्बन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उद्योगलाइ नयाँ उचाइमा पु¥याउनु पर्दछ ।’ त्यस्तै, कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, चलचित्रकर्मी अशोक शर्मा, उज्जल घिमिरे, निर्माता मदुकुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा लगायतले अध्यक्ष दाहालको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया