चितुवाको बिगबिगी

तनहुँमा दुई वर्षयता नौजना बालबालिका चितुवाको सिकार बनेका छन् । भानु, बन्दीपुर र शुक्लागण्डकी गाउँपालिकामा गरी नौजना केटाकेटीको चितुवाको आक्रमणबाट ज्यान गएको हो । भानु नगरपालिका–३ दोरदोरफाँटमा ०७४ साल फागुनमा ७ वर्षका विशाल श्रेष्ठको चितुवाले ज्यान लियो । ०७५ कात्तिकमा भानु–४ की ७ वर्षीया रञ्जिता लम्साल, मंसिरमा भानु–२ का ८ वर्षीय अमृत गुरुङले ज्यान गुमाए भने यो वर्ष जेठमा भानु–२ कै ८ वर्षीया पुष्पा अधिकारी, असोजमा भानु–१ का ३ वर्षीय आशिष बानियाँ र कात्तिकमा भानु–२ का ७ वर्षीय ऋतिका रोक्काको ज्यान गयो । ०७६ पुसमा शुक्लागण्डकी–३ रातमाटाका २ वर्षीय रविन नेपाली र आबुखैरेनी–१ रानागाउँका ७ वर्षीय पुजन सिँजाली र माघमा बन्दीपुर–४ लोहिपाखाका ९ वर्षीय आशिष सुनारको चितुवाका आक्रमणबाट ज्यान गएको थियो । तनहुँसागै सीमा जोडिएको पोखराको काठेखोलामा गत साता ७ वर्षीया पुजा परियारले पनि चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी छिन् । चितुवाको आक्रमणमा परेर घाइते हुनेहरूको संख्या पनि उल्लेख्य छ । दुई वर्षको यो अवधिमा त्यस क्षेत्रका प्राय घरपालुवा कुकुरहरू चितुवाले बााकी राखेको छैन । करिब ३ सयको हाराहारीमा घरपालुवा जनावर चितुवाको सिकार भएका छन् । धेरै नै सताउन थालेपछि स्थानीय जनताले पाँच वटा चितुवा मारिदिएका छन् । स्थनयले धमाधम चितुवा मार्न थालेपछि जिल्ला वन कार्यालयको प्रयासमा ७ वटा चितुवा नियन्त्रणमा लिई स्थानान्तरण गरिएको छ ।

संरक्षण गर्नुपर्ने सूचीमा राखिएको वन्य जन्तु चितुवा मान्छेको रगत मासु खान पल्कनु भनेको खतरनाक संकेत हो । पहाडमा चितुवाको संख्या ह्वात्तै बढ्नुको मुख्य कारण जंगली क्षेत्रको विस्तार हो । सामुदायिक वनको अवधारणा सुरु भएसागै जंगलको संरक्षण गर्नुपर्छ भन्ने चेतना जनस्तरमा बढेको छ । बसाइँसराइ तथा वैदेसिक रोजगारीका कारण पहाडी वस्तीका पाखोबारीहरू जंगलमा परिणत भएका छन् । बिजुली तथा खाना पकाउने ग्याँसको प्रयोगका कारण दाउराका लागि जंगल प्रयोग हुन निकै कम भएको छ । घर पालुवा जनावर जंगलमा चराउन लैजाने प्रचलन घटेका कारण वन क्षेत्र बढेको छ । एकातिर वनक्षेत्र विस्तार हुँदै गाउा नजिकै आइपुग्नु र अकौतिर चितुवाको बिगबिगी बढ्नु भनेको खतराको संकेत हो । आफ्ना छोराछोरी नै असुरक्षित हुन थालेपछि अब विकल्प हुनेहरू गाउँ छाडेर अन्यत्रै बसाँइ सर्छन् भने विकल्प नहुनेहरूले जंगलमा डँडेलो लगाउन सुरु गर्नेछन् । गण्डकी प्रदेशमा यो अवस्था देखिइसकेको छ । वाग्लुङको जैमनी गाउँपालिकाले त आफ्ना घरवरीपरीका रुखहरू तत्काल फडानी गर्न जनतालाई निर्देशन दिइसकेको छ ।

बुढापाकाहरू भन्ने गर्थे–‘जब चितुवा मानिसको रगत तथा मासुको स्वादमा पल्कन्छ तब गाउँका केटाकेटी जोगाउन गारो हुन्छ ।’ यो अवस्था तनहुँमा उत्पन्न भएको छ । यो अत्यान्त संवेदनशील समस्या हो । चितुवा मारेर, नियन्त्रणमा लिएर वा जंगल फँडानी गरेर यो समस्या समाधान गर्न खोज्नु दूरदर्शीता होइन । वातावरण सन्तुलनका लागि पनि जंगल तथा जंगली जनावरको संरक्षण आवश्यक छ । तर, मानिसको जिउज्यान भन्दा जंगली जनावरको संरक्षण महत्वपूर्ण होइन । मानिसको पनि संरक्षण होस्, जंगल तथा जंगली जनावर पनि नमासिउन भन्नेतर्फ मुलुकका नीति निर्माता तथा जनप्रतिनिधिहरूको ध्यान जानु जरुरी छ । जंगली जनावरको आक्रमणबाट जोगिने उपायका बारेमा जनचेतना फैलाउनुपर्छ । रातिको समयमा घर बाहिर सकेसम्म ननिस्कने र निस्कनै परे के कस्तो उपाय अवलम्बन गर्ने ? भन्ने शिक्षा प्रत्येक स्कुलमा पुगेर दिनुपर्छ ।

प्रतिक्रिया