इटहरीमा फिल्म एकेडेमी

सुनसरी । कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन गरिएको छ । कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्वमा चलचित्र विषय अध्ययन गर्न चाहनेका लागि नयाँ अवसर खुलेको वक्ताले बताए ।

कलाकार आचार्यले पूर्वमा चलचित्र अध्ययन गर्ने संस्था खेलेपछि नयाँ कलाकारका लागि अवसरसँगै सम्भावनाका ढोका खेलेको जिकिर गरे । उनले मोफसलमा फिल्म अध्ययनको पहुँच पु¥याउन एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

फिल्म विषय अध्ययन गर्न चाहनेका लागि कान्तिपुर फिल्म एकेडेमीले पहिलो शाखा इटहरीमा सञ्चालन गरेको एकेडेमीका सिइओ प्रकाश पुरीले बताए । साहित्यकार मनु मञ्जिलले एकेडेमीले पूर्वको शान बढाएको बताउँदै चलचित्र विधाको औपचारिक अध्ययन गर्ने अवसर पूर्वका कलाकारले पाएको धारणा राखे । प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहालले एकेडेमीले राम्रो वातावरणमा चलचित्रको अध्ययन गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडाध्यक्ष दीपक गौतमले एकेडेमीले दक्ष कलाकर्मी जन्माउनेमा आशा व्यक्त गरे । उक्त एकेडेमीका अध्यक्ष छविराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

एकेडेमीले पहिलो चरणमा फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफीको एक महिने कक्षा ४ फागुनबाट सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया