विवादमा दीपिका

मुम्बई । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण वेलावेलामा विवादमा तानिने गरेकी छन् । मंगलबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय पुगेर नकाबधारी समूहको आक्रमणमा घाइते भएका विद्यार्थीप्रति सहानुभूति प्रकट गर्दै केही समय घाइते विद्यार्थीका बीच बिताइन् ।

अभिनेत्री दीपिका विश्वविद्यालय परिसर पुगेपछि प्रशंसा र विवादको घेरामा परेकी छन् । उनी अभिनीत चलचित्र ‘छपाक’ को १० जनवरीमा रिलिज हुन लागेको वेला यस चलचित्रलाई लिएर सामाजिक सञ्जाल ट्वीटरमा ‘बहिस्कार गरौँ’ भनेर विवादमा पारिएको छ । यो सामाजिक सञ्जाल ट्वीटरमा ट्रेन्डिङमा समेत परेको थियो ।

यसै विषयमा अधिकांश ट्वीटर प्रयोगकर्ताले अभिनेत्री दीपिकालाई सर्मथन पनि जनाएका छन् । एसिडपीडित युवतीको जीवनीमा आधारित चलचित्र ‘छपाक’ बाटै उनले चलचित्र निर्माणमा हात हालेकी छन् । यो चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेकी छन् ।

अहिले ‘छपाक’ को शीर्ष गीत ट्रेन्डिङमा परेको छ । अरिजीत सिंहको स्वर रहेको यस गीतमा दीपिका अर्थात् मालतीको पूरै यात्रालाई प्रस्तुत गरिएको छ । उनी ‘छपाक’ को प्रचार प्रसारका क्रममा जेएनयुको विद्यार्थी आन्दोलनलाई साथ दिन पुगेकी हुन् ।

अभिनेत्री दीपिका वेलावेलामा विवादमा परिरहन्छिन् । दुई वर्षअघि चलचित्र ‘पद्मावत्’ रिलिजका वेला पनि उनी विवादमा तानिएकी थिइन् । बलिउडमा सन् २०१८ मा सबैभन्दा बढी विवादमा परेको चलचित्र ‘पद्मावत्’ को निर्देशन भने सञ्जय लीला भन्सालीले गरेका थिए ।

यो चलचित्र निर्माण समयदेखि नै विवादमा परेको थियो । विवादका कारण यस चलचित्रको नाम ‘पद्मावती’ बाट ‘पद्मावत्’ राखिएको थियो । यसको विवाद यतिसम्म भयो कि अभिनेत्री दीपिकाको नाक काट्नेसम्मको धम्की आयो । यो चलचित्रलाई भारतका कैयौँ राज्यमा प्रदर्शन गर्नै दिइएन ।

बलिउडकी चर्चित अभिनेत्री दीपिकाको समर्थन र विवादमा भीड जम्मा हुने गरेको छ । ५ जनवरी १९८६ मा जन्मिएकी उनी प्रख्यात ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् ।

उनले आफ्नो बाबुको पदचाप पछ्याउँदै केही समय ब्याडमिन्टनमा समेत सक्रिय भइन् । उनले राज्यस्तरको ब्याडमिन्टन प्रतियोगितामा भाग पनि लिएकी थिइन् । अभिनेत्री दीपिकाकी एक बहिनी पनि छन् । उनी व्यावसायिक गल्फर हुन् ।

उनले अन्तर्राष्ट्रियस्तरमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन् । दीपिकाभन्दा पाँच वर्ष कान्छी अनिशा बलिउडमा आउन त्यत्ति चाहना राख्दिनन् । सोफिया हाइस्कुलबाट आफ्नो पढाइ सुरू गरेकी दीपिकाले स्नातक भने माउन्ट कार्मेल कलेजबाट पूरा गरेकी थिइन् ।

मोडलिङमा सौखिन उनी सुरूमा यही पेसामा सोख पूरा गर्न लागेकी थिइन् । केही विज्ञापनमा काम गरेकी उनलाई सन् २००६ मा चलचित्रमा काम गर्ने प्रस्ताव आएको थियो । कन्नड चलचित्र ‘ऐश्वर्या’ मा उनले काम गरिन् जुन निकै चर्चित भयो ।

सन् २००७ मा फराह खानको नजरमा दीपिका परिन् । फराहले अभिनेता साहरूख खानको अपोजिटमा दीपिकालाई लिएर ‘ओम शान्ति ओम’ बनाइन् । शाहरूखसँग उनको केमेस्ट्री मिलेपछि दीपिकाले पछाडि फर्केर हेर्नु परेन । यो चलचित्र हिट भएपछि उनको बलिउडमा चर्चा सुरू भयो । त्यसलगत्तै उनको बलिउड अभिनेता रणवीर कपुरसँगको प्रेम पनि सार्वजनिक भयो ।

उनले आफ्नो गर्धनमा रणवीरको ट्याटुसमेत खोपिन् जुन विषय निकै चर्चित भयो । केही समयपछि रणवीर र दीपिकाबीच खटपट सुरू भयो एक अर्काबाट टाढा भए । यो प्रेमसम्बन्ध टुटेपछि दीपिका डिप्रेसनमा परिन् । डिप्रेसनबाट बच्न उनले खुलेर यसबारेका छलफल थालिन् । यसै मेसोमा उनले विश्व मानसिक स्वास्थ्य दिवसका दिन एक भिडियो सार्वजनिक गरिन् । जसमा उनले डिप्रेसनको समस्यालाई गम्भीरतापूर्वक लिन सल्लाह पनि दिइन् । उनले सन् २०१४ मा पनि आफू डिप्रेसनको सिकार भएको दाबी गरिन् ।

दीपिकाले सन् २०१८ नोभेम्बरमा अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । यो जोडी बलिउडमा पछिल्लो समय निकै जमिरहेको छ । कबीर खानको निर्देशनमा बन्न लागेको चलचित्र ‘८३’ मा रणवीर सिंह क्रिकेटर कपिल देवको भूमिकामा देखिँदैछन् । उक्त चलचित्रमा दीपिका कपिलकी पत्नी रोमीको भूमिकामा देखिँदै छिन् ।

प्रतिक्रिया