सौका भाषामा काली नदीको नाम कुटीयाङ्दी

विगतदेखि अहिलेसम्म नक्सांकन गर्न जाँदा नेपाली अधिकारीले देखाएको लाचारीपन र निरीहपनको फाइदा भारतले उठाउँदै आएको छ । मालपोत तिरेको रसिद, जनगणनाका अभिलेखलगायतका सवुत प्रमाण हुँदाहुँदै पनि रातारात हजारौं हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठकले सीमा विवाद सुल्झाउने भनियो, तर एउटा पनि बैठक बसेन 

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नेपालकै रहेको उल्लेख गरिएको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भू–भागमा पर्ने स्पष्ट सँग उल्लेख गरिएको छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ ।

सन् १९६२ को भारत–चीन युद्धपछि भारतले काली नदीछेऊमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ । सुगौली सन्धीमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । राजपत्रमा भनिएको छ– ‘काली नदीको उद्गम स्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो ।’ भारतले सन् १८५६ पछिका नक्सामा काली नदीलाई सारेर लिपुखोलालाई काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि सरकार, वामपन्थी तथा कांग्रेसी विद्यार्थी संगठन तथा नेपाली जनताले चर्को विरोध गरे । सबै राजनीतिक दल र वौद्धिक वर्गसमेतले भारतसँग कूटनीतिक पहल गरेर आफ्नो भूमि फिर्ता लिन साथ दिने सहमति गरे । त्यस्तो प्रतिबद्धता सर्वपक्षीय बैठकमा व्यक्त पनि भयो । तर, अहिले नेपाली कांग्रेस र नेकपाबीच कालापानीको विषयमा दन्तबझान देखिएको छ ।

भारतले कालापानीमा अनधिकृत सैनिक पोष्ट राखेर नेपालको भूमि अतिक्रमण गरेको विषयमा सबै नेपाली जानकार छन् । तर, दुई दलका नेताहरूको दन्तबझानले गर्दा भारतलाई फाइदा पुग्ने नेपालले हार्ने कुरामा किन विवाद ? सन् १९६२ देखि भारतले अतिक्रमण गरेको कालापानीको नेपाली भू–भाग फिर्ता ल्याउन नसक्नुमा राजनीतिक दलका शीर्ष नेतादेखि कार्यकर्ता–नेता के जिम्मेवार छैनन् ? अहिले उठेको अहंप्रश्न हो, यो ।

वर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत देशको बागडोर चलाउने कुनै पनि दलका नेतालाई कालापानी नदुखेकै कारण भारतले अहिले ३९५ वर्ग किलोमिटर नेपाली भू–भाग अतिक्रमण गरेको छ । विगतमा यी नेता र तिनका सरकारले कालापानी फिर्ता गराउन के यत्न–प्रयत्न गरे ? नेपाली जनताको कार्यादेश के यिनले पालना गरेका छन् ? देश हाँकिसकेका अधिकांश नेतालाई आज किन भारतपरस्तको आरोप पटक–पटक लाग्दैछ र जनताले यिनका नियतमाथि प्रश्न उठाएका छन् ? पूर्व–पश्चिमदेखि देशको करिब ६२ हजार हेक्टर क्षेत्र भारतले अतिक्रमण गरेको तथ्यांक सार्वजनिक भएका छन् ।

विगतदेखि अहिलेसम्म नक्सांकन गर्न जाँदा नेपाली अधिकारीले देखाएको लाचारीपन र निरीहपनको फाइदा भारतले उठाउँदै आएको छ । मालपोत तिरेको रसिद, जनगणनाका अभिलेखलगायतका सवुत प्रमाण हुँदाहुँदै पनि रातारात हजारौं हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठकले सीमा विवाद सुल्झाउने भनियो, तर एउटा पनि बैठक बसेन । आफूलाई कूटनीतिविज्ञ भन्ने व्युरोक्रेटहरू समेत भारतीय आश र त्रासमा परेको र यसरी नेतादेखि परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नापी विभागका सरकारी अधिकारीहरूको समेत नालायकीपन प्रष्टै देखिएको छ ।

सीमा अभियन्ता श्याम श्रेष्ठले सिंहदरबारमा पत्रकार सम्मलेन नै गरेर तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भू–भाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्न सरकारलाई सुझाउँदै भने– ‘सन् १८१६ को सुुगौली सन्धिभन्दा २ महिनाअघिको नक्सा र सन्धिलगत्तैको नक्सा म सँग छ । सन् १८२७ र १८५६ को नक्सामा लिम्पियाधुरासम्म समेटेको नेपालको नक्सा म सँग छ ।

तत्कालीन इष्टइण्डिया कम्पनीका सर्भेयर जनरल अफ इण्डियाले जारी गरेका ४ र अरुले जारी गरेका ५ वटा नक्सा बेलायतबाट ल्याइएको छ । बेलायतको पुस्तकालयबाट ९ वटा नक्सा तथा ऐतिहासिक तथ्य ल्याएका थियौं । सबै नक्सामा लिम्पियाधुरासम्मको भूमि नेपाली भएको स्पष्ट छ । इष्टइण्डिया कम्पनीका कामु मुख्य सचिव जेएमस एडम्सले नेपालस्थित रेजिडेन्स (राजदूत) लाई चिठी लेखेर सुगौली सन्धिअघि व्यास गोर्खा भारतीय भूमि नेपाललाई छोडिदिनु, अब त्यहाँका बासिन्दाले नेपालमै तिरो तिर्नु भनेका छन् ।

२०१५ सालको निर्वाचनमा त्यहाँका बासिन्दाले नेपालमै भोट हालेका थिए । भारत–चीन युद्धअघिसम्म त्यतै भोटिङ गरेका थिए । यो क्षेत्रमा २०१८ सालसम्मको जनगणना नेपालबाटै भएको छ । भारतीय गजेट भर्खरै भेटिएको छ । चिठी, जनगणना, तिरोतिरन, निर्वाचन सहभागी अकाट्य प्रमाण हुन् ।’

नेपालीलाई हेपेर बोल्नुले के भुल्नु हुँदैन भने भारतको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि जीवनको आहुती दिने नेपालीले आफ्नो स्वतन्त्रता र सावभौमसत्ता संकटमा पर्दा टुलुटुलु हेरेर बस्लान् ? कुनै कालखण्डमा भारतमा उपनिवेश कायम रहँदा नेपालले आफूलाई कसैको अधिनमा रहन स्वीकार गरेन । यो इतिहासलाई भारतको संस्थापन पक्षले बुझ्दा राम्रो हुन्छ । समस्याको समाधानको उपयुक्त विकल्प कूटनीतिक वार्ता र छलफलको टेबुल नै हो ।

अहिले कालापानीमा एकले अर्कोलाई दोष लगाउनुको साटो साझा दृष्टिकोण बनाएर भारतीय अतिक्रमणको प्रतिरोध गर्नु नेताहरूको धर्म, दायित्व र कर्तव्य हो । अहिलेको विषम परिस्थितिमा सबै दल र जनता एक भएर भारतीय हस्तक्षेप र अतिक्रमणको प्रतिरोध गर्नुपर्छ । भारतीय पक्षले आफ्नो कमजोरीलाई स्वीकार गरी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि तथा सुस्ता समस्या समाधानमा परराष्ट्र सचिव, मन्त्री वा प्रधानमन्त्रीस्तरीय कूटनीतिक वार्ता गरी समस्यालाई समाधान गर्नु नै अहिलेको काम, कर्तव्य र अधिकार हो भन्ने मान्नै पर्दछ ।

भारतद्धारा अतिक्रमित ठाउँ र क्षेत्रफल ( वर्गकिलोमिटरमा)
कालापानी क्षेत्र– ३८५, चिवा भनन्ज्याङ । काब्रु – ४१ । तिम्बुकपोखरी– ४ । कावेली लामेखोला उद्गम– ८ । काब्र डाँडो पूर्वपाटो– ६ । तुम्लिङ वस्ती– २.२ । परासन प्याराताल– ९.८० । सखडा भगवती क्षेत्र दक्षिण– १४ । ब्रह्मदेवमण्ड दक्षिण पश्चिम– ०.१५ । टनकपुर व्यारेज पूर्वी जलशाय– २.२ । शारादा व्यारेजको सट्टा नपाएको– ०.१५ । वनबास गड्डाचौकी– ०.०३० । शुक्लाफाँटको विभिन्न ठाँउमा– ३.३१ । भुडगाउँ पुइचमा– ०.१४ । फुटिया गाउँमा– ०.०३ । सुहेली नाला काँगडी ताल– ०.२ । फूलबारी गाउँको दक्षिण– ०.५ । कौवाखेडा क्षेत्र– २.२ । कुसुमघाट क्षेत्र– ०.३९ ।

राजापुर वस्ती दक्षिण– ०.१० । नकुवा नाला क्षेत्र– ०.१० । खैरीगाउँ गरुवा नदी किनार– ०.०४ । गुलरिया चौगुर्जी–०.७ । होलिया क्षेत्र– ०.४२ । नारायणपुर केरावारिया नाला– ०.०९ । कृष्णनगर बजार– ०.०१ । मचबारको अजमा– ०.५० । बेलिहा नाका– ०.५ । सुस्ता क्षेत्र– १४५ । बाल्मिकी आश्रम– १.७० । दारामाला मण्डी चुरे– ०.४ । ठोरी नयाँ वस्ती– ०.७० । लक्ष्मीपुर पिरा– १.३५ । दशौता गाउँ पश्चिम– ०.७ । मितेरी पुल प्रोटोला– ०.५ । भन्सार पूर्व अहिर टोल– ०.१० । इनरवा चमार टोल– ०.६ । दक्षिण झिटकैयाँ– ०.३० । जमुना गाँउ दक्षिण– ०.१५ । झिमनदी त्रिभुवन वस्ती– ०.०४। संग्रमपुर– ०.०८ ।

संसिबजार पश्चिम– ०.०५ । सिसवा कटैया– ०.०९ । माडर झरवा टोल– ०.०७ । ठाँडी गाउँ सडक– ०.०७ । सुर्वर्णपट्टी– ०.४० । बर्दाही गाउँ क्षेत्र– ०.१४ । गोविन्दपुर– ०.२३ । कुनौलीको ऐलानी जग्गा– ०.२९ । विष्णुपुर शिवनगर– ०.८ । भान्टाबारी कटैया– ०.१५ । शिवजंग पकरिया– ०.८ । साहेवगंज– ०.२० । बुधनगर– ०.७ । बौका चोप्राहा– ०.१३ ।सोनापुर दोरिया– ०.१५ । कोराबारी– ०.४१ । पाठामारी– ०.१० । महेशपुर डोल गाउँ– ०.१० । भद्रपुर विद्यालय पूर्वपट्टी– ०.२७ । कालीबजार क्षेत्र– ०.१ । भान्साखोला– ०.४१ । नकलबन्दा– ०.१५ । बाहुडाँडी– ०.२० । गुफापाताल छबिसे– ०.९ । फाटक पुलखोला हिले– ०.१५ । मानेभनज्याङ्ग– ०.४ । सन्दकपुर थुम्को– ०.५४ । आहालगैरी– ०.१४ ।

प्रतिक्रिया