खुल्ला ठाउँमा दिसापिसाब गर्ने नागरिकमध्ये आधा मधेस प्रदेशमै

मधेश ब्युरो । देशमा शौचालयविहीन नागरिकमध्ये करिब आधा मधेस प्रदेशमै रहेको पाइएको छ । देशमा खुल्ला ठाउँमा दिसापिसाब गर्ने सम्पूर्ण नागरिकमध्ये करिब आधा मधेस प्रदेशमै भएको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ मा मधेस प्रदेशमा शौचालय सुविधा नभएको घरधुरी मधेस प्रदेशमा १ लाख ३९ हजार २१० देखिएको छ । देशभरमा शौचालय सुविधीविहीन घरधुरी ३ लाख १ हजार ४९० रहेको देखिएको छ ।

मधेस प्रदेशका १२ प्रतिशत नागरिकमा शौचालय सुविधा रहेको देखिएको छ । मधेस प्रदेशको ११ लाख ५६ हजार ३८३ घरधुरीमध्ये १ लाख ३९ हजार २१० घरधुरीका मानिस खुल्ला क्षेत्रमा नै दिशापिसाब गर्दछन् ।

मधेस प्रदेशमा सबैभन्दा बढी धनुषा जिल्लामा शौचालय नभएको घरधुरी रहेको पाइएको छ । मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा २६ हजार ८३३ घरधुरीको पहुँचमा शौचालय सुविधा नभएको तथ्यांकमा देखिएको छ ।
यसैगरी महोत्तरीमा २१ हजार २४८, सप्तरीमा १८ हजार १९, रौतहटमा १८ हजार ५४७, पर्सामा १७ हजार ६२०, सर्लाहीमा १४ हजार ९९९, सिराहामा १३ हजार ६४८ तथा बारामा ११ हजार ९६७ घरधुरीको पहुँचमा शौचालय नरहेको तथ्यांकमा देखिएको छ ।

देशमा सबैभन्दा कम साक्षरता रहेको मधेस प्रदेशमा सबैभन्दा बढी शौचालय नभएको घरधुरी धनुषा र सबैभन्दा कम घरधुरी बारामा रहेको पाइएको छ । देशकै सबैभन्दा कम साक्षरता रौतहट र महोत्तरीमा रहेका छन् ।

सरकारले शौचालय बनाउन विभिन्न अभियानहरू सञ्चालन गरेको भए पनि खासै प्रभावकारी भएको पाइएको छैन । सन् २०१९ मा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिएको भए पनि अझै लाखौँ मानिस घरबाहिर दिसापिसाब गर्न बाध्य छन् । देशलाई खुल्ला दिसामुक्त घोषणा गरिएको आधा दशक बितेपछि खुल्ला ठाउँमा दिसापिसाब गर्नेको संख्या एउटै प्रदेशमा लाखौँमा हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बुद्धिजीवीको भनाइ छ ।

शौचालय विहीनलाई शौचालय बनाउन र शौचालयमै दिसापिसाब गर्ने बानी बसाल्न संघ, प्रदेश र स्थानीय सरकार मिलेर संयुक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बुद्धिजीवीहरू बताउँछन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया