आगोले विपन्न समुदायको सिंगो बस्ती खरानी

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा १२ वैशाखमा लागेको आगलागीमा परी एउटा बस्ती नै खरानी भएको छ ।

मटिहानी नगरपालिका–६ जरलहवागाछी भगवती टोलमा दिउँसो १२ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो । आगोले विपन्न समुदायको सिंगो गाउँ नै खरानी बनाएको छ ।

दिउँसो १२ बजेबाट सुरु भएको आगो साँझ ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । मुस्लिम बस्तीको मियाटोलमा रहेको परालको कुन्यूँमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ता टोलका घर पूर्ण रूपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको बारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले जानकारी दिए ।

आगो नियन्त्र गर्नका लागि ३ सय बढी सुरक्षाकर्मी, स्काइभेटरलगायत गाउँलेको सहयोगमा ७ घण्टा लागेको थियो । धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेको विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका कारण पनि आगो छिट्टै बस्तीमा फैलिएको र नियान्त्र लिन समस्या भएको थियो ।

मेयर हरिप्रसाद मण्डलले आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताए । उनका अनुसार आगलागीमा परेर ५ वटा बाख्रा २ वटा सुँगुर मरेको छ । आगलागीका कारण जनसंख्याको हिसाबले ५७० जना प्रभावित भएका छन् । आगलागीबाट ९४ घरमा पूर्ण क्षति भयो छ भने, ९ घरमा आंशिक क्षति भएको बिवरण मेयोर मण्डलले दिएका छ्न ।

आगलागीमा परी स्थानीको १ करोड ६२ लाख ८५ हजार बराबरको धनजनको क्षति हुनका साथै नगद १० लाख नष्ट भएको छ ।

यस बारेमा वैशाख १३ गते आकस्मिक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको जिल्ला प्रशासन महोत्तरीले जानकारी दिएको छ । बैठकमा यस विपद्को समयमा सबै सरोकारवाला निकाय तथा विभिन्न संघ संस्थाले आ–आफ्नो तर्फबाट सहयोग गर्नका लागि समन्वय गर्ने निर्णय गरिएको छ ।

मटियानी अग्निपीडितका लागि गरिने सहयोग राहत एकद्वार प्रणालीअन्तर्गत गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यति ठूलो आगलागी भएर जनताको क्षति हुँदा पनि केन्द्रबाट अहिलेसम्म सम्पर्क र सहयोग नपाएकोप्रति मेयर मण्डले दुःख व्यक्त गरेका छन् ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया