‘सालको पात टपरी’ लाई चार अवार्ड

काठमाडौं । विन्ध्यवासिनी संगीत अवार्डको १०औँ संस्करणमा लोक दोहोरीतर्फ गीत ‘सालको पात टपरी’ ले चार अवार्ड पाएको छ । जसमा वसन्त थापाले उत्कृष्ट भाका, कुलेन्द्र विकले उत्कृष्ट लोक दोहोरी गायक, नवराज पन्तले लोक दोहोरी उत्कृष्ट रचना र शिव विक उत्कृष्ट लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका हुन् ।

त्यसैगरी, शिव हमालको ‘लालु माया’ उत्कृष्ट लोक दोहोरी गीत घोषित भएको छ । गायिका सुनिता दुलालले ‘मुखैमा चिनी’ बाट लोक दोहोरी गायिकाको अवार्ड जित्न सफल भइन् । लोक दोहोरी नवप्रतिभा अवार्ड सुस्मिता घर्तीमगरले पाउन सफल भइन् । चलचित्र संगीततर्फ ‘प्रसाद’ को ‘वनकी चरी’ गीतबाट सुवास भुसाल, यही गीतबाट गायक रूपक डोटेल र चलचित्र गायिकाको अवार्ड ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ का लागि गायिका बिन्दु परियारले हात पारिन् ।

यस्तै, सुगम संगीततर्फ उत्कृष्ट गायकको अवार्ड सुमनकुमार श्रेष्ठ, गायिकाको अवार्ड बानिका प्रधान, संगीतकारको अवार्ड आशिष अविरल र उत्कृष्ट एल्बमको अवार्ड ‘तिम्रो साथ’ बाट आनन्दराज खनाललाई प्रदान गरियो । पपतर्फ संगीतकारको अवार्ड ‘किन किन’ गीतबाट राजेश थापा, गायकको अवार्ड ‘यो मान्छे’ बाट सचिन रौनियार र गायिकाको अवार्ड ‘के पो भन्लान्’ बाट छेनु गुरुङले पाए ।

त्यस्तै, दर्शकको मतका आधारमा पपुलरतर्फको अवार्ड ‘पान खायो मायाले’ गीतबाट मोडल शंकर बिसी र अञ्जली अधिकारीलाई, पब्लिक च्वाइस अवार्ड ‘ए प्रिया‘ बाट मोडल राजन आले र अनु शाहले पाउन सफल भए । पत्रकारितामा तीन दशकभन्दा बढी समय योगदान दिएको भन्दै पत्रकार राजेश खनाललाई २५ हजार रुपैयाँसहितको ‘विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार–०७६’ बाट पुरस्कृत गरियो ।

उक्त कार्यक्रममा अग्रज लोकगायक कुमार बस्नेतलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफ टाइभ एचिभमेन्ट अवार्ड–०७६’ बाट सम्मान गरिएको छ । उनलाई राजधानीमा एक लाख रुपैयाँसहित ताम्रपत्र प्रदान गरेर सम्मानित गरियो । सो अवसरमा दर्शकको अनुरोधमा गायक कुमार बस्नेतले ‘तरुनी देख्दा नि लोभ लाग्छ’ लगायतका चर्चित गीत गाएर दर्शक झुमाएका थिए ।

पाँच दशकदेखि भन्दा बढी समय नेपाली संगीत क्षेत्रमा सक्रिय रही काम गरेकाले कारण उनलाई सम्मान गरिएको आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जनाइन् । कार्यक्रममा तीन दर्जन विधामा विभिन्न संगीतकर्मीलाई ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६’ प्रदान गरिएको थियो ।

प्रतिक्रिया