कविडाँडामा स्रष्टा

चितवन । नेपाली कथामा योगदान दिएका विभिन्न स्रष्टा सम्मानित भएका छन् । सौराहामा कविडाँडा साहित्य समाज चितवनले १७ औँ वार्षिकोत्सवको सन्दर्भ पारेर ‘कविडाँडा विशिष्ट सम्मान’ बाट कथाकार उषा शेरचन, भागिरथी श्रेष्ठ तथा नारायण ढकाललाई सम्मान गरेको हो । सो अवसरमा कथाका विविध पक्षमाथि विमर्शसमेत गरिएको समाजले जनाएको छ । त्यस्तै, कथाकार महेश थापालाई उनको कथाकृति ‘मरीचिका’ का लागि उत्कृष्ट आख्यान पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ ।

यसै वर्ष स्थापना गरी पहिलोपल्ट प्रदान गरिएको यो पुरस्कारको राशि २५ हजार एक सय ६० रहेको छ । यसैगरी अविनाशी उत्कृष्ट पुस्तक पुरस्कारबाट आख्यानकार भूपिनलाई पुरस्कृत गरियो । नगद १० हजार एक सय ६० सहितको सो पुरस्कार उनको उपन्यास ‘मैदारो’ का लागि प्रदान गरिएको हो । स्थानीय साहित्यकार इन्द्र रेग्मीलाई ‘देवखिना स्मृति पुरस्कार’ बाट सम्मान गरियो । नगद ११ हजार एक सय ६० सहित सम्मानित गरियो ।

समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिता २०७६ को नतिजा पनि यसै अवसरमा घोषणा गरियो । यसमा कथाकार पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो घोषित भए । यिनमा क्रमशः १० हजार एक सय ६०, सात हजार पाँच सय ६० र पाँच हजार ६० नगद राशि रहेको थियो ।

समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरी प्रमुख अतिथि थिइन् । कार्यक्रमको उद्घाटन सत्रमा ‘आधुनिक कथाको वैश्विक परम्परा र नेपाली कथा’ विषयमा आफ्नो केन्द्रीय मन्तव्य राख्दै समालोचक महेश पौड्यालले कथा कुनै पनि समुदायको सुरक्षाकवच भएको बताए । उनले नेपाली कथाकारलाई परम्पराको अनुशरणमात्रै गर्नुभन्दा स्वरूप र कथ्य दुवैमा नयाँ प्रयोगमार्फत् नूतन पद्धतिको आविष्कार गर्दै लानुपर्ने सुझाव दिए ।

उनले भने, ‘कथाले समाजको प्रतिबिम्ब उतार्ने भएकाले यसको महत्व विशिष्ट रहन्छ । तैपनि प्रयोग शिल्पकारिताका दृष्टिले नेपाली कथामा नवीन प्रयोग पछिल्लो समय व्यापकरूपमा हुन थालेको छ ।’  साहित्यकार अश्विनी कोइरालाद्वारा सञ्चालित परिचर्चामा ‘नेपाली कथाः परम्पराको भार कि प्रयोगवादको सिकार’ विषयमा साहित्यकार भागिरथी श्रेष्ठ, नारायण ढकाल, जलेश्वरी श्रेष्ठ तथा नयनराज पाण्डेले आफ्ना अभिमत राखे । उनीहरूले कथाले परम्पराबाट धेरै कुरा अंगीकार गरे पनि आफूलाई सान्दर्भिक बनाइरहन नुतन प्रयोगहरू गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार माया ठकुरीले कथा लेख्नका लागि यसको सैद्धान्तिक जानकारी राख्नु वा धेरै अध्ययन गर्नु आवश्यक नरहेको बताइन् । आफ्नै कथाकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले आफूले देखेभोगेका अनुभव र अनुभूतिको कलात्मक प्रस्तुति मात्रैले पनि राम्रो कथा सिर्जना गर्न सकिने अभिमत व्यक्त गरिन् ।

कार्यक्रमका सभापति एलबी क्षेत्रीले कविडाँडाले आगामी सालको वार्षिकोत्सवमा कविता प्रतियोगिता, काव्य विमर्श र काव्य सम्मानसहित वार्षिकोत्सवको आयोजना गरिने घोषणा गरे । उनले साहित्यमार्फत सर्जकले देश र समाजका लागि महत्वपूर्ण योगदान दिएको चर्चा गरे । गणेश श्रमण तथा सुमन घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार उषा शेरचन, भूवनहरि सिग्देल, उदय अधिकारी, केदार खनाल, इन्द्र रेग्मी, महेश थापा, भूपिन, पुण्य खरेल र सुरेन्द्र अस्तफलले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया