‘आरआरआर’ मा हलिउड स्टार

मुम्बई । चलचित्र ‘बाहुबली’ बाट निकै चर्चा कमाउन सफल निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ मा बलिउड तथा हलिउड स्टारको अभिनय रहेको छ । निर्माणको घोषणादेखि नै चर्चा पाउन थालेको यो चलचित्रको अधिकांश छायांकन सकिईसकेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा बलिउड अभिनेता अजय देवगन, अभिनेत्री आलिया भट्टका साथमा दक्षिण भारतीय स्टार एनटिआर र राम चरण लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रायःजसो दक्षिण चलचित्र बनाउने निर्देशक राजमौलीको ‘आरआरआर’ लाई बहुप्रतिक्षित चलचित्र पनि भनिएको छ । यसपटक उनले आफ्ना चलचित्रमा बलिउडका साथै नाम चलेका हलिउडका कलाकारलाई पनि समावेश गरेका छन् । निर्माण टोलीका अनुसार मुख्य अभिनेत्रीकै भूमिकामा ब्रिटिस अभिनेत्री ओलिभिया मोरिस देखिने छन् । ओलिभिया चलचित्रमा एनटिआरका साथ देखिने छन् ।

यस चलचित्रमा ओलिभिया मात्र होइन, आयरल्यान्डकी अभिनेत्री एलिसन डुडी र रे स्टिभेन्सन पनि मुख्य भूमिकामा देखिदैँछन् । उनीहरू ‘भिलेन’ को भूमिकामा देखिनेछन् । एलिसनले ‘अ भ्यु टु किल’, ‘इन्डियाना जोन्स’ र ‘द लास्ट क्रुसेड’ जस्ता चलचित्रमा काम गरिसकेकी छन् । स्टिभेन्सन भने मार्भलको ‘थोर’ मा भोल्स ट्यागको भूमिकामा र ‘किङ अर्थर’ का साथै थुप्रै टिभी कार्यक्रममा देखिएका कलाकार हुन् । डिबिबी इन्टरटेनमेन्टमार्फत् निर्मित र एसएस राजामौलीद्वारा निर्देशित आरआरआर ३० जुलाई २०२० मा संसारभर एकै साथ प्रदर्शन गरिने जनाइएको छ । त्यस्तै, यो चलचित्र दस भारतीय भाषामा समेत रिलिज हुनेछ ।

प्रतिक्रिया