प्रोडक्सन डिजाइनमा व्यस्त यम

काठमाडौं । चलचित्र निर्माणमा प्रोडक्सन डिजाइनको ठूलो हात हुन्छ । चलचित्रको लोकेसन, जनशक्तिदेखि लिएर प्राविधिक विषयका सामग्री जुटाउने काममा प्रोडक्सन डिजाइनको भूमिका प्रमुख हुन्छ । त्यो काम गर्ने जिम्मेवारी प्रोडक्सन डिजाइनरले पाउँछन् ।

नेपाली चलचित्रमा झन्डै डेढ दशकदेखि सक्रिय प्रोडक्सन डिजाइनर यमप्रसाद ओली दर्जनाँै चलचित्रमा आफ्नो क्षमता देखाइसकेका छन् । उनले नेपालीदेखि बलिउड र हलिउडसम्मका चलचित्रको प्रोडक्सन डिजाइन गरेको सुनाए ।

उनले भने, ‘दशकअघिसम्म पनि फिल्ममा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन । जसले गर्दा छायांकनमा प्राविधिक समस्या हुन्थ्यो । जब प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थाले फिल्मलाई ठूलो राहत मिल्यो ।’ डिजाइनर ओलीले चलचित्रमा प्रोडक्सन डिजाइनरको भूमिका महत्वपूर्णमात्रै होइन यसले निर्माण पक्षलाई पनि काम गर्न सजिलो हुने बताए । उनी भन्छन्, ‘हामी छायांकनको डिजाइनिङ गर्न के कस्ता उपकरणहरू आवश्यक पर्छ, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुराको राम्ररी अध्ययन गरी त्यसको डिजाइन तयार पारेर काम गर्छौं ।’

ओली नेपालका निर्देशक तथा निर्माताको रोजाईमा पर्छन् नै नेपालमा छायांकन गर्न आउने विदेशी चलचित्रका निर्माता र निर्देशक पनि नेपाल आउँदा उनैलाई खोज्छन् । ओलीले ‘झापा आन्दोलन’, ‘सुखानी सहादत’, ‘टेक्वान्डोको कथा’ ‘रिलेसन’, ‘प्रोडुसर’, ‘स्कुल’, ‘होस्टेल’, ‘आभास’, ‘होस्टेल रिटर्नस’, ‘बिजुली मेसिन’, ‘जोनी जेन्टलम्यान’, थाहा अभियानका नायक रुपचन्द्र विष्टको कथामा बनेको ‘रुदाने’, ‘पुरानो बुलेट’ र ‘सानो मन’ लगायतका चलचित्रमा काम गरिसकेको जनाए ।

यसबाहेक उनले भोजपुरी चलचित्र ‘दिवाना २’, ‘मर्द रिक्सावाला’ र ‘निरहुवा चलल लन्डन’ लगायतमा पनि प्रोडक्सन डिजाइनरको काम गरिसकेका छन् । उनले बलिउड चलचित्र ‘यारा’, ‘ओन्नाइ’, लगायतमा समेत काम गरिसकेको सुनाए । उनीसँग हलिउड प्रोजेक्ट युकेको वेब सिरिज ‘फोरिजन बडिज’ र ‘आवर गर्ल’, युके कै इन्सुरेन्स कम्पनीको विज्ञापन एक्सामा काम गरेको अनुभव पनि छ । यसबाहेक उनले दर्जनौँ म्युजिक भिडियो तथा वृत्तचित्रमा पनि गरेका छन् ।

प्रतिक्रिया