सुखी नेपाली समृद्ध नेपालको नारा

वडाध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएपछि विगत आठ महिनादेखि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ नेतृत्वविहीन बनेको छ । डिभी परेपछि उनी गत चैत २७ गते सपरिवार अमेरिका गएका हुन् । चुनाव जितेका वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालयमा सर्वसाधारणको सेवा प्रभावित बनेको छ विकास निर्माणका काम पनि प्रभावित बनेका छन् । विभिन्न कारणबस रिक्त रहेका देशभरका करिब ४० वटा वडाहरूमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ, तर भीमफेदी गाउँपालिकाको यो वडामा भने उपनिर्वाचनसमेत नहुने भएको छ । अमेरिका भासिएका अध्यक्ष तामाङले राजीनामा नबुझाएका कारण कानुनीरूपमा पद रिक्त भएको छैन । मुलुकभरिको हिसाब गर्ने हो भने यस्ता उदाहरणहरू दर्जनैँ“ छन् । विदेशमा बसेकाहरू चुनाव लड्नका लागि स्वदेश आउने र चुनाव जितेपछि फेरि विदेश जाने गरेका घटना नयाँ छैनन् । आफ्नो पद थमौती गर्न वर्षको एकपटक नेपाल आउने गरेका एक वडाध्यक्षको विषयमा केही समय चर्चा भएको थियो । पर्वत जिल्लाका एक गाउँपालिका अध्यक्ष एनआर एनएको सम्मेलनमा भाग लिन जापानबाट प्रतिनिधि बनी नेपाल आएका थिए ।

स्थानीय तहका उल्लेख्य पदमा ठेकेदारहरूले चुनाव जितेको समाचार नयाँ होइन । गैर ठेकेदार नेताहरू पनि चुनाव जितेपछि निर्माण व्यवसायीको सेयर होल्डर बनेका र आफू सेयर होल्डर रहेको कम्पनीलाई नै ठेक्का पारेका उदाहरणहरू पनि धेरै छन् । चुनाव जितेका जनप्रतिनिधिहरूसमेत स्थायी बसोवासका लागि विदेश भासिएका उदाहरण भने थोरै छन् । गलत व्यक्ति जनप्रतिनिधि चुनिनु आफैँमा कहालीलाग्दो अवस्था हो, तर त्यो भन्दा पनि कहालीलाग्दो अवस्था भनेको जनप्रतिनिधि नै स्थायी बसोवासका लागि विदेश भासिनु हो । माथि उल्लेख गरिएको भीमफेदी गाउँपालिकाकै विश्लेषण गरौँ । वडाअध्यक्ष भनेको सानो पद होइन । विगतमा संरचना गरिएको गाउ“विकास समितिलाई नै अहिले वडा कायम गरिएको हो । त्यसैले वडाध्यक्ष भनेको धेरै ठूलो जिम्मेवारीको पद हो । मुलुकको नयाँ संविधानले स्थानीय तहलाई विगतमा सिँहदरबारले प्रयोग गरेका कतिपय अधिकार प्रदान गरेको छ । जनतासँग सधैँ प्रत्यक्ष जोडिन पाउने वडाध्यक्ष भनेको स्थानीय सरकारको मन्त्रीसमेत हो । तर, यो तहसम्म पुगेको व्यक्तिले आफ्नो देशमा भविष्य नदेखेर दोस्रो दर्जाको नागरिकको जिन्दगी बिताउन विदेश भासिने सपना देख्छ भने हामी नेपाली कहाँ छौं ? नेपाल ज्यादै धरापको अवस्थामा पुगेको रहेछ भन्ने ज्वालन्त उदाहरण हो यो ।

निर्वाचित जनप्रतिनिधिलेसमेत आफू तथा आफ्ना सन्ततिको भविष्य स्वदेशमा देखेनन् भने सर्वसाधरणको दशा के होला ? सरकार चलाउनेहरूको ठूलो असफलता हो यो । मुलुकका प्रमुख राजनीतिक दलहरूको योग्यता तथा क्षमतामाथिकै प्रश्न हो यो । पहिलो कुरा त जनप्रतिनिधिसमेत अडिन नसक्ने अवस्थामा मुलुकलाई पुर्याइसकिएको रहेछ, दोस्रो कुरा पूरा कार्यकाल समेत धैर्य गर्न नसक्ने पात्रलाई राजनीतिक दलको नेतृत्व तहले किन उम्मेदवार बनायो ? यसरी हचुवाको भरमा उमेदवार बनाउनु जनतामाथिको धोका हो कि होइन । विदेश भासिने जनप्रतिनिधिले मात्रै मलुकलाई धोका दिएका होइनन् उनलाई उम्मेदवार बनाउने दललेसमेत देश र जनतालाई धोका दिएको नजिर हो यो । त्यसमा पनि उनले जुन पार्टीकोतर्फबाट टिकट पाएर चुनाव जितेका थिए त्यो पार्टी नेकपाले करिब दुईतिहाइ बहुमतसहित सरकार सञ्चालन गरिरहेको छ । मुलुकका सात प्रदेशमध्ये प्रदेश २ बाहेक सबै प्रदेशमा त्यही पार्टीको दुईतिहाइ भन्दा बढी बहुमतका सरकार छ । यस्तो अवस्थामा समेत उनले मुलुकभित्र आफ्नो भविष्य देखेनन् ? कहा“ गयो प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको नारा ?

प्रतिक्रिया