छायांकनमा ‘प्रेम गीत–३’

काठमाडौं । सन्तोष सेन र छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गर्ने चलचित्र ‘प्रेम गीत–३’ को छायांकन सुरु भएको छ । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहने यो चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ को सिक्वेलका रूपमा निर्माण गरिएको हो ।

यो चलचित्रको काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्देशक सेनले जानकारी दिए । आगामी चैत २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीका साथ काम भइरहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र कीर्तिपुरमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटमा शुक्रबारबाट छायांकन सुरु गरिएको हो । त्यसैगरी मनाङको रमणीय स्थलमा छायांकनको गरिने निर्मातासमेत रहेका निर्देशक सेनले बताए ।

चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
पूर्ण प्रेमकथामा आधारित रहने यो चलचित्रको पटकथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको

संगीत रहने यस चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

चक्रबहादुर चन्द र डम्बरविक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् । छायांकन सुरु हुनु दुई दिन अघिमात्र यो चलचित्रको फस्टलुक्सको रूपमा मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया