मेरी सरिता

विनोद अधिकारी

प्रकृति ! तिमी त परिपक्व छ्यौ है व्यवहारमा । तिमीले भोगेरै पनि धेरै कुराहरू जानेकी छ्यौ त्यसैले उत्तरको अपेक्षा गर्दै यो प्रश्न तिमीलाई है त । तिम्रा सन्तानहरूमध्ये तिमीले असाध्यै माया गरी छातीभित्र लुकाएको तिम्रो सन्तान को हो ? यसको उत्तर दिन तिमीलाई पक्कै सजिलो छैन होला । किनकि तिमी त आफ्ना सबै सन्तानलाई उत्तिकै माया गछ्यौ र छाती मै टाँसेर राख्न चाहान्छ्यौ, हैन र ? तिमीलाई आफ्ना प्रत्येक सन्तानको बराबर माया लाग्दो हो । तर, तिमीले छातीमै राखेकी तिम्री छोरी छिन् नि ‘सरिता’ हो उनलाई तिमीले भन्दापनि मैले औधी मन पराउँछु । मन मात्रै पराएको हैन माया पनि उत्तिकै गर्छु नि । हुन त अभिभावकसँग सोझै यस्तो कुरा गर्नु अवश्य ठीक होइन तर के गर्ने नभनेर पनि म के गरूँ ? सत्य यही हो । सरितासँगको मेरो माया यति प्रगाढ र व्यापक भइसक्यो नि । सायद अब यो कुरा थाहा नपाउने यो जगत्मा मात्र तिमी हौ ।

सरिता, तिम्रो र मेरो हैसियत कहीँ कतै मिल्दैन तर मैले तिमीजस्तो औकात नै दाँज्न नमिल्नेसँग यति प्रगाढ सम्बन्ध राख्न खोज्नु मेरो मूर्खता सिवाय केही हुँदैन भन्ठानेकी छ्यौ होला । मेरो बाध्यता पनि त उस्तै छ नि । तिमीले दिने मायाको आभास म यो दुनियाँमा कहाँबाट पाउँ ? तिमी नै भन त । तिम्रो मायामा म यति धेरै डुबिसकेँ कि अब म तिमी बिना एक पल त बाँचूँला तर हरेक पलमा तिमी र तिम्रो आवश्यकता छ मलाई । तिमीले मलाई साथ दिइनौ भने अब म बाँच्दिनँ सरिता । त्यसैले हैसियतको कुरा आफ्नै ठाउँमा छ मलाई तिम्रो साथ प्रत्येक क्षणमा चाहिन्छ । मलाई तिम्रो साथ घरमा, चियापसलमा, अफिसमा ,बजारमा, होटलमा, अस्पतालमा, पूर्वमा अनि पश्चिममा जहाँ जहाँ म पुग्छु नि त्यहीँ त्यहीँ चाहिएको छ ।

मलाई तिमी मन परेको तिम्रो माया र साथले मात्र होइन तिम्रो सुन्दरता, क्षमता, उदारता अनि शुद्धताले पनि हो । वास्तवमा सभ्यताको मुहान हौ तिमी । पृथ्वीलोकमा सभ्यता बसालेर त्यसको पाठ पनि तिमीले नै हो सिकाएको । जीवित अस्तित्वलाई हरेक क्षणमा साथ दिने तिम्रो उदारता र परोपकारी व्यवहार बुझेर नै हो म पनि तिमीसँग नजिकिएको । तिम्रो परोपकार देख्दा त मलाई तिमी डाक्टर ,नर्स ,वैद्य ,धामी ,झाँक्री सबै हौ लाग्छ । तिम्रो महानता अमेजन, मिसिसिपी , ह्वाङहो ,गङ्गा , यमुना , हुँदै कोसी ,गण्डकी अनि कर्णालीमा प्रस्टिएको छ । तिमीलाई सभ्यताले ,शुद्धताले , इतिहासले चिनेकै हो । तिम्रो राष्ट्रियता र स्वाभिमान देखेर त म सबैभन्दा बढी प्रभावित भएको हुँ । अब त तिमी मुलुकको सबैभन्दा ठूलो सुरक्षाबल समेत बन्यौ है । पूर्व र पश्चिममा तिमीले आफू गढेर नबसीदिएकी भए आज हाम्रो हराउन लागेको राष्ट्रियता र स्वाभिमान कसले बचाइदिन्थ्यो होला र खै । तिम्रो क्षमता व्यवहारमा मात्र हो र हिजो समाचार हेरेको तिम्रो नाम (अमेजन)मा कम्पनी चलाउने जेफ बेजोस विश्वको एक नम्बरका धनाढ्य खर्ब पति रे । तिम्रो त नामै काफी छ । तिमीभित्रको क्षमताले विकासमा पनि उत्तिकै साथ दिएको छ । तिमीभित्रको क्षमताको परिणाम हेर्ने हो भने आज विश्वका अधिकांश सहर तथा गाउँ बस्ती विद्युतीय ऊर्जाका रूपमा झिलिमिली बनेका छन् । आज विश्वलाई चम्काउने तिम्रो सामथ्र्यको प्रशंसा नगर्दा तिमीप्रति अवश्य अन्याय हुने मेरो ठहर छ । सरिता तिम्रो क्षमता र स्वभावको बयान मैले बुझेजति नै सम्पूर्ण होइन यो त केवल सिन्धुमा हराएको बिन्दु मात्र हो ।

मलाई तिम्रो रिस अलि कडा र उत्ताउलो लाग्छ । तिमी रिसाउने कारण अरूको उक्साहट हो । तिमीलाई मैले पहिले नै पनि भनेकै हुँ तिमी ‘वर्षा’को सङ्गत नगर गरे पनि उसको लहैलहैमा लागेर उत्ताउलो चरित्र नदेखाऊ । तिमी नारी हौ, नारी सहनशील बनेको जाती हुन्छ । मैले त्यसो भनेर तिमीलाई अरूको नियन्त्रण वा हेपाइमा तिमी बस्नुपर्छ पनि त भनेको छैन नि हैन र ! तिमी आफूलाई धैर्य र शान्त पार्न सक्दिनौ । मलाई तिम्रो यो ठूलो कमजोरी हो झैँ लाग्छ तर हजारौँ गुन भित्रका यी सामान्य कमजोरी आज समाजले त बिर्सिन्छ भने प्रिया, तिमीमा भएका यस्ता स–साना कमजोरीलाई म किन माफी गर्दिनँ र ।


सरिता तिमीमा यति ठूलो सामथ्र्य र उदारता छ तर आज मलाई तिम्रो बिग्रदो रूप देखेर अझ दया लागेर आइरहेछ । तिमी यो दुनियाँको भलाइका लागि अहोरात्र तत्पर छ्यौ तर यो दुनियाँ किन तिम्रो रूप र गुणको ख्याल गर्दैन तिम्रो कुभलोले के तिनीहरूलाई के फाइदा छ हँ ? तिमी आफू किन केही बोल्दिनौ ? रिसमात्र देखाएर कसैलाई फाइदा हुन्न सरिता । आज दुनियाँ स्वार्थी बन्दै छ । पहिले तिमीले आफ्ना ठानेर किनारमा ल्याएर बस्ती बसायौ नि ! हो तिनै बस्तीवालहरू आज तिम्रो रिस गरिहेछन् र तिमीलाई कुरूप पारिरहेका छन् । के तिमी अब साँच्चै बाचाल नै भएकी हौ त ? हिजोका वागमती र विष्णुमती आज ढलमतीको अवस्थामा हुँदा आज तिमी सभ्यताकी पहिचान हौ भन्न अप्ठ्यारो भइसकेको छ । सरिता तिमीसँग त्यस्तो अद्भूत क्षमता छ जुन तिमी कुरूप भएर पनि समस्त सहरबासीलाई कुनै गाली नगरी कुरूप अवस्थामा आफ्नो धीमा गतिको यात्रा तय गर्दै चोभारबाट ओरालो लागेर जब तराईमा पुग्छौ तब तिमी आफ्नो असली रूपमा फर्किहाल्छ्यौ ।

मानिसका जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म साथ दिने तिम्रो सत्चरित्र ,सौन्दर्य , परोपकार, निश्चलता र उदारतालाई सलाम । तिम्रो महत्व र आवश्यकतालाई समस्त जीवित अस्तित्वले जुनी जुनीसम्म भुल्ने छैन । तिमी र तिम्रो परोपकारले सबैको अस्तित्व सुरक्षित पारेकी छ्यौ । तिनै अस्तित्वहरूबीचको मैले तिमीलाई भुल्न सकिनँ, सक्दिनँ र सक्नेछैन । अन्त्यमा
तिमी छ्यौ र पो बाँचेको छु,
म तिमी छ्यौ र पो हाँसेको छु म ।’

विनोद अधिकारी नामसालिङ् ५ इलाम – हालः मध्यपुर ठिमी ४ भक्तपुर

प्रतिक्रिया