चिनियाँ राष्ट्रपतिको केरुङ सपना

धेरैजसो ठाउँमा नेपाल र चीनबीचको सीमाना मुख्य हिमालले छुट्याएको छ, तर सबै ठाउँमा छुट्याएको छैन । खास गरी गणेश हिमालभन्दा पश्चिमतर्फ मुख्य हिमालभन्दा उत्तरतर्फ पनि नेपालको प्रशस्त भूभाग छ । गणेश हिमालभन्दा पूर्वतर्फको भेगमा मुख्य हिमालभन्दा दक्षिणतर्फ पनि चीनको प्रशस्त भूभाग छ । मुख्य हिमालभन्दा दक्षिणतर्फको भूभाग मानव बसोवास तथा खेतीपातीका लागि निकै उपयुक्त छ । हावापानी पनि निकै राम्रो छ । केरुङ पनि मुख्य हिमालभन्दा दक्षिणतर्फको फराकिलो उपत्याका हो ।

२ हजार मिटरदेखि २५ सय मिटरसम्मको उचाइमा रहेको केरुङ उपत्याकाको लम्बाइ करिब ३० किलोमिटर छ भने चौडाइ करिब सरदर १० किलोमिटर छ । बसोवासका लागि यति अनुकुल भूभाग केरुङ बाहेक तिब्बतमा अर्को छैन । त्यसैले छिमेकी मुलुक चीनले केरुङ उपत्याकालाई दक्षिण एसियाकै महत्वपूर्ण हवका रूपमा विकास गर्न खोजिरहेको देखिन्छ । केरुङ उपत्याकामा ५०–६० लाख जनसंख्याको सहर निर्माण गर्ने र दक्षिण एशियामा निर्यात हुने वस्तुहरु यहीँ उत्पादन गर्ने लक्ष्यका साथ चीनले केरुङसम्म सुविधासम्पन्न सडक तथा रेल मार्ग निर्माण गर्न लागेको हो ।

त्यो रेल तथा सडक मार्गलाई नेपालको राजधानी काठमाडौं हुँदै भारतसम्म जोड्ने लक्ष्यका साथ चीनअघि बढेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सीधै नेपाल नआएर भारतको बाटो हुँदै नेपाल आउनु पनि अर्थ पूर्ण छ । भावि दिनमा चीनले केरुङ उपत्यकाबाटै दक्षिण एसियाका देशको अनुगमन गर्ने रणनीति बनाएको हुनसक्छ ।

२ हजार मिटरदेखि २५ सय मिटरसम्मको उचाइमा रहेको केरुङ उपत्यकाको लम्बाइ करिब ३० किलोमिटर छ भने चौडाइ करिब सरदर १० किलोमिटर छ । बसोवासका लागि यति अनुकूल भूभाग केरुङबाहेक तिब्बतमा अर्को छैन । केरुङ उपत्यकामा ५०–६० लाख जनसंख्याको सहर निर्माण गर्ने र दक्षिण एसियामा निर्यात हुने वस्तुहरू यहीँ उत्पादन गर्ने लक्ष्यका साथ चीनले केरुङसम्म सुविधासम्पन्न सडक तथा रेल मार्ग निर्माण गर्न लागेको हो 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा विभिन्न २० वटा सम्झौता भए । जसमध्ये रसुवागढीबाट नुवाकोटको तादी उपत्यकासम्म र तादी उपत्याकाबाट काठमाडौंको टोखासम्म सुरुङ मार्ग निर्माण गर्ने सम्झौतालाई निकै ठूलो उपलब्धिका रूपमा हेरिएको छ । यी दुवै सुरुङ मार्ग चीन सरकारले अनुदानमा निर्माण गरिदिन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रि भोजमा बोल्दै भूपरिवेष्टित राष्ट्रको पिडाबाट नेपाललाई मुक्त गर्ने उद्घोष चिनियाँ राष्ट्रपति पिङले गरे । यसैको सेरोफेरोमा यी दुईवटा सुरुङ मार्ग निर्माण गर्ने कुरा २० बुँदे सम्झौतामा उल्लेख गरिएको हो ।

पर्याप्त गृहकार्य तथा छलफल विना चिनियाँ राष्ट्रपति पिङले यो उद्घोष अवश्य पनि गरेका होइनन् । झट्ट हेर्दा टोखा–छहरे सुरुङ मार्ग निर्माण खासै जटिल छैन । बढीमा ६ किलोमिटर लम्बाइको हो यो सुरुङ मार्ग । तर, रसुवागढीबाट तादी उपत्यका (छहरे नजिक)सम्म भने कम्तीमा २० किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । यी दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवस्थामा नेपाल–चीनको सिमाना रसुवागढीबाट राजधानी काठमाडौंको दूरी ४० किलोमिटर मात्रै हुनेछ । यो भनेको बढीमा एक घण्टाको बाटो हो । १ घण्टाको यात्रामा राजधानी काठमाडौंबाट छिमेकी मुलुक चीन पुग्न सकिने अवस्था सिर्जना हुनु भनेको नेपालका लागि धेरै नै ठूलो उपलब्धि हो ।

तर, भारतीय लवीका राजनीतिकर्मी, बुद्धिजीवि तथा विश्लेषकहरूले हिमाल पहाड छिचोलेर चीनबाट नेपालसम्म सहजरूपमा रेल वे तथा सडक निर्माण संभव नभएको तर्क राखिरहेका छन् । तर, यो मामिला नितान्त प्राविधिक हो । रसुवागढी करिब १८ सय मिटर उचाइमा पर्छ । तादी उपत्यका करिब ७ सय मिटर उचाइमा पर्छ । १८ सय मिटर उचाइबाट २० किलोमिटर दूरीमा ७ सय मिटर उचाइसम्म सुरुङ मार्ग निर्माण गर्दा सडक यातायातका लागि खासै उकालो ओरालो नपर्ला, तर रेल वे निर्माण सम्भव छ वा छैन ? भन्ने कुरा प्राविधिकहरूले मात्रै बताउन सक्छन् ।

यसैगरी, छहरे करिब ८ सय मिटर उचाइबाट टोखा करिब १३ सय मिटर उचाइसम्म ६ किलोमिटर दुरीको सुरुङ मार्गमा सडक यातायात संचालन हुन कुनै समस्या नभए पनि रेल यातायात सम्भव हुन्छ वा हुन्न ? प्राविधिकहरूले अध्ययन गर्ने विषय हो । यस सन्दर्भमा चिनियाँ प्राविधिकहरूले मोटामोटी अध्ययन गरिसकेका छन् । यही अध्ययनका आधारमा चिनियाँ राष्ट्रपति पिङले ढुक्कका साथ बोलेका हुनसक्छन् । उनले थप विश्वासका साथ बोलेका छन्–‘चीन जे भन्छ त्यो गर्छ ।’

काम फटाफट भयो भने रसुवागढीबाट काठमाडौंसम्म जोड्ने दुईवटा सुरुङ मार्गसहितको सडक अबको १० देखि १५ वर्ष भित्र सम्पन्न हुन सक्छ , तर सिगात्सेदेखि केरुङ सम्म भरपर्दो सडक तथा रेल मार्ग निर्माणका लागि भने धेरै नै जटिलताहरु छन् । करिब ५ सय किलोमिटरमध्ये २ सय किलोमिटर क्षेत्र ४ हजार मिटर भन्दा माथि उचाइ भएको भूखण्ड पर्छ । जुन भूखण्ड वर्षको ६ महिना हिउँले ढाकिन्छ ।

हिउँले ढाकिएको भूखण्डमा न रेल मार्ग सन्चालन सम्भव हुन्छ न त सडक मार्ग सम्चालन सम्भव हुन्छ । तर, चिनियाँ राष्ट्रपति सिले बोलिसकेका छन् कि–‘ नेपाललाई भूपरिवेष्टित राष्ट्रको पीडाबाट मुक्त गरिनेछ ।’ त्यसैले ब्रह्मपुत्र उपत्यकादेखि केरुङसम्म सुरुङ मार्ग निर्माण गर्नुको विकल्प छैन । यसको दूरी कम्तिमा ६० किलोमिटर हुने प्राविधिकहरूको अनुमान छ । ६० किलोमिटर सुरुङ मार्ग निर्माण गर्नु चीनका लागि ठूलो कुरा होइन । यदी ब्रह्मपुत्र नदीको उपत्याकादेखि केरुङसम्म सुरुङ मार्ग निर्माण हुने हो र त्यो सुरुङ मार्गमा सडक तथा रेल वे सञ्चालन गर्ने हो भने २१औँ शताब्दीको ठूलो उवलब्धि हुने कुरामा दुई मत छैन ।

ब्रह्मपुत्र नदीको उपत्यकाबाट ६० किलोमिटर दुरीमा केरुङ र केरुङबाट ६० किलोमिटर दुरीमा नेपालको राजधानी काठमाडौंसम्म सडक तथा रेल यातायात संचालन हुनु भनेको एसियाकै लागि ठूलो उपलव्धि हुन्छ । यो अवस्थामा छिमेकी मुलुक भारतले समेत प्रचुर फाइदा लिन सक्छ । युरोपेली राष्ट्रले समेत फाइदा लिन सक्छन् । नेपालको सन्दर्भमा त कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र उत्तरी गोर्खाबाट राजधानी काठमाडाैं आवत जावत तथा समान ढुवानीका लागि यो सडक मज्जाले प्रयोग गर्न सकिन्छ ।

अहिले पनि केरुङ हुदै चीनको बाटो हिल्सा पुग्न ७ सय २६ किलोमिटर मात्रै सडक दुरी छ । यही सडक मार्फत हुम्ला, मुगु र डोल्पामा राजधानी काठमाडौंबाट सामान ढुवानी सुरु गरिसकिएको छ । नेपालले आफ्नो आन्तरिक प्रयोजनका लागि समेत तिब्बतका सडक प्रयोग गर्न सक्ने सम्झौता केही महिनाअघि चीनसँग भइसकेको छ । यही सम्झौता अनुसार नै केही महिनाअघि राजधानी काठमाडौंबाट तिब्बतका सडक हुँदै हुम्लामा खाद्यान्न पुर्याइएको थियो ।

छिमेकी मुलुक चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । सबै भन्दा ठूलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकालाई अबको १० वर्षभित्र उछिन्ने रणनीतिका साथ चीन अघि बढेको छ । १५औँ र १६औँ शताब्दीमा पनि चीनले विश्वको कुल अर्थतन्त्रमध्ये करिब एक तिहाइ हिस्सा ओगटेको थियो । अब फेरी त्यही दिशामा चीन अघि बढेको छ । यतिवेला विश्वको कुल अर्थतन्त्रमा चीनको हिस्सा करिब २० प्रतिशत पुगिसकेको छ ।

जबकि देङ सियाओ पिङले सत्ता सम्हाल्दै गर्दा अर्थात् सन् १९७८ मा १ दशमलव ८ प्रतिशत मात्रै थियो । चीनलाई शक्तिशाली बनाउने नेताहरूमा माओत्से तुङ, देङ सिआओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङको नाम आउँछ । सी जिनपिङ देशको अर्थतन्त्रलाई अझ प्रभावशाली बनाउन उत्पादनको क्षेत्रमा चीनलाई ‘महाशक्ति’ बनाउन चाहन्छन् । एकातिर सिमाना जोडिएको, अर्कातिर महाशक्ति राष्ट्रसमेतका नाताले चीन सँग सुमधुर सम्बन्ध विस्तार गर्नु नेपालको हितमा छ । आर्थिक समृद्धि तथा विकासको अभियानमा आफू मात्रै अघि बढ्नुभन्दा छिमेकी तथा अरू मुलुकलाई पनि सँगसँगै अघि बढाउनु उपयुक्त हुने विचार नै सी विचार हो ।

प्रतिक्रिया