रोपाइँ जात्रा देखाइयो

पाँचथर । लोपोन्मुख रोपाइँ जात्रा संरक्षण गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको छ । रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै जान थालेपछि संस्कृति संरक्षणको गर्ने भन्दै फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको हो । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको वडाध्यक्ष गोपाल गुरुङले जनाउँदै अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको बताए ।

रानीटार माविका विद्यार्थीले प्रदर्शन गरेको उक्त रोपाइँ जात्रामा १० वटा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका पहिरन लगाएर रोपार, बाउसे, हलीले रोपाइँ गरेका थिए । विसं २०३८ भदौ ४ गतेबाट गर्न थालिएको रोपाइँ जात्रा ०५४ सालदेखि देशमा चर्किएको द्वन्द्वका कारण केही समय यो जात्रा गर्न नसकिएको रानीटार माविका शिक्षक सूर्य अधिकारीले बताए । द्वन्द्व सकिएपछि पुनः २०६४ सालदेखि रोपाइँ जात्रालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

इतिहासमा सीमित हुन लागेको बेठी लगाएर गरिने रोपाइँ लोप हुन लागेपछि नयाँ पुस्ताले पनि सिकून् भनेर उक्त रोपाइँ जात्रा देखाइएको रानीटार माविका प्रधानाध्यापक भक्त राईले बताए । विसं २०३८ देखि तत्कालीन मुवा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मोत्सवको अवसरमा बालदिवस मनाइँदा भदौ ४ गते रोपाइँ जात्रा गर्न थालिएको स्थानीय बताउँछन् । गणतन्त्र स्थापनापछि मिति सारेर भदौ २९ गते बालदिवसको दिन रोपाइँ जात्रा निकालिएको रोपाइँ जात्रा व्यवस्थापन समितिका सचिव रुपेन तामाङ बताए ।

रोपाइँ जात्रा उद्घाटन कार्यक्रममा फिदिम नगर प्रमुख ओनाहाङ नेम्वाङले लोप हुन लागेको बेठी लगाएर गरिने रोपाइँ संरक्षणको निम्ति महत्वपूर्ण कार्य भएको बताए ।

प्रतिक्रिया