चिनियाँ चलचित्र महोत्सव हुने

काठमाडौं । चिनियाँ संस्कृतिलाई चिनाउने लक्ष्यका साथ चलचित्र महोत्सव हुने भएको छ । नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा ३१ भदौदेखि २ असोजसम्म राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव २०७६’ हुन लागेको हो । महोत्सवमा चिनियाँ चलचित्र ग्रुप कर्पोरेसनको समेत सहभागिता रहने जनाइएको छ ।

चीनको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यका साथ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवमा ६ चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेर महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा चर्चित निर्देशक वंगकार वाई निर्देशित ‘द ग्रान्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’ र हाइ चोङ निर्देशित ‘रनिङ लाइक विन्ड’ प्रदर्शन हुनेछन् ।

महोत्सवभर प्रत्येक दिन दुईवटा चलचित्र देखाइने र प्रवेश निःशुल्क रहेको संयोजक रिमालले जनाए । यसै सन्दर्भमा पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवाद समेत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया