दूधको मूल्यवृद्धि

सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । वृद्धि गरिएको यो ६ रुपैयाँमध्ये उत्पादक किसानले चार रुपैयाँ पाउनेछन् भने दुई रुपैयाँ डेरीहरूले पाउनेछन् । हाल डेरीहरूले किसानसँग प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा खरिद गर्दै आएका छन् भने खरिद गरिएको दूधबाट फ्याट झिकेर उपभोक्ताहरूलाई ७० देखि ७५ रुपैयाँमा बिक्री गर्दै आएका छन् । लागत मूल्यसमेत उठ्न मुस्किल भएको भन्दै किसानहरूले दूधको मूल्य बढाउन लामो समयदेखि माग गर्दै आएका थिए । ढिलै भए पनि सरकारले किसानको यो मागलाई सम्बोधन गरेको छ । अब किसानहरूको दूध प्रतिलिटर ५४ देखि ५९ रुपैयाँमा बिक्री हुनेछ भने उपभोक्ताले ७६ देखि ८१ रुपैयाँ तिर्नुपर्नेछ । बढेको मूल्य आगामी शनिबारदेखि लागू हुनेछ ।

किसानको माग सम्बोधन गर्नु जति प्रिय निर्णय हो, उपभोक्ताले खरिद गर्ने दूधको मूल्यमा भारी वृद्धि गर्नु त्यति नै अप्रिय निर्णय हो । उपभोक्तालाई मर्का नपर्ने गरी दूधको मूल्यवृद्धि सम्भव थियो कि ? थिएन भन्ने कुरामा सरकारले पर्याप्त अध्ययन नगरेको डेरी विज्ञहरूले जनाएका छन् । ५० रुपैयाँमा खरिद गरिएको दूध ४० रुपैयाँमा बिक्री हुनु भनेको ४० प्रतिशत मुनाफा हो । त्यसमा पनि फ्याट निकालिने कुरा छदैछ । फ्याटको समेत हिसाब गर्ने हो भने डेरीहरूले ५० प्रतिशत मुनाफा खाँदै आएका छन् । त्यो मुनाफालाई सरकारले यथावत राखेको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका हुन् । हुन त दाल, चामल तरकारी खरिद बिक्री गरेजस्तो किसानबाट सीधै उपभोक्ताकहाँ लैजान सकिने वस्तु दूध होइन । दूधको संकलन, चिस्यान, भण्डारण, प्रशोधन, म्याकेजिङ तथा मार्केटिङ प्रक्रिया खर्चिलो, झन्झटिलो तथा जोखिमपूर्ण छ । त्यसैले, खरिद र बिक्रीको अन्तर अरू वस्तुमा भन्दा दूधमा बढी हुनुलाई अस्वाभाविक मान्न हुँदैन । तर, नेपालको सन्दर्भमा अलि बढी नै भएको छ । छिमेकी मुलुक भारतमा दूधको खरिद तथा बिक्री मूल्यको अन्तर ३० प्रतिशतभन्दा बढी छैन । युरोपियन मुलुकहरूमा २० प्रतिशतभन्दा बढी छैन, तर नेपालमा किन ५० प्रतिशत ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

किसानहरूका लागि गरिएको प्रतिलिटर चार रुपैयाँ वृद्धिको औचित्य साबित भए पनि डेरीहरूका लागि गरिएको प्रतिलिटर दुई रुपैयाँ वृद्धिको औचित्य साबित गर्न सरकारले सकेको देखिँदैन । चरम भ्रष्टाचारका बाबजुद सरकारद्वारा सञ्चालित नेपाल दुग्ध विकास संस्थान विगत २ वर्षदेखि राम्रो मुनाफामा छ । गाई, भैँसी पाल्न किसानहरू हतोत्साहित भए पनि डेरीको संख्या धमँधम बढेको बढ्यै छ । नाफा हुने भएको भए किसानहरू गाई भैँसी पाल्न हतोत्साहित हुने थिएनन् । नेपालगञ्जको कान्जीहाउस प्रकरण हुने थिएन । नाफा नहुने भएको भए डेरीहरू वर्षायाममा च्याउ उम्रे जसरी उम्रने थिएनन् । दूध उत्पादन कम हुँदै जानु तर डेरीको संख्या थपिँदै जानुले दुईवटा कुरा प्रमाणित गरेको छ । पहिलो हो–‘ किसान मर्कामा परेका छन् ।’ दोस्रो हो–‘यहाँका अधिकांश डेरीहरूले विदेशबाट धुलो दूध ल्याई पानीमा फिटेर बेच्ने गरेका छन् ।’

सहरको रकम गाउँमा जाने मुख्य माध्यम दुग्ध व्यवसाय हो, तर पछिल्लो दिनमा नेपालको रकम विदेश जाने प्रमुख माध्यम हुन थालेको छ । यो अवस्थालाई मध्यनजर राख्दै सरकारले धुलो दूध आयातमा कडाइ ग¥यो । यो कडाइपछि डेरी उद्योगहरू संकटमा परे । यही संकट न्यूनीकरणका लागि सरकारले दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णयले किसानलाई राम्रै फाइदा भएको छ । दैनिक १० लिटर दूध बिक्री गर्ने किसानले मासिक १२ सय रुपैयाँथप आम्दानी गर्ने भयो । यसबाट किसानहरू दूध उत्पादन प्रति आकर्षित भइदिए राम्रै हुन्छ । तर, धुलो दूध आयातमाथि पूर्ण प्रतिबन्ध लगाइएन भने दूध बिक्री नभएर मिल्क होलिडे मनाउनुपर्ने अवस्थामा किसानहरू फेरि पुग्न सक्छन् । यो अवस्था आउन नदिन सरकार आजैदेखि गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया