पर्यटन सुन्दरी प्रतियोगिता हुँदै

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘मिस टुरिज्म’ प्रतियोगिता आयोजना हुने भएको छ ।

पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रूपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई लिने गरिन्छ । प्वाइन्ट मिडिया प्रालिले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको ‘मिस टुरिज्म–२०१९’ को चौथो संस्करण आगामी साउन महिनामा आयोजना हुने भएको छ ।

सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् । नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पु¥याउने गरी गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरूको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । उनले भने, ‘प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकार भएका निकायसँग समन्वय गरेर अघि बढाउने गरी तयारी गरिरहेका छौँ ।’

निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिज्मजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने धारणा राखे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले मिस टुरिज्मलाई व्यावसायिक प्रवद्र्धनको रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने बताए । पर्यटन व्यवसायी राजन सिंखडा, सागर पाण्डेलगायतले पर्यटनको महत्वपूर्ण प्रडक्टका रूपमा रहेको प्रतियोगितालाई ताज पहि¥याउने मात्र नभई उनीहरूको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्ने विचार व्यक्त गरे ।

आगामी २५ साउनमा आयोजना हुने यसको अन्तिम प्रतिस्पर्धाका लागि शुक्रबारदेखि देशभर आवेदन खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी २० असारसम्म आवेदन दिन पाउने छन् । काठमाडौं, पोखरा र चितवनमा अडिसन लिइने र छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले प्रशिक्षण प्रदान गरिने काफ्लेले जनाए । उनले आन्तरिक पर्यटन प्रवद्र्धनार्थ विभिन्न गन्तव्यको भ्रमणमा समेत प्रतिस्पर्धीलाई लगिने जानकारी दिए ।

प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद ५० हजार, फस्ट रनरअपलाई ३० हजार र सेकेन्ड रनरअपलाई २० हजार प्रदान गरिनेछ । विजेतालाई ब्रान्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।

प्रतिक्रिया