कविता – एउटा दुःखी साथीको कुरा !

बलराम तिमल्सिना


हावाको झोक्कासँगै उड्नु,
र त्यसलाई उडेको गफ दिनु !
वर्षाको भेलसँगै बग्नु
र त्यसलाई पौडेको नाम दिनु !
भिडको भाषा बोल्नु
र त्यसलाई समयको
आवाज हो भन्नु !
आँधीको झोक्कासँग डराउनु
बाढीको छालसँग आत्तिनु
भिडसँग लुत्रुक्क पर्नु र पछि लाग्नु
कैहिले प्रश्न नउठाउनू
प्रश्न उठाए
अपराधी होइन्छ झैँ सोच्नु !
परम्पराबाट जे आएको छ
सर्लक्क हात थाप्नु र नमन गर्नु
चलन जे चलेको छ
खुरुक्क मिसिनु र त्यसै गर्नु
संघर्ष ? बाफ रे !
यो शब्द सुन्दै तर्सनु
त्याग भनेको
दिसा, पिसाब,
खकार र वीर्य मात्रै बुझ्नु !
आफूलाई,
यो शताब्दीकै
विद्वान् ठान्ने महाशय
म तिम्रो हालत देखेर दुःखी छु
अझ दुःखको कुरा के छ भने ?
तिमी उल्टै
मलाई उपदेश दिँदै छौ,
र भन्दै छौ’
साथी, समयको ख्याल गर !’

प्रतिक्रिया