राधाको ‘अपवित्र रगत’ सार्वजनिक

काठमाडौं । मदन पुरस्कार विजेता लेखक राधा पौडेलले लेखेको पुस्तक ‘अपवित्र रगत’ सार्वजनिक भएको छ । पुस्तकमा महिनावारी र नेपाली समाजका रूढिग्रस्त मान्यताविरुद्ध लेखिएको छ ।  नेपाली समाजमा रहेका पीडा र उनले भोगेको विषयमा पुस्तकमा समावेश गरिएको छ । पौडेलले भनिन् ‘यो केटी कर्णालीतिर डुल्छे क्यार ! कर्णालीका दुःख त लेखेकी होला भन्ने कुनै पूर्वाग्रहका साथ पुस्तक नपढिदिनुहोला, यो किताबमा हाम्रा हरेक छोरीचेलीको कथा छ । सुन्दा सामान्य लाग्ने तर समाजको जटिल समस्या हो यो ।’ उनले अनुसन्धानका क्रममा विभिन्न ठाउँमा भेटिएका महिनावारीका कथालाई समेटेर पुस्तक तयार पारेको जनाइन् ।

पुस्तकमाथि चर्चा गर्दै पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका अक्ष्यक्ष अनुपराज शर्माले महिलाको शरीरको अधिकार उनीहरूलाई नै हुने बताए । उनले आफ्नो पीडा पीडितले नै लेख्नुपर्ने बताउँदै परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने धारणा राखे । उनले भने, ‘पुस्तक पढ्दा राधा एक विद्रोही योद्धाको रूपमा देखिन्छिन् । समाजमा व्याप्त रुढीवादमाथि उनले शालीन ढंगले विद्रोह गरेकी छन् ।’

उनले पुस्तकले समाजमा जरा गाडेर बसेको रुढीवादलाई क मगर्न सघाउ पु¥याउने बताए । शर्माले भने, ‘विश्वविद्यालयको डिग्रीले मात्रै हुँदैन, तपाईंको सोच परिवर्तनकारी छ कि छैन भन्ने कुराले महत्व राख्दछ । छाउ हुनुलाई अभिभावकले सामान्य र प्राकृतिक हो भनेर आफ्ना छोरीहरूलाई जानकारी दिनुपर्छ ।’

सामाजिक अभियन्ताको रुपमा परिचित राधा पेशाले नर्स हुन् । पौडेलले सञ्चालनमा ल्याएको संस्था ‘मितेरी जैविक स्यानिटरी प्याड’ ले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ । हाल यो स्यानिटरी प्याड परीक्षणकै क्रममा छ । पुस्तकलाई काठमाडौं पब्लिकेशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया