‘गोपी’ मा किसानको यथार्थ चित्र

काठमाडौं । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ । चलचित्रले स्नातकोत्तर अध्ययन गरेर गोल्ड मेडलप्राप्त एक युवकले गाईपालन गरेको विषयलाई उठाएको छ ।  उच्च शिक्षा हासिल गरेपछि विदेश जानुपर्ने संस्कृति निर्माण भइरहेको बेला नेपालमै बसेर गाइपालन गर्ने युवकको कथालाई निकै आकर्षक रुपमा चलचित्रमा उठाइएको छ ।

‘गोपी’ मा अभिनेता बिपिन कार्की गाइपालक कृषकको भूमिकामा देखिएका छन् । उनलाई सुरक्षा पन्त र बर्षा राउतले प्रेमिकाको रुपमा साथ दिएका छन् । चलचित्रले परिश्रम गर्ने जोकोहीलाई कामप्रति लाग्न उत्प्रेरित गर्ने खालको छ । असफलता हुँदासमेत हरेश नखाऊ निरन्तर परिश्रम गर भन्ने सन्देश चलचित्रले दिएको छ ।

चलचित्रमा विपिन, सुरक्षा, वर्षासँगै अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीको मुख्य भूमिका छ । चलचित्र सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भएको हो । गाईपालक किसानले बर्सेनि भोग्ने अनेक दुःखकष्टलाई चलचित्रले यथार्थपरक ढंगले उठान गरेको छ । विशेषगरी बिचौलियाका कारण किसानले पाएको सास्तीसँगै आम उपभोक्ताले बिचौलयाका कारण कम गुणस्तरको दूध खान बाध्य विषय चलचित्रमा छ ।

चलचित्र ‘गोपी’ अभिनेता कार्कीले विदेशमोह त्यागेर स्वदेशमै उद्यम गर्ने चरित्रलाई न्याय गरेका छन् । यो चलचित्र सामान्य विषयमा बनेको नेपालको सामाजिक चलचित्र हो । तर, यसले उठाउन खोजेको विषय आम किसान र तिनको पीडासँग गाँसिएको छ । नेपाली समाजको बदलिँदो सामाजिक परिदृश्य र सामाजिक मान्यताका विरुद्ध एउटा उच्चशिक्षा हासिल गरेको युवकले गरेको विद्रोहले जन्मिएको गोपीको कथा आमयुवाका लागि प्रेरणादायी हुने निर्माण पक्षले आशा राखेको छ ।

प्रतिक्रिया