दुर्घटना न्यूनीकरणमा सरकारकाे उदासिनता

शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा २३ जना विद्यार्थीको ज्यान गयो । केही दिन अघि नुवाकोटमा मिनिट्रक पल्टिँदा १७ जनाको ज्यान गयो । केही दिन अघि रसुवामा मलामी बोकेको ट्रिपर दुर्घटना हुँदा करिब २ दर्जनको ज्यान गएको थियो । यसैगरी, केही साता अघि चितवनमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो । दुर्घटनाद्वारा हुने मुत्यु आफैँमा कहालीलाग्दो हो । किनकी दुर्घटनाद्वारा मान्छेको अकालमा मृत्यु हुन्छ । बुढ्यौली लागेर हुने मृत्युभन्दा उमेरमै हुने मृत्यु निकै कहालीलाग्दो हुन्छ । दुर्घटनामा उमेर छँदै मृत्यु हुनेको संख्या ठूलो हुन्छ । दुर्घटनामा पनि कहिले कहीँ यस्ता पक्ष हुन्छन् जसले सिंगो गाउँ तथा पुस्ता नै सखाप पार्छ । उदाहरणका लागि शुक्रबार साँझ दाङमा भएको दुर्घटनामा सबै विद्यार्थीहरूको ज्यान गयो । विवाह गर्ने उमेरका विद्यार्थीहरूको ज्यान जानु भनेको त्यो परिवारको वंश नै सकिनु हो । केही दिनअघि रसुवामा मलामी बोकेको ट्रिपर दुर्घटना हुँदा एकै गाउँका दुई दर्जनभन्दा बढी पुरुषको ज्यान गयो । अब त्यो गाउँ करिब–करिब पुरुषविहीनजस्तो भयो केही वर्षका लागि । सबै घरमूलीको निधन भएपछि त्यो गाउँको हालत अब के होला ? त्यसैगरी केही साताअघि चितवनमा भएको जन्ती चढेको जीप दुर्घटनामा पनि दुई वटा परिवार नै सखाप भए ।

दुर्घटना जानाजान हुँदैन । मानिसबाट कहिले काहीँ त्रुटि हुन्छ । त्रुटि हुनु मानवीय स्वभाव नै हो । दुर्घटना निम्त्याउने त्रुटिले नै हो । त्यसैले दुर्घटनाको मामिलालाई लिएर कसैलाई दोष दिनु उपयुक्त हुन्न पनि भनिन्छ । तर, दुर्घटना र प्राकृतिक प्रकोपलाई एकै ठाउ“मा राखेर हेर्ने प्रवृत्ति पनि देखिएको छ । जतिसुकै सावधानी अपनाए पनि प्राकृतिक प्रकोप रोक्न सकिन्न । तर, सावधानी अपनाउने हो भने प्राकृतिक प्रकोपबाट हुने नोक्सानीको परिमाणलाई घटाउन सकिन्छ । दुर्घटनाको हकमा भने सावधानी नै एक मात्रै विकल्प हो । पर्याप्त सावधानी अपनाउने हो भने दुर्घटना रोक्न सकिन्छ । माथि उल्लेख गरिएका यी तीनवटा दुर्घटना असावधानी तथा लापरबाहीकै कारण भएको देखिन्छ । उदाहरणका लागि शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनास्थल घुमाउरो मोडमा छ । तर, सडकमा कुनै ट्राफिक संकेत नराखिएका कारण त्यहाँ यसअघि पनि धेरै दुर्घटना भएका छन् । यस्तो ठाउ“मा ट्राफिक संकेत राखिएको भए पूर्व जानकारी हुने थियो र चालकले होसियारी अपनाउन सक्ने थिए ।

विगत केही वर्ष यता हाम्रो मुलुकमा सडक सञ्जालको विस्तार उल्लेख्य भएको छ । सडक दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । दुई वर्षअघि काभ्रेपलान्चोक जिल्लामा भएको विभत्स बस दुर्घटना पछि सरकारले बृहत् छानबिन समिति नै गठन गरेको थियो । उक्त समितिले मुलुकमा हुने गरेका दुर्घटनामध्ये करिब ९० प्रतिशत दुर्घटना थोत्रा गाडी र अप्ठेरो सडकका कारण भएको निष्कर्ष निकालेको थियो । साथै सडक दुर्घटना न्यूनीकरणका लागि सरकारद्वारा गर्नुपर्ने कामको विषयमा समितिले लामो सुझाव दिएको थियो । सडकमा भएका सकेसम्म घुम्ती तथा मोडहरू काटेर सिधा बनाउने, सिधा बनाउन नसकिने घुम्ती मोडहरूमो दोब्बर फराकिलो सडक बनाएर ट्राफिक संकेतसमेत राख्ने, अप्ठेरा सडकहरूमा सवारी चलाउने अनुमति नदिने, सवारी साधनको अवस्थाबारे नियमति अनुगमन गर्ने, चालकको योग्यता तथा आचरण अनुगमन गर्ने , सडक आसपासमा मदिरा पसल खोल्न नदिने लगायतका सुझाव समितिले सरकारलाई दिएको थियो । तर, ती सुझावहरूको प्रभावकारी कार्यान्वयनतर्फ सरकारले ध्यान दिन नसकेको देखिन्छ ।

प्रतिक्रिया