डा. गिरीको निधन र राष्ट्रवादीको परिभाषा

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि पञ्चायतकालका प्रधानमन्त्रीद्वय डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्ष नियुक्त गरे । ०६१ फागुनतिर मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका पूर्वप्रधानमन्त्रीमध्ये विष्टको करिब डेढ वर्षअघि निधन भयो, डा. गिरीको गत मंगलबार निधन भयो । डा. गिरीको निधनस“गै नेपालको राजनीतिक इतिहासको एउटा विवादास्पद कालखण्डका जीवित पात्र अब बाँकी छैनन् । मुलुकका लागि यो क्षति हो ।

सामान्यतः कसैको निधनपछि उसको गुणहरू सम्झेर अरूलाई पस्कने र अवगुणहरू थाति राख्ने नेपाली परम्परा हो । यो परम्पराअनुसार अहिले डा. गिरीको स्मरणमा मिडिया तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आइरहेका छन् । तर, यस्ता अधिकांश टिप्पणीहरू साभारका रूपमा आएका छन् । अर्थात् डेढ वर्षअघि कीर्तिनिधि विष्टको निधन हुँदा मिडिया तथा सामाजिक सञ्जालमा जे–जे टिप्पणी आएका थिए त्यसैलाई ‘कपी’ गर्दै अहिले डा. गिरीको नामका अगाडि ‘पेस्ट’ गरेको देखिएको छ । यस्तो कपी पेस्ट सामाजिक सञ्जालमा गरिनुलाई अन्यथा रूपमा लिन मिल्दैन । सामाजिक सञ्जालका सबै प्रयोगकर्ताहरू नेपालको राजनीतिक घटनाक्रमका बारेमा जानकार छन् भन्न सकिन्न । तर, मिडियामा समेत यसरी कपी पेस्ट भएर आउनु ज्यादै दुर्भाग्य हो । मिडियामा विचार प्रवाह गर्नेहरूले आफ्नो देशको राजनीतिक घटनाक्रमका विषयमा जानकारी राख्नै पर्छ । पूर्वप्रधानमन्त्री विष्ट इमानदार थिए, देश भक्त थिए, नैतिकवान थिए र राष्ट्रवादी थिए । नेपालको उत्तरी क्षेत्रमा तैनाथ भारतीय सैनिक चेकपोस्ट विष्टकै पालामा हटेको थियो । सिंहदरबार आगलागीपछि विष्टले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उत्तरको छिमेकी मुलुक चीनसँग विष्टले विश्वासिलो सुमधुर सम्बन्ध कायम गरेपछि दक्षिणको छिमेकी मुलुक भारतले नेपाललाई हेप्न कम गरेको थियो । उनको जीवनशैली अत्यन्त सादगीपूर्ण थियो । त्यसैले विष्टको निधनपछि मिडिया तथा सामाजिक सञ्जालमा टिप्पणी आए, ‘इमानदार, देशभक्त, नैतिकवान, राष्ट्रवादी नेता विष्टको निधन ।’ गत मंगलबार डा. गिरीको निधनपछि मिडिया तथा सामाजिक सञ्लालमा टिप्पणी आए, ‘इमानदार, देशभक्त, नैतिकवान, राष्ट्रवादी नेता डा. गिरीको निधन ।’

पार्टीमा धेरै योगदान पुर्याएका नेताहरू छँदाछँदै क्षमताका आधारमा बिपी कोइरालाले डा.गिरीलाई नेपाली कांग्रेसको महामन्त्री बनाए । २०१५ सालमा गठन गरिएको प्रथम जननिर्वाचित सरकारमा बिपी कोइरालाले डा.गिरीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिए । तर, आफू सहभागी सरकारलाई अपदस्त गर्न र आफ्नै पार्टीमाथि प्रतिबन्ध लगाउन डा.गिरी भित्रभित्रै राजासँग मिले । त्यसकारण इतिहासले डा.गिरीको इमानदारीमाथि प्रश्न चिह्न लगाइसकेको छ । प्रधानमन्त्री भइसकेका व्यक्तिले घरमा पत्नी हुँदाहुँदै अर्को विवाह गरे । ती महिलाले राखेको सर्त स्वीकार गर्दै आफ्नो जन्मसिद्ध धार्मिक आस्थालाई त्यागेर इसाइ बने । त्यसकारण इतिहासले डा. गिरीको नैतिकतामाथि प्रश्न चिह्न लगाइसकेको छ । राजाले आकर्षक पदमा नियुक्ति दिइञ्जेल उनी स्वदेश बसे, जब सत्ताको अवसर टाढियो तब देश नै छाडेर हिँडे । त्यसकारण डा. गिरीको देशभक्तिमाथि इतिहासले प्रश्न चिह्न लगाइसकेको छ । भित्रभित्रै इसाइको पक्षमा लागेका डा. गिरीले नयाँ शिक्षा लागू गर्ने क्रममा राजालाई अत्यन्त गलत सल्लाह दिए । मुलुकमा ऋषि महर्षिहरूको पालादेखि चल्दै आएको गुरुकुल शिक्षा तथा संस्कृत पाठशाला नयाँ शिक्षाका नाममा बन्द गराए । जसका कारण नेपालको मौलिक शिक्षा प्रणाली समाप्त भयो । त्यसैले डा. गिरीको राष्ट्रवादितालाई इतिहासले प्रश्न चिह्न लगाइएको हो । यस्ता ध्रुवसत्य कुराहरूलाई लुकाउनु भनेको देशमाथि अहित गर्नु हो ।

प्रतिक्रिया