सक्कली अयोध्या कुन हो ?

यस वर्षको विवाह पञ्चमी विशेष समारोहका साथ मनाउने तयारीमा प्रदेश–२ को सरकार जुटेको छ । राम र सीताबीच विवाह सम्पन्न भएको तिथि विवाह पञ्चमीको दिन जनकपुरधाममा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्न भारतीय तिर्थालुको निकै ठूलो घुइ“चो लाग्ने गर्दछ । सीता जनकपुरका राजाकी छोरी थिइन् भने राम अयोध्याका राजाका छोरा थिए । यही विश्वासका आधारमा भारतको उत्तर प्रदेश स्थिति अयोध्याबाट विवाह पञ्चमीका दिन जन्ती आउने र जन्तीलाई रामजानकी बन्दीपुरमा नेपालीहरूद्वारा स्वागत सत्कार गर्ने प्रचलन रही आएको छ । यो प्रचलनलाई अबका दिनमा भारत सरकारको तर्फबाट नै उच्च महत्व दिने उद्घोष केही महिनाअघि जनकपुर भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । यस वर्षको विवाह पञ्चमीका दिन मंसिर २६ गते भारतीय प्रधानमन्त्री मोदी स्वयं जन्ती बनेर आउने चर्चासमेत चलेको थियो । तर, कार्यव्यस्तताका कारण मोदी नआउने टुंगो लागेको छ । मोदीको सट्टा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रदेश–२ सरकारले जानकारी दिएको छ । यदी कुनै स्वार्थ मिसिएको छैन भने नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई गाढा बनाउन यो भ्रमणले निश्चय पनि महत्वपूर्ण योगदान दिनेछ । तर, आफ्नो देशका राष्ट्रपति तथा प्रधानमन्त्री जा“दा अमर्यादित व्यवहार प्रदर्शन गर्ने तर भारतीय प्रधानमन्त्रीलाई आवश्यक भन्दा बढी स्वागत सत्कार गर्ने प्रवृत्ति जनकपुर क्षेत्रमा देखिएको छ । जनकपुर क्षेत्रमा भारतको चासो पनि उत्ति नै बढेर गएको छ ।

जनक सभ्यता तथा सीताको जन्मभूमि जनकपुर हो भन्ने कुरामा कहि“कतै विवाद छैन । तर, दशरथ राजाले राज्य गरेको राजधानी तथा रामजन्मभूमि अयोध्याको विषयमा अझै अनुसन्धान जरुरी छ । जनकपुर र अयोध्याको विषयमा उल्लेख गरिएको सबैभन्दा आधिकारिक ग्रन्थ भनेको वाल्मिकीद्वारा लेखिएको रामायण हो । रामायणमा उल्लेख भएअनुसार अयोध्याबाट रथ चढेर जन्तीसहित राम एक दिनमै जनकपुर पुगेका थिए । जनकपुर र भारतको अयोध्याबीचको सीधा दुरी करिब पा“च सय किलोमिटर छ । जतिसुकै छिटो दौडने रथ भए पनि यति दुरी पार गर्न कम्तीमा १० दिन लाग्छ । यसैगरी, रामले सीतालाई वाल्मिकी आश्रमको जंगलमा लगेर छाड्न भाइ लक्ष्मणलाई आदेश दिएको प्रसंग रामायणमा उल्लेख छ । लक्ष्मणले सीतालाई वाल्मिकी आश्रममा छाडेर त्यहि दिन अयोध्या फर्केका थिए । जबकी भारतको अयोध्या र वाल्मिकी आश्रमको सिधा दुरी करिब दुई सय ५० किलोमिटर छ । यति दुरीमा बिहान गएर बेलुका फर्कन सम्भव छैन । त्यसकारण पनि राजा दशरथको राजधानी तथा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनकै अयोध्या हो भन्ने एकथरी अनुसन्धानकर्ताहरूको मत छ । यी अनुसन्धानकर्ताहरूको मत कसरी भरपर्दो छ भने चितवन माणीमा पर्ने अयोध्याबाट जनकपुर एक दिनमा मज्जाले पुग्न सकिन्छ । अयोध्याबाट वाल्मिकी आश्रम एक बिहानमा पुग्न सकिन्छ । त्यसैले, राजा दशरथको राजधानी तथा रामको जन्मभूमि भारतको अयोध्या नभएर नेपालकै अयोध्या हो भन्न सकिने आधार धेरै छ । चितवनको अयोध्या आसपासमा रामको नामस“ग जोडिएका धेरै बस्तीहरू पनि छन् । तर, भारतको अयोध्याको आसपासमा रामको नामस“ग जोडिएका प्राचीन बस्तीहरू छैनन् ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नभएर आफ्नो देशको लुम्बिनी भएको दाबी भारतले गरिरहेको छ । भारतले नेपालको सीमावर्ती क्षेत्रमा नक्कली लुम्बिनी तथा नक्कली कपिलवस्तुसमेत खडा गरेको छ । जसरी कपिलवस्तु तथा लुम्बिनीको विषयमा पछिल्लो समयमा भ्रम छरिएको छ त्यसरी नै अंग्रेजको आगमनलगत्तै रामजन्मभूमि अयोध्याको बारेमा पनि भ्रम सिर्जना गरिएको हुन सक्छ । हिन्दू र मुसलमानलाई जुधाएर शासन गर्ने रणनीतिअन्तर्गत अंग्रेजहरूले लखनउ नजिकैको पुरानो मस्जिद रहेको ठाउ“लाई रामजन्मभूमि अयोध्या भनिदिएको हुन सक्ने तर्क पनि धेरैको छ । किनकी जबसम्म हिन्दू र मुसलमानबीच द्वन्द्व सिर्जना भएन तबसम्म लखनउलाई पूर्णरूपमा कब्जा गर्न अंग्रेजहरूलाई हम्मे–हम्मे परेको थियो । त्यसैले भारतको अयोध्याबाट उच्चपदस्थ व्यक्तिहरू जन्तीका रूपमा आउन थाले भनेर मख्ख पर्नुभन्दा सक्कली अयोध्या कुन हो र नक्कली अयोध्या कुन हो ? भन्ने विषयमा थप अनुसन्धान गर्नुमा नै नेपालको हित छ ।

प्रतिक्रिया